राजा वीरेन्द्रले छोरा निराजनलाई किनिदिएको जग्गा खुम्चिँदै

राजा वीरेन्द्रले छोरा निराजनलाई किनिदिएको जग्गा खुम्चिँदै

भक्तपुर : भक्तपुर नगरपालिका- १ सल्लाघारीस्थित '९९ रोपनी' नामले प्रसिद्ध नेपाल ट्रस्टको नाउँमा रहेको जग्गाजमिन निरन्तर खुम्चिँदै आएको छ। तत्कालीन राजा वीरेन्द्रले आफ्ना कान्छा छोरा निराजनको नाउँमा स्थानीय जनताको १३२ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरी खरिद गरेका थिए।

तर अहिले उक्त जग्गा खुम्चिँदै खुम्चिँदै १०६ रोपनीमा पुगेको छ। पछिल्लो समय भक्तपुर नगरपालिकाले उक्त जग्गा संरक्षणका लागि पर्खाल बनाउन नापजाँच गर्दा उक्त जग्गाको क्षेत्रफल १०६ रोपनी चार आना तीन पैसा दुई दाम मात्रै देखिएको हो।

तर नेपाल ट्रस्टको रेकर्डमा १०८ रोपनी दुई आना एक पैसा रहेको छ। साविक कटुञ्जे गाविसको ९ ख का सयौं जग्गा कित्तालाई एक बनाएर अहिले उक्त जग्गाको कित्ता नम्बर ५४० कायम गरिएको छ।

जग्गाको उत्तरपूर्वमा हनुमन्ते खोला बगिरहेको छ। हनुमन्ते कोरिडोर निर्माण कार्य पनि अघि बढिरहेको छ। उक्त कोरिडोर र खोलाको मापदण्ड छोड्दा जग्गा अझै खुम्चने स्थानीय बताउँछन्।

'सुरुमा एकसय ३२ रोपनी बढी भएको जग्गा अहिले खुम्चिँदै खुम्चिँदै ९९ रोपनीमात्रै बाँकी हुने पो हो कि?', स्थानीय ७० वर्षीय मिश्री बखुन्छें आशंका व्यक्त गर्छन्। 

अरनिको राजमार्गले खायो १५ रोपनी

उक्त जग्गाको दक्षिणमा ६ लेनको अरनिको राजमार्ग छ। जग्गा अधिग्रहण गरिँदा उक्त बाटो थिएन। उक्त बाटो बनाउन र मापदण्डमा ९९ रोपनीको करिब १५ रोपनी जग्गा गएको अर्का स्थानीय पूर्ण बखुन्छें बताउँछन्।'हामी नै बसेर नापचाँज गर्दा ९९ रोपनीको १५ रोपनी जग्गा अरनिको राजमार्गले चोखै खायो', उनले भने।

जग्गाको पूर्वमा अरनिको राजमार्ग भई भक्तपुर सदरमुकाम पुग्ने अर्को चौडा कालोपत्रे सडक छ। उत्तर र पश्चिममा पनि चौडा तर कच्ची सडक छन्। यी सडक फराकिलो पार्ने काम भक्तपुर नगरपालिकाले अघि बढाइसकेको छ। यी दुई क्षेत्रमा पहिलेदेखि नै चलनचल्तीका बाटा भएकाले नपाले त्यसलाई विस्तार गर्न लागेको हो।

यी दुवै दिशामा सर्वसाधारणका घरहरु बन्ने क्रम तीव्र छन्। स्थानीय घर बने पनि उत्तर दिशातर्फ अतिक्रमण तथा साँधसीमाको समस्या छैन तर पश्चिम दिशामा ९९ रोपनी जग्गा अतिक्रमण भएको स्थानीय बताउँछन्। '९९ रोपनी चारै दिशाबाट खुम्चँदै आएको छ', स्थानीय भन्छन्, ‘बाटो र खोलाकै कारण ९९ रोपनी जग्गा अन्तमा ९९ रोपनी नै हुने कि नहुने स्थिति आएको छ।'

