फाप्लु–विराटनगर उडान रद्द
सोलुखुम्बु : नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो।
विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वायुसेवा निगमले यही पुस २४ गतेदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो। अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताए।
सोलुखुम्बुका नागरिक सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन् ।