उखु किसानको खुशी १२ घण्टा नबित्दै हरायो

उखु किसानको खुशी १२ घण्टा नबित्दै हरायो

वीरगन्ज : सरकारले समयमै उखुको खरिद मुल्य निर्धारण नगर्दा उखु किसान चिन्तित थिए।तर बिहीबार सरकारले उखुको न्युनतम खरिद मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५८ पैसा निर्धारण गरेपछि भने किसान अब उखु बिक्री हुने भयो भन्दै खुसी भए।

तर किसानको त्यो खुशी १२ घण्टा नबित्दै हराएको छ। सरकारले उखुको मुल्य निर्धारण गरेपनि चिनी मिलले भने सरकारले गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको भन्दै किसानको उखु खरिद नगर्ने बताएका छन्।

शुक्रबार बिहानै चिनी मिलका सञ्चालकको यस्तो अभिव्यक्ति आएपछि किसान थप चिन्तामा परेका हुन्। लामो समयसम्म उखुको मुल्य निर्धारण नगर्दा खेतमै उखु सुक्न थालेको भन्दै चिन्तामा परेका किसान अहिले सरकारले मुल्य निर्धारण गर्दा पनि चिनी मिलले उखु खरिद नगर्ने बताएपछि थप चिन्तामा परेका हुन्।

नेपाल उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले भने, ' ढिला गरेर भएपनि सरकारले उखुको मुल्य निर्धारण गरेपछि किसान खुशी भएका थिए, तर चिनी मिलले तत्काल उखु खरिद नगर्ने बताएपछि भने किसानमा निराशा छाएको छ।

सरकारले गरेको उखुको मुल्य निर्धारण स्वागतयोग्य रहेको भन्दै स्थानीयले चिनी मिलका सञ्चालकले फेरि अर्को अड्को थापेर किसानलाई दुखी बनाइ दिएको आरोप लगाएका छन्। एक त चिनी मिलले २० दिन पहिलेदेखि नै उखुको क्रसिङ गर्नुपथ्र्यो, तर अहिलेसम्म चिनी मिलले उखु खरिद गरेर क्रसिङ सुरु नै गरेको छैन, जसका कारण २० दिनदेखि उखु खेतमै सुकिरहेको छ, अध्यक्ष साहले भने, 'अब फेरि चिनी मीलले कति दिनसम्म अड्को थाप्ने हो, थाहा छैन। किसानका उखु अब पनि तत्कालै खरिद गरिएन भने उखु इँटा भट्टामा दाउराको रुपमा प्रयोग गर्नुपर्ने अवस्था आउनेछ।'  

साहले सरकारले गरेको निर्णय चिनी मिलका सञ्चालकले मान्नै पर्ने भन्दै उनले अब पनि चिनी मिलले उखु खरिद गरेनन् भने यस बारेमा सरकारलाइ दबाब दिने बताए। यदि चिनी मिल किसानको उखु खरिद गर्न सहमत भएनन् भने किसानले सीमावर्ती भारतीय चिनी मिलमा उखु बेच्नुपर्ने वा इँट्टा भट्टामा जलाउनुपर्ने बाध्यात्मक अवस्था आउने उनले बताए 
 
भारतका चिनी मिलमा पर्साका किसानको उखु सहज रुपमा पुर्‍याइदिने वातावरण मिलाउन सरकार र स्थानीय प्रशासनसँग आग्रह पनि गरिने अध्यक्ष साहले बताए। यता चिनी मिलका सञ्चालकले भने आफूसँग थन्किएर रहेका पोहोर सालकै चिनीको मुल्य सरकारले नबढाएसम्म किसानको उखु खरिद नगर्ने बताएका छन्।

नेपाल चिनी उत्पादक संघका केन्द्रीय उपाध्यक्ष राजु गाडीयाका अनुसार चिनी मिलका उद्योगमा पोहोर सालकै करिब दुई सय करोड रुपैयाँ बराबरको ४० हजार मेट्रिक टन चिनी थन्किएको छ। गाडियाले चिनी मिलमा थन्किएर रहेको चिनीको मुल्यका बारेमा सरकारले टुंगो नलगाएसम्म चिनी मिलले किसानको उखु खरिद नगर्ने स्पष्ट पारे। 

पोहोर सालकै उत्पादन भएको चिनी बिक्री हुन नसक्दा उद्योगीको करिब दुई सय करोड रुपैयाँ फसेर बसेको छ, गाडीयाले भने, ' यसपाली पनि किसानको उखु खरिद गर्न एक सय ८० करोड रुपैयाँ उद्योगीलाई चाहिन्छ, अब त्यो पैसा हामीले कहाँबाट ल्याउने? 

पोहोर सालको उत्पादित चिनी बिक्री नभएसम्म उद्योगीले यसपाली किसानको उखु खरिद गर्न सक्ने अवस्था नै नरहेको भन्दै उपाध्यक्ष गाडियाले भने, 'सरकारले पहिले उद्योगमा थन्किएर बसेको चिनी बिक्री हुने प्रबन्ध मिलाइ दिओस् अनि मात्र हामीले उखु खरिद गर्न सक्छौं।   

गाडीयाले सरकारले बिहीबार निर्धारण गरेको उखुको खरिद मुल्य समर्थन मुल्य मात्र रहेको भन्दै चिनी मिलले उखु खरिद गर्नै पर्ने बाध्यता भने नरहेको पनि बताए। पर्सा र बाराका किसानको उखु खरिद गर्दै बाराको रिलायन्स सुगर मिल एण्ड केमिकल्स प्रालिका सञ्चालक समेत रहेका गाडीयाले आफ्नो गोदाममा गत सालकै उत्पादन भएको ८० हजार क्वीन्टल चिनी थन्किएर बसेको बताए।

सरकारले पोहोर साल चिनीको थोक मुल्य प्रति किलो ६३ रुपैयाँ र खुद्रा मुल्य ७० रुपैयाँ मात्र निर्धारण गरेका कारण देशभरका चिनी मिलले दुई सयको हाराहारीमा घाटा व्यहोर्नु परेको बताए। सरकारले चिनीको बिक्री मुल्य न्युनतम ७५ देखि ८० रुपैयाँ निर्धारुण गर्नुपर्ने माग आफूहरुको रहेको गाडीयाले बताए।

मैले मात्रै ३० करोड घाटा व्यहोर्नु परेको छ, गाडियाले भने, 'त्यसैले अब फेरि यो सालमा घाटा सहने पक्षमा हामी छैनौ  ।' नेपाल चिनी उत्पादक संघका अनुसार देशमा १४ वटा चिनी मील सञ्चालनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.