अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

वासिङटन : अमेरिकी कंग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ।

हाउस अफ रिप्रिजेन्टेटिभ भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ। क्यालिफोर्निया राज्यबाट डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसकेकी छन्।

अमेरिकी तल्लो सदनको चारवर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो। उक्त चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो। विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत थियो। बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य भएको छ। राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरू यसबाट उत्साहित भएका छन्।

अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरूको ठम्याइ छ। अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ।

संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरूले राष्ट्रपतिका सम्बन्धमा धेरैवटा अनुसन्धान शुरु गरिने बताएका छन्। सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ।

डेमोक्र्याट सांसद हकिम जेफ्रिजले भने, ‘हामी बहुमतमा हुनेछौं। त्यसपछि, हामी लापरबाह ट्रम्प विरुद्धका विधेयक पारित गर्नेछौं। हामी स्वास्थ्यसेवाको लागत घटाउन संघर्ष गर्नेछौं र प्रगतिशील एजेन्डालाई अगाडि बढाउनेछौं।’

तल्लो सदनमा डेमोक्र्याटहरूले बहुमत हासिल गरे पनि माथिल्लो सदन सिनेटमा रिपब्लिकनले झिनो बहुमत प्राप्त गरेका छन्। १ सय सदस्यीय सिनेटमा रिपब्लिकनको ५७ र डेमोक्र्याटको ४३ स्थान छ। बजेट समेतका महत्वपूर्ण विधेयक पारित गर्न सिनेटभित्र रिपब्लिकनलाई ६० स्थान आवश्यक पर्दछ।

संसद्को पहिलो दायित्व नै दुई सातादेखि जारी संघीय सरकारी कार्यालयको आंशिक बन्द खुलाउनु हुनेछ। बजेट अभावमा झण्डै एक तिहाइ संघीय कार्यालय बन्द भएका छन् वा आंशिक खुलेका छन्।

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन ५ अर्ब ६० करोड डलरको बजेट पारित नभए बजेटमा हस्ताक्षर नगर्ने अडान राख्दै आएका छन्। डेमोक्र्याटहरू पनि उक्त बजेट पारित नगर्ने अडानमा यथावत छन्।

पेलोसीले पर्खालका लागि छुट्याइएको बाहेकको बजेट पारित गर्न सकिने स्पष्ट गपारिन्।

यसैबीच राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूसँग बुधबार बजेटका बारेमा छलफल गरेका थिए। तर दुबै पक्ष आआफ्ना अडानमा कायम रहेका थिए।

छलफलमा राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित हुनैपर्ने अडान दोहोर्‍याउँदै आएका छन्। उनले सीमा सुरक्षा गम्भीर विषय भएकाले त्यससँग कुनै सम्झौता गर्न नसकिने भन्दै बजेटको विषयले संघीय कार्यालयहरू खुल्न ढिला हुने सम्भावना रहेको बताए। उनले कार्यालय खोल्न डेमोक्र्याटहरूले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए। एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.