रेशम चौधरीको शपथबारे आ-आफ्नै तर्क
काठमाडौं : टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक-पटक सरकारमाथि दबाब दिँदै आएको थियो।
पुस १० गते राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसहितका नेताले प्रधानमन्त्रीलाई भेट गरी चौधरीको शपथमा तत्काल कदम नचाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि सरकार दबाबमा थियो।
राजपा अध्यक्षमण्डलका नेताले चौधरीको शपथमा ठोस प्रगति नभए आफूहरू सदन अवरुद्ध गर्ने चेतावनी प्रधानमन्त्रीलाई दिएपछि उनले ७ दिन समय मागेका थिए। राजपाले चौधरीको शपथ, संविधान संशोधन गर्ने सहमतिमा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।
राजपाको दबाबपछि सरकार चौधरीको मुद्दा फिर्ता नलिईकनै शपथ गराउन लचक बनेको हो। शपथका विषयमा सोमबार क्याबिनेट बैठकमा महान्यायाधिवक्तामार्फत कानुनी राय लिएर प्रक्रिया अघि बढाउने निर्णय भएको थियो। हिउँदे अधिवेशन सुरु भएको दिन राजपा अध्यक्षमण्डलका संयोजक महतोले चौधरीको शपथ नगराएकोप्रति आक्रोश पोखेका थिए। ‘१० वर्षे युद्धमा सयौं नागरिक-सुरक्षाकर्मी मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने तर एउटा थारूको छोरा जसलाई जनताले अनुमोदित गर्दासमेत जेलमा सडेर बस्नुपर्ने’ महतोले संसद्मा असन्तुष्टि पोखेका थिए।
संसद् सुरु भएकै दिन महतोलगायत मधेसी नेताले सभामुख कृष्णबहादुर महरालाई भेट गरी शपथ गराउने दायित्व सभामुखको भएको भन्दै दबाब दिएका थिए। सभामुखले सरकार तयार नभई आफूले मात्र शपथ गराउन नसक्ने जवाफ दिएका थिए।
उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार दिउँसो भेट गरी चौधरीको शपथका लागि दबाब दिएका थिए। दाहाल शपथका विषयमा सुरुदेखि नै सकारात्मक थिए।
टीकापुर घटनाछि फरार रहेकै अवस्थामा चौधरीले प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा रहेका दाहालसँग ०७३ असोज ३ मा भारतको ताजमहल होटलमा भेटेका थिए।
शपथमा दाहाल लचिलो बनेपछि सोही साँझ महतोलगायत मधेसी नेताले प्रधानमन्त्रीसँग भेट गरेका थिए। प्रधानमन्त्रीले कानुनी जटिलता मिलाएर आफूले शपथग्रहण गराउन प्रक्रिया अघि बढाएको जवाफ मधेसी नेतालाई अवगत गराएका थिए।
चैतमा चौधरीलाई शपथ खुवाउने तयारी भएको थियो। त्यसबेला जनस्तरबाट चर्काे विरोध भएपछि तत्काल शपथ गराउने प्रक्रियाबाट सरकार पछि हटेको थियो।
प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखलाई टेलिफोन गरी चौधरीको शपथ गराउन आग्रह गरेका थिए। महराले राजपा अध्यक्ष मण्डलका नेताहरूलाई टेलिफोन गरी संसद् सचिवालयले सिंहदरबारमा शपथग्रहणको तयारी गरेको अवगत गराएका थिए। ‘प्रधानमन्त्रीले शपथ गराउन भन्नुभयो, जेलमा गएर गर्दिनँ सिंहदरबारमा ल्याए गर्छु भने, त्यही भएर संसद् सचिवालयमा शपथ गराइएको हो’, सभामुख महराले सञ्चारकर्मीसँग भने।
चौधरी कैलाली-१ बाट निर्वाचित भएका हुन्। कैलालीको टीकापुरमा ०७२ भदौ ७ मा थरुहट र प्रहरीबीचको झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। सोही प्रकरणका कारण निर्वाचनका बेला फरार थिए, चौधरी। त्यसपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा उनले रिट दर्ता गराएका थिए। तर, अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिठमार्फत खारेज गरिदिएको थियो। चौधरीको मुद्दा विचाराधीन छ।
उनले चुनाव जितेपछि जिल्ला निर्वाचन कार्यालयले प्रमाणपत्र सीधै निर्वाचन आयोग पठाएको थियो। आयोगले चौधरीको प्रमाणपत्र संसद् सचिवालयमा पठाएको थियो। उनको शपथ कसरी गराउने भन्नेमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक महतो, महन्थ ठाकुरलगायत नेताबीच पटक-पटक छलफल चलेको थियो।
चौधरीले आफूले शपथ लिन पाउनुपर्ने माग गरी कैलाली कारागारभित्रै आमरण अनशन बसेपछि उनलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरी शपथको तयारी गरिएको थियो। चैत २ गते ओली, दाहाल र महन्थबीचको छलफलमा चौधरीलाई शपथ खुवाउने समझदारी भएपछि गृहमन्त्री अस्पतालमै पुगेर अनशन तोडाएका थिए। सरकारको यो तयारीप्रति जनस्तरबाट चर्को आलोचना भएको थियो। शपथको विषय सेलाएको थियो।
थारू भाषामा शपथ
चौधरीले थारू भाषामा शपथ लिएका छन्। प्रहरीको बाक्लो पहराबीच संसद् सचिवालय सिंहदरबार पुर्याइएका चौधरीलाई शपथपछि प्रहरी भ्यानमै राखेर डिल्लीबजार कारागार पुर्याएको थियो। सचिवालयले विशेष कार्यक्रम गरी चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएको हो।
सभामुखले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसहित राजपाका नेताको उपस्थितिमा शपथ गराएका थिए। राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायत सांसद शपथमा सहभागी थिए। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलाई सांसद पदको लोगो लगाइदिएका थिए। शपथपछि चौधरीलाई पुनः डिल्लीबजार कारगार चलान गरिएको छ। कारागार लैजान प्रहरीले भ्यानमा राखेपछि चौधरीले सञ्चारकर्मीसँगको प्रतिक्रियामा भने, ‘शपथ खाएर जेलमा जाने म नै पहिलो हुँला।’
