सालिकहरूको साम्राज्य

सालिकहरूको साम्राज्य

जनकविकेशरी धर्मराज थापा, लीलाध्वज थापा र पूर्णप्रसाद ब्राह्मण ज्युँदाका घनिष्ट साथी। तीनैजना साहित्यकार। एउटा यस्तो संयोग तीनबीच जुरेर आयो कि उनीहरू सबै मरेपछि पनि सँगसँगै छन्। अर्थात् सालिकमा सजिँदा पनि सँगसँगै।

‘अब त रातैपिच्छे पनि एकान्तमा कुरा गर्ने भए, ज्युँदोमा पनि असाध्यै मिल्ने उहाँहरू अब मरेपछि पनि सँगै हुनुभएको छ’, लीलाध्वजका छोरा विजयध्वज थापा बुबाको प्रतिमा अनावरण गरेपछि खुसी हुँदै थिए, ‘अहिले पनि लहरै हुनुभएछ, सँगसँगै।’ ५ नम्बर प्रदेशको कपिलवस्तु नगरपालिकास्थित कपिलधाममा यी तीन सर्जक हस्तीको सालिक ठडिएको हो।

तीभन्दाअघि नै रश्मीराज अर्याल, दधिराम मरासिनी, आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल र युगकवि सिद्धिचरण श्रेष्ठका सालिक क्रमशः छन्। तयारी भए पनि प्राविधिक कारणले युगकवि र ब्राह्मणको सालिक राख्न बाँकी छ। साहित्य चौतारी बनाउने लक्ष्यका साथ भइरहेको काममध्ये एक हो, साहित्यका सिद्धहस्त व्यक्तित्वहरूको सालिक निर्माण। साहित्य चौतारी कपिलधाम परिसरमा बन्दैछ। तीन देवता ब्रह्मा, विष्णु र महेह्वरमध्येका एक ब्रह्माका नाति कपिलमुनि ऋषिको नामबाट कपिलधाम स्थापना गरिएको हो। कपिलधाम बुटवलबाट ३८ किलोमिटर पश्चिममा पर्छ भने धामबाट तिलौराकोट करिब २५ किलोमिटर टाढा छ।

सरकारी खाली जग्गा एक सय २० बिघामध्ये ७८ बिघा वन विभागले चर्चेको छ भने बाँकी धामले। धामभित्र साहित्य चौतारीका लागि करिब पाँच बिघा प्रयोग गर्न पाउनेगरी लुम्बिनी वाङ्मय प्रतिष्ठानले धामसँगको सहकार्यमा काम अघि बढाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले मूर्धन्य मानेका स्रष्टाको सालिक क्रमैसँग चौतारीमा ठडिनेछन्। लीलाध्वजको प्रतिमा अनावरणका लागि लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौंले उपन्यास दिवसका अवसरमा कपिलधाम पुर्‍याएपछि उनीहरू भन्दै थिए, ‘सम्पदाभूमि कपिलवस्तुको साहित्य चौतारीमा अब साहित्यकारका सालिकको साम्राज्य हुनेभयो।’

‘म चाहन्न ऐश्वर्य केही कुराको, म चाहन्न झूटो प्रशंसा कसैको। मलाई छहारी भए पुग्छ एक, गरुँ नित्य साहित्यको सद्विवेक।’ उपन्यास विधामा सर्वप्रथम अर्थात् २०१४ सालमा मदन पुरस्कार विजेता ‘मन’ का उपन्यासकार लीलाध्वजको कवितांश हो यो। उनको साहित्य चौतारीमा ठडिएको सालिकमुनि यो कवितांश पनि अंकित छ। उनका ‘शान्ति’ र ‘पूर्वस्मृति’ गरी थप दुई उपन्यास, ‘अमरमाया’ नाटक, ‘दाह्री’ निबन्ध र ‘सधैंको लागि सबैको लागि’ खण्डकाव्य प्रकाशित छन्। ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’, ‘धुरुधुरु नरोउ आमा तिम्रो आँसु पुछेर छोडौंला’ जस्ता लोकभाकाले चर्चित धर्मराज थापाले पनि ‘मंगली कुसुम’ नामक ग्रन्थका लागि २०२५ सालमा मदन पुरस्कार पाएका थिए। उनका २९ कृति प्रकाशित छन्।

जयतु संस्कृतम् आन्दोलनका एक हस्ती हुन्, ब्राह्मण। राणाशासन कालमा बाहुनले हलो जोत्न हुन्न भन्ने अन्धो परम्परा तोडेका उनका सात कृति प्रकाशित छन्। संस्कृतका धुरन्धर उनलाई संस्कृत साहित्यको ‘महाकवि’ को दर्जा दिइएको थियो। ‘यी तीनको साहित्यको साम्राज्य अब सालिकमै भए पनि निरन्तर हुनेभयो’, प्राडा खेम कोइराला ‘बन्धु’ ले भने, ‘भानुभक्त, लेखनाथलगायतका साहित्यिक हस्तीको यो साहित्य चौतारीमा अब थपिने थुप्रै साहित्यकारका सालिकले छुट्टै अस्तित्व बोक्नेछ।’ ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसअघि नै मुलुकभरका सबै साहित्यकारले एकएक वटा रूख रोप्ने गरी ठाउँ र वातावरण बनाइएको उद्घोष गरिसकेका छन्।

धामस्थित साहित्य चौतारीमा सालिक स्थापनाको पहल गरिरहेका साहित्यकार डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ ले सालिकका अतिरिक्त चारतले भवन सिर्जना ग्रामका निम्ति बनाइने बताए। ‘साहित्यकारले कुनै कृति लेख्न यहाँ आउन सक्छ, त्यो पनि पत्नी वा पति लिएरै’, उनी थप्छन्, ‘सालिक राखिएका साहित्यकारका कृतिहरू छुट्टाछुट्टै दराजमा संग्रृहीत गरिनेछन् ताकि जो कोहीले तिनको अध्ययन, अनुसन्धान गर्न सकोस्।’

कपिलवस्तु ऐतिहासिक एवं पुरातात्विक स्थलहरूको खुला संग्रहालय हो। गौतमबुद्ध, क्रकुछन्द र कनकमुनि बुद्धको जन्मस्थल कपिलवस्तुको नाम कपिलमुनि ऋषिको तपोभूमि भएकै कारण रहेको पाइन्छ। कपिलधाम पनि यसैकारण भएको हो। ऋषि–महर्षिहरूको तपोभूमि, बुद्धत्रयको जन्मभूमि र देवस्थलहरूको रूपमा परिचित कपिलवस्तुको कपिलधाममा साहित्य चौतारी र साहित्यकारका सालिकको संयोगले सम्पदा र साहित्यबीच इतिहास बनाउने कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.