भत्ता लिन बैंकमा खाता

भत्ता लिन बैंकमा खाता

रोल्पा : माडी गाउँपालिका रोल्पाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिक नेपाल बैंक र ग्लोबल आईएमई बैंकमा बचत खाता खोल्ने चटारोमा छन्। वडापालिकाबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी गरिने भएपछि उनीहरूले बैंक खाता खोल्नुपरेको हो।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगलगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको खाता खोल्न नेपाल बैंकका कर्मचारी माडीगाउँपालिका–५ भाबाङ पुगेका छन्। ०७५÷७६ को पहिलो चौमासिकको भत्ता वितरण र बैंक खाता सञ्चालनको व्यवस्था मिलाइएको वडा नं. ५ र ६ का सचिव तीर्थ घर्तीमगरले बताए। ‘दोस्रो चौमासिकदेखिको भत्ता बैंकबाट भुक्तानी गर्ने भएकाले भत्ता पाउनयोग्य सबैको खाता खोल्न भनिएको छ’, सचिव घर्तीमगरले भने, ‘खाता सञ्चालनका लागि बैंकलाई वडा र बस्तीस्तरमै बोलाएका छौं।’

पुसको ९ र १० मा माडी गाउँपालिकाको वडा नं. ६ कोर्चाबाङ र पुस १३ देखि १५ सम्म वडा नं. १ पेदीखोलामा ग्लोबल आईएमई बैंकका कर्मचारी खाता सञ्चालन गर्ने आवश्यक कागजात बोकेर पुगे। पेदीखोलामा करिब अढाई सयले बचत खाता सञ्चालनका लागि कागजात बुझाएको बैंक स्रोतले जनाएको छ। १ नं. वडाका अध्यक्ष आमबहादुर घर्तीले भने, ‘वडा कार्यालयमा भत्ता लिन आउने नागरिकका लागि फोटो खिचाउने, फोटोकपी गर्ने र बैंक खाताका लागि फाराम भराउने व्यवस्था मिलाइयो।’ वडापालिकामा नआएका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले घर्तीगाउँमा रहेका दुवै बैंकमा पुगेर खाता सञ्चालन गर्नुपर्ने भएको छ।

यसअघि वडा र बस्ती स्तरमै पुगेर भत्ता वितरण गरिएकामा हिँडडुल गर्न कठिन ज्येष्ठ नागरिक खुसी थिए। चुनावताका सबै पार्टीका उम्मेदवारले घरदैलोमै भत्ता पुर्‍याउने लोकप्रिया नारासमेत दिएका थिए। जनप्रतिनिधि र कर्मचारीले डेढ वर्ष वडा र बस्ती स्तरमै पुगेर भत्ता वितरणसमेत गरे। पालिकाका प्रायः वडा साविक गाविस नै हुन्। छरिएर रहेको बस्तीले गर्दा वडापालिकामै भत्ता लिन जानसमेत कठिन हुँदै आएको ज्येष्ठ नागरिक दलसुर बुढाले बताए। ‘बैंकमा जम्मा गरिदिएको भत्ता लिन जान झन् टाढा हुने भयो’, सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको साझा गुनासो छ।

नेपाल सरकारको सामाजिक सुरक्षा ऐनमै भत्ता बैंकमार्पmत वितरण गर्ने व्यवस्था छ। स्थानीय तह बनिनसकेका बेला बैंक सदरमुकाम केन्द्रित भएकाले उक्त नीति लागू हुन सकेको थिएन। स्थानीय तहको कार्यान्वयनपश्चात् पालिकामा बैंक पुगेका छन्। गाउँ पुगेका बैंक पालिकाको केन्द्रमै छन्। छरिएर रहेका वडाका अशक्त र ज्येष्ठ नागरिकलाई भत्ता बैंकमा निकाल्न जान–आउन कठिन हुने गुनासो छ। बैंक खातामा जम्मा भएको रकम आवश्यकताअनुसार जहिल्यै निकाल्न मिल्ने भएकाले भत्ता पाउने नागरिकलाई सहज हुने जनप्रतिनिधिको दाबी छ। हातमै दिएको रकम परिवारका अन्य सदस्यले फजुल खर्च गरिदिने भएकाले उनीहरूकै खातामा हुँदा सुरक्षित हुने अपेक्षा गरिएको छ।

भत्ता वितरणलाई सुरक्षित, पारदर्शी र सहज बनाउन गाउँ कार्यपालिकाले बैंकमा खाता सञ्चालन गर्नुपर्ने योजना लागू गरेको जनाएको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिकको भत्ता फागुनमा बैंकमार्पmत नै भुक्तानी हुनेछ। माडी गाउँपालिकामा २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्। एक चौमासिकमा एक करोडभन्दा बढी भत्ता वितरण हुने गर्छ। चालु आर्थिक वर्षमा मात्र ३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.