स्थानीयको अतिक्रमण पनि उस्तै

स्थानीयका अनुसार पश्चिममा बनेका केही घर टहराले ९९ रोपनी जग्गाको माग मिचेका छन्। उक्त दिशामा भएको पानी ढलोसमेत मिचेर केहीले भौतिक निर्माणसँगै घर जाने बाटो, पेटी, पर्खाल बनाएको छ।बाटो फराकिलो गर्ने क्रममा नगरपालिकाले नापी कार्यालयमार्फत लगाएको चिनोले पनि उक्त क्षेत्रमा ९९ रोपनी मिचिएको देखिएको छ। निकोल्सन कलेज तथा स्कुल रहेको भवन छिर्ने गेट चिनोभन्दा करिब चार फिट बाहिर छ। त्यस्तै ९९ रोपनी मिचेर बनाइएको टहरासमेत भत्काइसकेको छ।

योजना धेरै, काम शून्य
मुलुकमा गणतन्त्र आएपछि यो जग्गा नेपाल ट्रस्टको नाउँमा आएको छ। २०५८ सालमा दरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र र उनको वंशनाश भएपछि राजा भएका ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष शासनकामा उक्त जग्गा आफ्नो नाउँमा ल्याएका थिए। उनले पनि सत्ता त्यागेपछि स्थापित गणतान्त्रिक सरकारले उक्त जग्गा नेपाल ट्रस्टको नाउँमा ल्याएको हो।
नेपाल ट्रस्टले आफ्नो नाउँमा ल्याएपछि उक्त जग्गामा उद्यान बनाउने योजना अघि सारेको थियो।

९९ रोपनी जग्गा अतिक्रमण गरी बनाइएको संरचना भत्काइँदै।

नेपाल ट्रस्टको २०६७ साल भाद्र १५ गतेको सञ्चालक समितिले उक्त जग्गामा पार्क बनाउने निर्णय गरेको थियो तर अहिलेसम्म केही हुन सकेको छैन। उक्त जग्गा संरक्षणको लागि ट्रस्टले पुनः आर्थिक वर्ष २०७१÷७२ मा चौघेरा पर्खाल लगाउने कार्यक्रम ल्याएको थियो। उक्त कार्यको लागि उसले ३५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो। उक्त कार्य पनि कार्यान्वयनमा आएन।

मृगौला केन्द्र स्थापनाको प्रस्ताव
त्यस्तै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेटको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच शीर्षकको २४२ नम्बर बुँदामा भक्तपुर सल्लाघारीस्थित ९९ रोपनी जग्गामा आधुनिक प्रयोगशाला र मृगौला उपचार केन्द्र स्थापना गर्ने उल्लेख गरेका थिए तर त्यसले पनि अहिलेसम्म कार्यरुप पाएको छै। ट्रस्ट ऐनमा ट्रस्टका नाममा रहेका जग्गा शिक्षा र स्वास्थ्य क्षेत्रबाहेक अन्य कार्यमा प्रयोग गर्न नपाइने उल्लेख छ। सोहीअनुसार सरकारले मृगौला केन्द्र स्थापना गर्ने बजेट भाषणमै उल्लेख गरे पनि त्यसम्बन्धी अहिलेसम्म कुनै काम अघि बढेको छैन।

तरकारी बजार राख्ने प्रयास
त्यस्तै कृषि मन्त्रालयले काठमाडौं उपत्यकामा कृषि बजारको अभाव भएकाले ९९ रोपनीमै तरकारी बजार सञ्चालनमा ल्याउने प्रस्ताव पनि अघि सारेको थियो। कृषि मन्त्रालयले तरकारी बजार सञ्चालन गर्न ट्रस्टसँग माग गरेको तर सरकारले निर्णय नगरेको भन्दै ट्रस्ट चुप लागेर बसेको थियो।

