बोक्सो भन्दै हत्या गर्नेलाई जन्मकैद
राजविराज : बोक्सोको आरोप लगाउँदै एक वृद्धको हत्या गर्नेलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले महादेवा गाउँपालिका ४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको हो।
जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार मुसहरी टोलका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भोला सदालाई जन्मकैद सजायको फैसला गरिएको हो।
सुतिरहेका खटरलाई ०७३ मंसिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोला पक्राउ परेका थिए। मृतककी श्रीमती ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा मुद्दा चलेको थियो।आरोपित ०७३ मङसिर २२ गतेदेखि राजविराज कारागारमा थुनामा थिए।