अवैध घरेलु मदिराविरुद्ध प्रहरी आक्रमक, एकैदिन २६ हजार लिटर नष्ट
काठमाडौँ : चिसोयाम बढेसँगै अवैध घरेलु मदिराविरुद्ध प्रहरीले अपरेशन तीब्र पारेको छ । राजधानीका विभिन्न वृत्तले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाएका छन् ।
पछिल्लो पटक महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–६ का ८ वटा अवैध भट्टीबबाट २६ हजार लिटर मदिरा नष्ट गरेको छ । बौद्ध वृत्तको प्रहरीले अवैध आठ भट्टीबााट १० थान ग्यास चुल्हो, १९ थान ग्यास सिलिण्डर र एक सय ३० थान ड्रम पनि बरामद गरेको छ ।
बौद्ध प्रहरीको टोलीले बिहीबार मात्रै २६ हजार लिटर अवैध मदिरा नष्ट गरेको हो । ‘गोकर्णेश्वरका ८ स्थानमा अवैध घरेलु मदिरा भट्टीबाट अवैध घरेलु मदिरा बनाउन लगाइने कच्चा पदार्थ २१ हजार लिटर, तयारी घरेलु मदिरा ५ हजार लिटर र कोदोको तोङ्बा ५ हजार ५ सय लिटर नष्ट गरेका छौँ’, वृत्त प्रमुख डीएसपी नरेन्द्र चन्दले भने, ‘हामीले तीन घण्टामै यतिधेरै अवैध मदिरा नष्ट गरेका हौँ ।’
फोहोर तथा कुहिएका खाद्यपदार्थ हालेर बनाइएको घरेलु मदिरा स्वास्थ्यका लागि खतरानाक मानिन्छ । प्रहरीले घरेलु मदिरालाई अपराधको कारक पनि मान्ने गरेको छ । प्रहरीले राजधानीमा महिला र बालबालिकामाथिका हिंसा, लागूऔषध, गुण्डागर्दी, पाकेटमार र अवैध घरेलु मदिरा नियन्त्रणलाई प्राथमिकता दिएको छ