विमानस्थल सुरक्षामा सशस्त्रको पनि दाबी

विमानस्थल सुरक्षामा सशस्त्रको पनि दाबी

संघीय प्रहरी ऐन निर्माणको चरणमा रहेकाले अन्तर्राष्ट्रियसहित सब विमानस्थलको सुरक्षाबारे बहस सुरु भएको हो ।


 काठमाडौं : सुन तस्करीसहितका अवैध धन्दामा नेपाल प्रहरीका अधिकारी नै मुछिएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । सुन, नक्कली नोट, लागुऔषध र मानव तस्करीका कारण पछिल्लो समय बदनाम बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा आफूले पाउनुपर्ने लबिङ अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलले पनि थालेको छ ।

विमानस्थल सुरक्षामा उठेका प्रश्नको समाधान प्रहरी ऐन आएसँगै हुने दाबी प्रहरी प्रधान कार्यालयले गरेको छ । नयाँ ऐनमा अन्तर्राष्ट्रियसहित सबै विमानस्थलको सुरक्षाबारे स्पष्ट व्यवस्था हुने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । ‘ऐन नआउन्जेल विमानस्थल सुरक्षा केन्द्रीय प्रहरीमातहतमा रहन्छ । यसपछि पनि अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रीय प्रहरीमातहत नै हुनुपर्छ । क्षेत्रीय र जिल्लाका विमानस्थल भने केन्द्र या प्रदेशमा राख्ने कुराको टुंगो लगाउनुपर्छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा इकाइ स्थापित गर्न छलफल भइरहेको छ । तर यसबारे नयाँ प्रहरी ऐन आएपछि मात्र टुंगो लाग्छ ।’

संघीय प्रहरी ऐन निर्माणको चरणमा रहेकाले अन्तर्राष्ट्रियसहित सबै विमानस्थलको सुरक्षाबारे बहस सुरु भएको हो । गृहले आवश्यक रायका लागि पठाएको संघीय प्रहरी ऐनको मस्यौदा कानुन मन्त्रालयमा अड्किएको छ । तर गत चैतमा तयार भएको ऐन मस्यौदा १० महिनामा पनि संसद् नपुग्दा संघीय संरचनामा विमानस्थल सुरक्षासम्बन्धी रणनीतिमा अन्योल भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा केन्द्रीय प्रहरीमातहत राखेर अन्यलाई प्रादेशिक प्रहरीको जिम्मा लगाउनेबारे पनि छलफल भइरहेको छ । यसबारे अझै निर्णय भइसकेको छैन । ‘प्रदेशले आफूमातहतको एयरपोर्टको सुरक्षा आफैंले गर्ने कुरा पनि अहिले बहसमा छ’, सुवेदीले भने, ‘तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को सुरक्षा सिद्धान्त मान्नुपर्ने भएकाले उचित विकल्प निस्कनेमा हामी विश्वस्त छौं ।’

सशस्त्रको दाबी

यही बेला सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सिमानासँगै विमानस्थलको सुरक्षा जिम्मा आफूलाई दिनुपर्ने दाबी गर्न थालेको छ । सशस्त्र प्रहरी ऐनमा महत्वपूर्ण सरकारी कार्यालयको सुरक्षाको जिम्मेवारी दिनसक्ने प्रावधान रहेकाले विमानस्थलमा अर्धसैन्य सुरक्षा बल उचित हुने रायसहित उसले लबिङ गरिरहेको छ । भारतलगायत कतिपय देशको उदाहरण दिँदै सशस्त्रले यस्तो लबिङ गरिरहेको छ । उसले त्रिभुवन विमानस्थललाई पनि अन्तर्राष्ट्रिय नाकाका रूपमा ब्याख्या गर्दै त्यहाँको सुरक्षा आफूमातहत हुनुपर्ने अडान राखेको हो ।

