तंग्रियो नगरकोट

तंग्रियो नगरकोट

भक्तपुर : पर्यटकीय स्थल नगरकोटमा भूकम्पले भत्काएका अधिकांश होटल पुनः ठडिएका छन्। भूकम्प र त्यसपछिका परकम्पले १२ वटा ठूला होटल ध्वस्त भएका थिए। त्यति नै संख्याका ठूला होटलमा आंशिक क्षति पुगेको थियो। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अनुसार भूकम्पमा ध्वस्त ठूला १२ होटलमध्ये १० वटाको पुनर्निर्माण भई सञ्चालनमा आएका छन्।

स्पेस माउन्टेन होटल पुरानो सञ्चालकले बिक्री गरेपछि पुनर्निर्माणमा ढिलाइ भएको हो। स्नो म्यान होटल पनि पुनर्निर्माण हुन सकेको छैन। स्नोम्यानका भग्नावशेष अहिले पनि जस्ताको तस्तै छ। भ्यू प्वाइन्ट, ग्रीन भ्याली, पिसफुल कटेज, फोडजस्ता ठूला होटल पनि ध्वस्त भएका थिए। यी सबै होटल सञ्चालनमा आएको भ्यालीका सञ्चालक बद्रीप्रसाद माकले जानकारी दिए।

नगरकोटमा चौधरी समूहको प्रवेश

नेपाली उद्योग व्यवसायमा नाम कमाएको चौधरी समूहले नगरकोटको होटल व्यवसायमा प्रवेश गरेको छ। चौधरी समूहका अरुण चौधरीले नगरकोटस्थित भंगेरी दरबार होटल खरिद गरेका हुन्। यसअघि भंगेरी दरबार किशोरराज पाण्डेले सञ्चालनमा ल्याएका थिए। २०७२ सालको भूकम्पले भंगेरी दरबारमा आंशिक क्षति पुर्‍याएको थियो। मर्मत गरेर सञ्चालनमा आइसकेको उक्त होटल ६ महिनाअघि अरुण चौधरीले खरिद गरेका हुन्।

थपिँदै नयाँ होटल

भूकम्पपछिको पुनर्निर्माणसँगै यहाँ होटल थपिने क्रम रोकिएको छैन। पछिल्लो समय यहाँ दुई ठूला होटल थपिएका छन्। करिब ७० वटा कोठाको मिस्टिक माउन्टेन र ३५ वटा कोठा भएको होटल सांग्रिला भ्यू होटल बनिरहेका छन्। त्यस्तै एक दर्जनभन्दा बढी अन्य स–साना होटल तथा रिसोर्ट थपिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले जानकारी दिए।

उनका अनुसार भूकम्पअघि नगरकोटमा एकदिनमा करिब एक हजार पर्यटकलाई मात्रै बास दिनसक्थ्यो तर भूकम्पपछि यो क्षमता दोब्बर भएको छ। ‘अहिले नगरकोटका ठूलासाना गरी सबै होटलका कोठा एक हजार वटा पुगिसकेको छ’, उनले भने, ‘नगरकोट पुगेका पर्यटकले यहाँ बस्ने ठाउँ छैन भनी फर्कनुपर्ने बाध्यता अहिले छैन।’

अझै बनेन बाटो

भक्तपुरबाट नगरकोट पुग्ने सडक अझै बन्न सकेको छैन। दुई वर्षअघि नै बनिसक्नुपर्ने सडकका जताततै खाल्डाखुल्डी छन्। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने क्रम रोकिएको छैन। नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले उक्त सडकको ठेक्का पाएको थियो। तर ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन। २०७१ साल जेठमा सडक निर्माण सुरु गरेको शैलुङले २०७३ को असारभित्र निर्माण पूरा गर्नुपर्ने थियो। करिब १६ किलोमिटर सडक निर्माणका लागि भारतको एक्जिम बैंकले करिब २८ करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले समयमै काम सम्पन्न नगर्ने अधिकारीसहित दस निर्माण व्यवसायीलाई कारबाहीको लागि गृह मन्त्रालयमा लेखिपठाएको थियो। तर न निर्माण व्यवसायलाई कारबाही भएको छ न त काम नै भएको छ। उक्त सडकको दुरावस्थाले नगरकोटको पर्यटन व्यवसाय धरासायी बन्दै आएको व्यवसायीको भनाइ छ। उनीहरूले पटकपटक उक्त सडक छिटो निर्माण गर्न माग गर्दा पनि नगरपालिका र निर्माण व्यवसायीबाट सुनुवाइ नभएको गुनासो गरेका छन्।

पर्यटन शुल्कको भार

कठिन र जीर्ण सडक छिचोलेर नगरकोट पुगेका पर्यटकले बाटोमै उभिएर पर्यटन शुल्क तिर्नुपर्ने भारले यहाँको पर्यटन आक्रान्त हुँदै आएको छ। भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरेकाट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिएपछि यहाँ पुग्ने पर्यटकको संख्यामा भारी गिरावट आएको व्यवसायी बताउँछन्। पर्यटन शुल्कविरुद्ध दुई वर्षको आन्दोलनपछि गएको मंसिर महिनामा चाँगुनारायण नपाले निर्णय फिर्ता लिएको छ।

चाँगुनारायण नपाले पर्यटन शुल्क उठाउन छोडे पनि मण्डन देउपुर नपाले शुल्क लिइरहेको छ। जसले पर्यटक अझै नगरकोट पुग्न उत्साहित हुन नसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा बताउँछन्। उनले चाँगुनारायण नपाले पर्यटन शुल्क हटाएको २४ घन्टाभित्र मण्डन देउपुरले पनि शुल्क उठाउन बन्द गर्ने भनि नपा प्रमुखले प्रतिबद्धता जनाएको सुनाए। तर मण्डन देउपुर नपाका मेयरले आफ्नो प्रतिबद्धता पूरा नगरेकाले व्यवसायीले आन्दोलन जारी राखेको अध्यक्ष लामाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.