घलेम्दीखोला जलविद्युत् निर्माण अन्तिम चरणमा
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा ५.५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। घलेम्दी हाइड्रो लिमिटेद्वारा २०७१ कात्तिकदेखि सुरु भएको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक पाइप जडान र विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।
चैतभित्रै परीक्षण उत्पादन सुरु गर्ने तयारीसहित निर्माण कार्यलाई तीव्रता दिइएको घलेम्दी हाइड्रोका कम्पनी सचिव विमल रिजालले बताए। आयोजनाको प्रवद्र्धक कम्पनीले बिहीबारदेखि १५ करोड ३३ लाख रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता सेयर बिक्री सुरु गरेको छ।
भिबोर क्यापिटल कम्पनीको सेयर बिक्री प्रबन्धक रहेको सो कम्पनीको सेयर छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गतेसम्म खरिद गर्न सकिनेछ। आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए।
कम्पनीले यसअघि स्थानीयका लागि जारी गर्दा नबिकेको चार लाख ५५ हजार सात सय ७० कित्तासमेत गरी आईपीओ जारी गर्न लागेको हो। आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख ५० हजार कित्ता सेयर जारी गरिएकोमा ४५ हजार कित्ताका लागि मात्र आवेदन परेको थियो।
एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन्। एक करोड १५ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनाको पूर्वाधार निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ। घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान हुनेछ।