तर उसले आफ्नो प्रस्तावमा सरकार सकारात्मक नभएकाले विमानस्थल सुरक्षाको औपचारिक प्रस्ताव अघि बढाएको छैन । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठ यसबारे औपचारिक प्रस्ताव नलगिए पनि छलफल भने भइरहेको बताउँछन् । ‘सशस्त्रले अन्तर्राष्ट्रिय नाकाको सुरक्षा गरिरहेको छ, त्रिभुवन विमानस्थल पनि अर्को अन्तर्राष्ट्रिय नाका हो’, प्रवक्ता श्रेष्ठले भने, ‘आकाशमार्ग अन्तर्गत देशको एक मात्र अन्तर्राष्ट्रिय नाकाको सुरक्षा हामीले पाउनुपर्नेमा छलफल चलिरहेको छ ।’

हवाई सुरक्षा निर्देशनालय

नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी देशभरिका विमानस्थलको सुरक्षा कमान्ड केन्द्रीय प्रहरी मातहतमै रहनुपर्ने बताउँछन् । उनले २० वर्षअघि नै विमानस्थल सुरक्षा दिन प्रहरी प्रधान कार्यालयमातहत रहने छुट्टै हवाई सुरक्षा निर्देशनालय गठनको आफूले प्रस्ताव गरेको स्मरण गरे ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनले पनि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले नै गर्नुपर्ने व्यवस्था गरेको छ’, उनले भने, ‘देश संघीय ढाँचामा गइसके पनि प्रहरी प्रधान कार्यालयमातहत हवाई सुरक्षा निर्देशनालय बनाएर त्यसैअन्तर्गत देशभरिका विमानस्थलको सुरक्षा व्यवस्था गरिनुपर्छ ।’

सुवेदीले प्रहरी संगठनको स्वरूप विस्तार र सेवा प्रभावकारी बनाउन हवाई सुरक्षा निर्देशनालय आवश्यक भइसकेको बताए । ‘हवाई उड्डयनलाई नेपालको सन्दर्भमा संघीय ढाँचामै राख्नुपर्छ’, उनले भने, ‘नेपालको हवाई सेवाको सबै सम्बन्ध काठमाडौंसँग जोडिएको छ । प्रदेश प्रहरीको सन्दर्भमा उनीहरूबाट संघीय प्रहरीले सहयोग लिनु पर्छ, उनीहरूलाई सहायकका रूपमा विमानस्थल सुरक्षामा प्रयोग गर्न सकिन्छ ।’

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विमानस्थलको सुरक्षामा प्रहरी नै तैनाथ गरेको पाइन्छ । अर्धसैनिक तथा सैनिक सुरक्षा आवश्यक परे प्रहरीलाई सहयोगका लागि बाहिरी घेरामा प्रयोग गरिन्छ ।

पूर्वएआईजी सुवेदी सशस्त्र प्रहरीले अधिकार खोज्नु एउटा कुरा भए पनि अभ्यास फरक कुरा भएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय अपराध अनुसन्धानमा प्रहरी नै अभ्यस्त छ । अपराध भएपछि पुलिसको सहयोगबिना सशस्त्रबाट अनुसन्धान सम्भव हुँदैन, विमानस्थलबाट कुनै घटना भए तत्काल प्रहरीको उपस्थिति चाहिन्छ’, उनी भन्छन्, ‘विमानस्थलको सुरक्षा नेपाल प्रहरीलाई नै दिनुपर्छ, यसमा विवाद जरुरी छैन । आईकाओ र नागरिक उड्डययन प्राधिकरण ऐनको पनि ख्याल गर्नुपर्ने हुन्छ ।’

आईकाओको सिद्धान्तअनुसार विमानस्थलमा एयर साइड र ल्यान्ड साइड गरी दुई भाग हुन्छन् । रनवे, पार्किङ र ह्यांगरजस्ता एयर साइडमा प्रहरीकै सुरक्षा चाहिने सुरक्षाविद् बताउँछन् । त्यसभन्दा बाहिर ट्याक्सी पार्किङ क्षेत्र र गोल्डन गेट क्षेत्रतर्फको ल्यान्ड साइटमा अर्को सुरक्षा व्यवस्था हुँदा पनि फरक नपर्ने उनीहरूको तर्क छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.