धान नाचमा युवा आकर्षण
युवा पुस्ताले आफ्नो भाषा, संस्कृति र परम्परा बिर्संदै गएको र बाहिरी संस्कार अँगालेको भन्दै बूढापाका चिन्ता गर्छन् । ताप्लेजुङमा भने लिम्बूहरूको मौलिक नृत्य ‘धान नाच’मा युवाको आकर्षण लोभलाग्दो छ ।
जिल्लामा हुने सांस्कृतिक कार्यक्रम, मेला, विवाह र पर्वमा ‘धाननाच’ अनिवार्यजस्तै छ । लिम्बूहरूको नाच भनिए पनि अन्य जातिले आयोजना गरेको कार्यक्रममा पनि धान नाच्ने चलन बढ्दो छ । त्यसमा सहभागी अधिकांश युवा नै देखिन्छन् । ‘पुराना संस्कार, संस्कृति जोगाउने हामीले नै हो’, फुङ्लिङका विनय लिम्बू भन्छन्, ‘नत्र हाम्रो पहिचान धरापमा परिहाल्छ नि ।’
धान नाचको सुरुआत बारेको किंवदन्ती रोचक छ । लिम्बू संस्कृतिका जानकार ज्ञानु फुरुम्बोका अनुसार मानव सभ्यताको सुरुआतदेखि नै धान नाच सुरु भएको हो । पाषाण युगका मानिसमा अन्न खानुपर्छ भन्ने ज्ञान थिएन, कन्दमूल खाएर बाँच्थे । यसै क्रममा भँगेराले कतैबाट धान खाएर आई मानव बस्ती छेउमा बिस्ट्याएछ । त्यहाँ धान उम्रिएछ र पाकेछ । एक रात सपनामा भगवान्ले एकजना मानिसलाई त्यो फलेको धानको बीउ छर्नु र फलेपछि खानु भनेछन् । समयसँगै धान पाक्यो र थन्क्याउने बेला भयो । पाकेको अन्न चराहरूले नखाऊन् भनेर एकै ठाउँमा जम्मा गरी ती व्यक्तिले खलामा राखे ।
चराहरू आएपछि चेली माइतीहरू हात समाई गोलो घेरा बनाए । र, धान कुल्चिँदै घुमेर चरा धपाए । हात समाउँदै घुमेर सबैले एकै स्वरमा चरा धपाउँदा हा...हा..ए...ए..ए आवाज निस्किएको थियो । यसरी चरा धपाउन खलामा धान कुल्चिएर अपनाइएको विधि नै पछि धान नाच भएको फुरुम्बो बताउँछन् । धान कुल्चनुलाई लिम्बू भाषामा याःलाक्मा भनिन्छ । ‘याःलाक्मा बाट अप्रभंश हुँदै याःलाङमा (धान नाच) भएको हो’, उनले भने ।
‘धान नाच’ पालाम्को तालमा नाचिन्छ । ठाउँ र परिवेशअनुसार पालाम् फरक हुन्छ । भक्त पालुङ्वाका अनुसार ‘यो दोहोरीजस्तै हो ।’ पुरुष र महिलाबीच निश्चित शीर्षकमा सवालजवाफ चल्छ । व्यावहारिकदेखि पारिवारिक र ज्ञानविज्ञानका कुरा पालाम्मार्फत नै साटासाट हुन्छ । दोहोरी गीतमा जस्तै मानव जीवनका हरेक पक्षमा गाउँदै नाचिन्छ । यो हात्तीले जस्तो अघिपछि सर्दै नाचिने फुङ्लिङकै हाङ्माया लिम्बू बताउँछिन् । भन्छिन्, ‘अगाडि तीन पाइला र पछाडि तीन पाइला चालिन्छ, त्यसपछि एक फन्को घुमिन्छ । यो सामान्य नियम हो ।’ धान नाच्दा एकले अर्काको शरीरमा अञ्जानमा छोए मात्रै पनि अगाडि गएर माफी माग्नुपर्छ ।
धान नाच्दा लगाउने १० प्रकारका परम्परागत पहिरन छन् । तीमध्ये तागा र म्याक्ली बढी प्रचलित छन् । फुरुम्बोका अनुसार पहिले चेली माइतीबीच मात्रै धान नाच्ने चलन थियो । अहिले साइनो नलाग्नेसँग मात्रै नाच्ने चलन स्थापित भएको छ । धान नाचेरै विवाह गर्ने प्रचलनसमेत छ । ‘धान नाचेरै घरजम गरेका जोडीहरू धेरै छन्’, नाच संरक्षणमा सक्रिय किरात याक्थुम कलाकार मञ्चका अध्यक्ष गोपी लिम्बू भन्छन्, ‘पहिले सदरमुकाममा लाग्ने लाखे जात्रा तथा विभिन्न गाउँमा लाग्ने मेलामा युवकयुवती धाननाच नाच्नकै लागि भेला हुन्थे । राति अबेरसम्म पनि नाच्थे र विवाह गर्थेे ।’ अहिले यो चलन कम छ ।
ताप्लेजुङमा संगठित रूपमै धान नाच संरक्षण थालिएको छ । यसका लागि किरात याक्थुम कलाकार मञ्च सक्रिय छ । मञ्चमा युवाहरू बढी छन् । मृत्यु संस्कारबाहेक सबै ठाउँमा धान नाच्न मिल्छ । विद्यार्थी नेता देउमान लङ्वा लिम्बूको बुझाइमा लिम्बू समुदायमा अध्ययनशील युवा बढ्दै छन् । अध्ययनले नै आफ्नो भाषा, धर्म, रीतिलाई जोगाउन चेत खुलेको हो । ‘संस्कृति संरक्षणमा युवा सहभागिता बढ्नु राम्रो हो । अब राज्यको तर्फबाट पनि विषेश योजना ल्याउनुपर्छ’, उनले भने ।
ताप्लेजुङसहित लिम्बूहरूको बाहुल्य रहेका पाँचथर, तेह्रथुम, इलाम, झापा, धनकुटा, सुनसरी तथा भारतको दार्जिलिङ र सिक्किममा समेत धाननाच लोकप्रिय छ ।