नेपाल-फ्रान्स सम्बन्ध  : हेराइ अझै दिल्लीकै आँखाबाट

नेपाल-फ्रान्स सम्बन्ध  : हेराइ अझै दिल्लीकै आँखाबाट

काठमाडौं : नेपाल–फ्रान्सबीच लामो समयपछि काठमाडौंमा दुईपक्षीय सम्बन्धबारे राजनीतिक तहमा छलफल हुने भएको छ । सन् २००६ पछि फ्रान्सबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

७ दशक लामो कूटनीतिक यात्रामा नेपाल–फ्रान्सबीच दुईपक्षीय औपचारिक राजनीतिक संयन्त्रसमेत बनेको छैन । यस्तो स्थितिमा त्यस्तो संयन्त्रको खाका तयार पार्न भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । नेपालले कूटनीतिक सम्बन्ध राखेको चौथो देश हो फ्रान्स । उत्तरी छिमेकी चीनभन्दा पहिले नेपालको सम्बन्ध फ्रान्ससँग स्थापना भएको हो । सन् १९४९ अप्रिल २० मा फ्रान्ससँग सम्बन्ध कायम भए पनि अहिलेसम्म दुईपक्षीय राजनीतिक र सहयोग प्रक्रिया अघि बढाउने अन्य औपचारिक कूटनीतिक संयन्त्र छैन ।

पछिल्लो समय फ्रान्सले यहाँ रहेको आफ्नो सम्पत्ति (विशालनगरस्थित राजदूत निवास) बिक्री गरेर भिसा कार्यालयसमेत नयाँ दिल्ली सारेको छ । दक्षिण एसियामा पुरानो सम्बन्ध रहेको देश नेपालसँग फ्रान्सले मितव्ययिताको नाममा दूतावासको आकार घटाएको छ । यसैगरी भिसाका लागि दिल्ली पुग्नुपर्ने वा ‘भीएसएफ ग्लोबल’ मार्फत् आवेदन दिनुपर्ने बनाएको छ । दूतावासमा कर्मचारी कटौती मात्र गरेको छैन, दुईपक्षीय सहयोगसमेत शून्यमा झारेको छ । पछिल्लो एक दशकयता उसले सहयोग शून्य बनाएको हो ।

युरोपेली संघ (ईयू) मार्फत् दिने भने फ्रान्सले सहयोग जारी राखेको छ । फ्रान्सेली भाषा र सांस्कृतिक केन्द्र पनि राखेको छ । तर बाँकी सबै दिल्ली लैजानुलाई नेपालप्रति फ्रान्सको दृष्टिकोण पनि भारतकै आँखाबाट हुने तथ्य पुष्टि भएकाले यसमा ध्यान दिनसमेत नेपालले आग्रह गर्ने भएको छ ।

द्विपक्षीय संयन्त्र निर्माण भइरहेको पहलअनुरूप फ्रान्सको विदेश मन्त्रालयका महासचिव मौरिस गुर्दो मोन्तान नेतृत्वको टोली नेपाल आउन लागेको हो । कूटनीतिक मामिलामा उनी विदेशमन्त्री पछिका शक्तिशाली मानिन्छन् । उनले उच्चस्तरीय राजनीतिक छलफल पनि गर्नेछन् । परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्र बनाउन फ्रान्स तयार भए पनि यो भ्रमणपछि यसबारे निर्णय लिने तयारी सरकारले गरेको छ ।

मोन्तानको भ्रमणमा विशेषगरि सन् २०१९ लाई कसरी द्विपक्षीय कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ मनाउनेमा नै धेरै केन्द्रित हुनेछ । उनी भारतमा हुने ‘राइसेना डाइलग’ मा सहभागी हुन आउने क्रममा नेपाल आउन लागेका हुन् । गत कात्तिक अन्तिमसाता भएको पेरिस बैठकमा द्विपक्षीय सम्बन्धका सबै मुद्दामा छलफल भएको र त्यसलाई निरन्तरता दिन उनी नेपाल आउन लागेको परराष्ट्र अधिकारीले बताए । परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोन्तानबीच लामो छलफल भएको थियो ।

‘७० वर्षको सम्बन्धबारे नयाँ लोगो सार्वजनिक गर्ने र सद्भावना कार्य घोषणा गर्ने तयारी भएको छ’, नेपालस्थित फ्रान्सेली दूतावासले जनाएको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वाँ जाभिए लेजेले नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ कसरी मनाउने र उच्चस्तरीय भ्रमणको पहल गर्नेलगायत छलफल हुने तथा केही घोषणा हुने जानकारी दिएका छन् । मोन्तानको भ्रमण नयाँ दिल्ली र जापानसँग पनि जोडिएको छ । जापानी विदेशमन्त्री दिल्ली भएर नेपाल हुँदै त्यही बेला फ्रान्स पुग्नेछन् । मोन्तान नेपाल हुँदै नयाँ दिल्ली पुगेर फ्रान्स फर्कनेछन् ।

जापानले इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नै नेपाललाई हेरेको भनिरहँदा मोन्तानको भ्रमणले केही राहत दिनेछ । परराष्ट्रका अधिकारी भन्छन्, ‘युरोपेलीहरू पनि नेपालको मामिलामा निर्णय लिँदा दिल्लीस्थित आफ्ना दूतावासको धारणा नबुझी केही पनि गर्दैनन् ।’ दूतावासले यस्ता धारणा अस्वीकार गर्दै नेपाल–फ्रान्सको सम्बन्ध पुरानो र मौलिक रहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.