ट्रम्प-किम शिखर बैठक छिटै
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको शिखर बैठक चाँडै हुने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।
पहिलो शिखर बैठकमा भएको सहमतिअनुसार उत्तर कोरियाको आणविक हतियार बन्द गर्नका लागि भइरहेको प्रक्रिया र प्रगतिका बारेमा अमेरिकाले उच्च तहका कूटनीतिज्ञहरू पनि खटाएको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।
दोस्रो बहुप्रतीक्षित शिखर बैठक गर्नुअघि धेरै काम गर्न बाँकी रहेको पोम्पेओले बताए । ‘मलाई विश्वास छ, राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक आगामी छोटो समयमै हुनेछ’, विदेशमन्त्री पोम्पेओले भने ।
अमेरिका र उत्तर कोरियाबीचको विश्वास अझ बढाउन र अमेरिकालाई ठूलो चुनौतीको रूपमा रहेको आणविक हतियारलाई निशस्त्रीकरण गर्न शिखर बैठक उपलब्धिमूलक हुने उनको विश्वास छ । कोरियाली प्रायद्वीपमा शान्तिस्थापनाका लागि अहिले भइरहेका प्रयास सकारात्मक शुरुवात भएको उनको भनाइ छ । यो बाँकी विश्वका लागि पनि सकारात्मक संकेत हो ।
‘हाम्रो समझदारीको रणनीति के कस्तो हुन्छ भन्ने बारेमा मैले अहिले नै केही भन्न सक्दिनँ, यो अवश्य पनि राम्रै हुनेछ’, उनले भने, ‘दक्षिण कोरिया र जापानका लागि राम्रो हुनेछ र संसारकै लागि पनि राम्रो हुनेछ ।’
यसै साताको शुरुमा ट्रम्पले किमका तर्फबाट आफूले महत्वपूर्ण पत्र प्राप्त गरेको खुलासा गरेका थिए । उनले पनि चाँडै उत्तर कोरियाका नेतासँग भेट्ने मौका पाउने विश्वास व्यक्त गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत वर्षको जुनमा शिखर बैठक भएको थियो । त्यस बेलन पुनः अर्काे बैठक गर्ने सहमति भएको थियो ।