बालिका बलात्कार गर्नेलाई ११ वर्ष कैद
राजविराज : रमपम चाउचाउ किनिदिने लोभ देखाई बालिकालाई बलात्कार गर्ने खड्ग नगरपालिका ७ का ३७ वर्षीय भिखन रामलाई अदालतले ११ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला अदालत सप्तरीका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले आरोपितलाई ११ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए।
आरोपितले घर पछाडि खेलिरहेकी आठ वर्षीया बालिकालाई रमपम चाउचाउ किनिदिने लोभ देखाइ गत जेठ ३१ गते राती आँप बगैँचामा लगी बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई असार १ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो। जिल्ला अदालतको आदेशमा आरोपित ०७५ असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।