बालविवाह गर्ने जेल चलान
राजविराज : बालविवाह गरेको आरोपमा एक भारतीय नागरिकलाई जिल्ला अदालत सप्तरीले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरेको छ। भारत बिहार राज्य मधुबनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरिएको जिल्ला अदालतले जनाएको छ।
स्रेस्तेदार दिलकुमार बर्देवाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका १२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने आरोपितलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो।
उनी जिल्ला अदालतको आदेशमा जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा छन्।आरोपितले छिमेकी मुलुक भारतमा भगाई लगी ०७४ चैत २८ गते बालविवाह गरेको भन्दै पीडितका बुवा ४९ वर्षीय बिजली मियाँले ०७५ बैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
प्रहरीले भारतीय प्रहरीको सहयोगमा ०७५ बैशाख ३० गते आरोपित मियाँलाई पक्राउ गरी कारवाही चलाएको थियो।