टीकापुर घटनामा आफू निर्दोष रहेको प्रमाण जनताले चुनावमार्फत दिइसकेको भन्दै चौधरीले अदालतले आफूलाई न्याय दिने आशा गरे। टीकापुर घटनाप्रति दुःख व्यक्त गर्दै रेशमले उक्त दिन आफू सुरक्षाकर्मीको घेरामा रहेकाले आफूलाई आरोपित गर्नु गलत भएको दाबी गरे।
‘राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रूपमा गर्नुपर्छ’, चौधरीले भने, ‘म निर्दोष हो भन्ने कुरा जनताले पुष्टि गरिसकेका छन्।’ न्यायालयबाट भीख नभई न्याय मागेको चौधरीले बताए।
‘हामी सँगसँगै थियौं’ चौधरीले शपथग्रहणमा सहभागी नेकपाका प्रमुख सचेतक देव गुरुङलाई नमस्कार गरे। अनि गुरुङलाई व्यंग्य गर्दै भने, ‘धनगढीको कार्यक्रममा हामी सँगसँगै थियौं। तपाईंहरूले पहिले नै लोगो लगाउन पाउनुभयो, म आज लगाउँदै छु।’ चौधरीले यस्तो भन्दा गुरुङले टाउको हल्लाएका थिए।
महन्थ लडे
शपथग्रहणपछि बाहिरिँदै गर्दा राजपा नेता महन्थ ठाकुर सिँढीमा लडेका थिए। प्रतिनिधिसभाको कृषि तथा सहकारी समितिको हलमा शपथ गराइएको थियो। सुरक्षाकर्मी, पत्रकार र सचिवालयका कर्मचारीको भीडबाट निस्कँदै गरेका ठाकुर लडेपछि ठाकुर केहीबेर शारीरिक असहज महसुस गरेका देखिन्थे।
सांसदको सुविधा नपाउने
राजपा सांसद चौधरीले सांसद पदको शपथ लिए पनि सांसदको सेवा-सुविधा भने नपाउने भएका छन्। प्रतिनिधिसभा नियमावलीले फौजदारी अभियोगमा तीन वर्षभन्दा बढी सजायको मागदाबीसहित पुर्पक्षका लागि थुनामा रहेका सांसदले पदीय हैसियतमा कुनै काम गर्न नपाउने व्यवस्था गरेको छ।
नियमावलीको २४४ (३) मा उल्लेख छ, ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भए त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकामा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजका पारि श्रमिक, सेवा र सुविधा स्थगित हुनेछ।’
नियमावलीको व्यवस्थाअनुसार चौधरीले थुनामा रहँदा सांसदको हैसियतले पारिश्रमिक वा अन्य कुनै सेवा, सुविधा नपाउने सचिवालयका अधिकारी बताउँछन्।
के भन्छन् दलहरू ?
चुनाव जित्या कारण शपथ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले चुनाव जितेका कारण चौधरीलाई शपथ गराइएको प्रतिक्रिया दिएका छन्। संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘चुनाव जित्या कारण शपथ गराइएको हो।’ चौधरीलाई के कारणले शपथ गराउन लागिएको हो भनेर सञ्चारकर्मीले प्रश्न गरेका थिए।
शपथ गलत : कांग्रेस
प्रमुख प्रतिपक्षी कांग्रेसले रेशमको शपथ गलत भएको टिप्पणी गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार चौधरीको शपथप्रति टिप्पणी गर्दै अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउनु कानुनी राज्यको खिल्ली उडेको बताए। ‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो। निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनीतिक दुवै कोणबाट गलत छ’, शर्माले भनेका छन्।
शपथपछि चौधरी स्वतः निलम्बित हुने वा नहुने भनेर समेत कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरेका छन्। प्रतिनिधिसभा नियमावली २४४ (३) का आधारमा चौधरीले सांसदको हैसियतमा काम गर्न नपाउने जिकिर प्रवक्ता शर्माले गरेका छन्।
कानुनी राज्यको उपहास : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले चौधरीको शपथप्रति टिप्पणी गर्दै कानुनी राज्यको गम्भीर उपहासको संज्ञा दिएको छ। राप्रपका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति प्रकाशन गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई शपथग्रहण गराउनु कानुनी राज्यको उल्लंघन भएको जिकिर गरेका छन्। ‘जघन्य टीकापुर घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको शपथ गराउने कार्यले कानुनी राज्यको गम्भीर उपहास गरेको छ। राप्रपा यो कार्यको विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
जनमतको सम्मान : राजपा
चौधरीको दल राजपाले भने उनको शपथग्रहणले जनमतको सम्मान र लोकतान्त्रिक प्रक्रियाको पालना भएको बताएको छ। राजपा संयोजक राजेन्द्र महतोले सरकारको पहलमा भएको शपथग्रहण सकारात्मक भएको बताए।
शपथ गराउन मिल्दैन : संविधानविद्
संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन्। फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे।
‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको शपथ कानुनसम्मत छैन।’ सभामुख महराले प्रतिपक्ष दल र अन्य कानुनी परामर्शबिना कार्यकारीको जस्तो अधिकार प्रयोग गरी शपथ गराउनु गलत भएको अधिकारीले जिकिर गरे।