१६ वर्षदेखि छोरो खोज्दै वृद्धवृद्धा
बर्दिबास : 'कति काठोर हुँदो रहेछ यो मान्छेको मन
कि लास चाहियो कि सास चाहियो खै उनी कहाँ छन्।'
......लोकगायक बद्री पंगेनीले दशकपहिले गाएको गीतको पंक्ति हो यो। गीत सुन्नेबित्तिकै महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुका ७७ वर्षीय डम्बरबहादुर कार्की दम्पती भावुक बन्छ। उनीहरूको २१ वर्षीय छोरा रामबाबु हराएको १६ वर्ष भयो तैपनि उनीहरूले छोरो घर फर्किने आस मारेका छैनन्।
कार्की दम्पती घरमा आउने जो–कोहीलाई छोरा खोजिदिन आग्रह गर्छ। ‘छोरो खज्न कहाँ पुगिएन ? ’ डम्बर बहादुरकी ७७ वर्षीया श्रीमती दुर्गा कार्कीले भनिन्, ‘मरेको भए लास पाउनुपर्ने हो जिउँदो भए सास।’ कार्की दम्पतीको कान्छो छोरा रामबाबु ०५९ साल जेठ २० गते घरबाट काठमाडौं परीक्षा दिन भनेर हिँडेका थिए। उनको अहिलेसम्म पत्तो छैन।
तत्कालीन सरकार र माओवादी पक्षबीच सशस्त्र द्वन्द्व चलिरहेको थियो। आन्दोलन चरमोत्कर्षमा पुगेका बेला १६ वर्षअघि पढेर ठूलो मान्छे बन्ने सपना देखेर रामबाबु परीक्षा दिन काठमाडौं गए। ‘तीन सय रुपैयाँ गाडीभाडा, कालो झोलामा कपडा र किताब बोकेर छोरो गयो,’ रामबाबुकी आमाले भनिन्, ‘परीक्षा दिएर आउँछु भनेको थियो, अहिलेसम्म आएन।’ पढेर इन्जिनियर बन्ने सपना देखेका रामबाबुलाई उनका जेठा दाइ गोविन्दले काठमाडौंमा पढाइरहेका थिए।
कालो झोला बोकेको कोही घरतिर आइरहेको देख्दा दुर्गालाई छोरो आयो कि भन्ने झल्को हुन्छ। भन्छिन्, ‘गाउँका छोराका साथीहरू आएको देख्दा मेरो छोरा पनि आउँछ भन्ने लाग्छ।’ घरबाट गएको एक महिनापछि विद्युत् प्राधिकरणमा जागिर गरिरहेका उनका दाइ गोविन्दले लमजुङबाट गाडी चालकको हातमा भाइलाई ५ हजार पठाए। ती गाडी चालकले रामबाबु बसेको ठाउँमा खोजी गरे। तर, कहीँ फेला पारेनन्। उक्त रकम गोविन्दलाई नै फिर्ता दिए। त्यसपछि गोविन्द भाइको खोजीमा धेरै ठाउँ पुगे। रामबाबु भेटिएनन्। संकट काल थियो। फोन गर्ने र चिठी पुर्याउने अवस्था थिएन त्यतिबेला। ‘देवरलाई खोजी गरेको १६ वर्ष पुगिसक्यो अझै भेटिन्छन् कि भन्ने आशामा छौं’, रामबाबुकी भाउजू सानुमैयाले भनिन्।
रामबाबुका बुवा डम्बरबहादुर भन्छन्, ‘छोरालाई तत्कालीन विद्रोही पक्ष माओवादीले मार्यो कि शाही सेनाले मार्यो यसै भन्न सक्दिनँ।’ डम्बरका जेठा छोरा गोविन्द विद्युत् प्राधिकरण र माइला मोहन नेपाल आर्मीमा जागिरे छन्। पीडित बुवाआमाले छोरो खोजिदिन स्थानीय शान्ति समिति जलेश्वरमार्फत बेपत्ता तथा छानबिन आयोगमा उजुरी दिएका छन्। रामबाबुकी दिदी लक्ष्मी कार्कीले भनिन्, ‘उतिबेला सशस्त्र द्वन्द्वमा रहेका माओवादी कैयौं पटक सरकारमा गए। अहिले पनि छन्। तर, बेपत्ताको खोजीमा भने चासो दिएनन्।’