त्यस्तै तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले भक्तपुरकै एक कार्यक्रममा उक्त जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने सरकारी योजना रहेको सुनाए थिए। उक्त सम्बन्धमा ट्रस्टसँग कुराकानी भइरहेको उनले सुनाए थिए तर उक्त योजनाले पनि मूर्त रुप पाउन सकेन।

स्थानीय दलको छुट्टाछुट्टै योजना
एकसमय उक्त जग्गामा स्थानीय दलहरुमा आआफ्नो छुट्टाछुट्टै योजना अघि सार्ने प्रतिस्पर्धा नै चलेको थियो। नेपाल मजदुर किसान पार्टीले उक्त जग्गामा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय बनाउने प्रस्ताव अघि सारेपछि तत्कालीन एमालेले रंगशाला बनाउने योजना सार्वजनिक गरेको थियो।

नेमकिपाले भक्तपुर नगरपालिकामार्फत २०६६/६७ देखि उक्त जग्गा ख्वप विश्वविद्यालयको लागि माग गर्दै आएको छ। उसले सरकार, ट्रस्ट, सदन, सडक र राजनीतिक दलहरु सबैसँग उक्त जग्गा माग गर्दै आएको छ तर न ट्रस्टले दिन मानेको छ न त सरकारले नै दिने निर्णय गर्न सकेको छ।

भक्तपुर नपाले उक्त जग्गामा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालयको सम्पूर्ण डिजाइनसमेत बनाइसकेको छ। तर यता जग्गा प्राप्त हुन सकेको छैन भने उता ख्वप  विश्वविद्यालयसम्बन्धी विधेयक संसदमा थन्किएर बसेको छ।

मुलुक प्रदेश संरचनामा गएपछि भक्तपुरबाट प्रदेश नम्बर ३ मा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुले भक्तपुरलाई प्रदेश राजधानी बनाउने र यस जग्गामा मन्त्रालयका भवनहरु बनाउने योजनासमेत अघि सार्दै आएका छन्।

सरकार, विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट, नगरपालिका राजनीतिक दल र सांसदहरुले आआफ्ना योजना प्रस्ताव गरे पनि ९९ रोपनी जग्गा अहिलेसम्म खाली नै रहँदै आएको छ। समयसमयमा विभिन्न मेला र प्रदर्शनीमा प्रयोगमा आए पनि यस जग्गा उपयोगहीन नै रहेको छ।

भक्तपुर नपाले पर्खाल
यसबीच भक्तपुर नपाले ९९ रोपनी जग्गाको संरक्षणार्थ ७ फिट अग्लो पर्खाल लगाउने भएको छ। उसले चार फिट अग्लो इँटाको पर्खालमाथि तीनफिट अग्लो फलामे बार लगाउन लागेको हो।

उक्त कार्यको लागि भनपाका पूर्ववडा अध्यक्ष लक्ष्मीनारायण राजलवट खत्रीको अध्यक्षतामा १५ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। उक्त समितिले करिब ९८ लाख रुपैयाँ लागतमा हनुमन्ते खोला क्षेत्रबाहेक सबैतिर पक्की पर्खाल गाउने अध्यक्ष खत्रीले जानकारी दिए।

उनका अनुसार जग्गाको दक्षिण दिशामा एउटा ठूलो र त्यसको दायाँबायाँ ससाना दुइटा गरी तीनवटा प्रवेशद्वारसमेत निर्माण गरिने बताए।उक्त पर्खाल निर्माण कार्यको एक कार्यक्रमबीच भक्तपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गएको शुक्रबार शिलान्यास गरेका हुन्।

नेपाल ट्रस्ट कार्यालयसँग रहेको भक्तपुर नपा १ सल्लाघारीस्थित ९९ रोपनी जग्गाको पुरानो ब्लु प्रिन्ट नक्सा।

उनले जनताको जग्गा अधिग्रहण गरिएको ९९ रोपनी जग्गा जनताकै हितको प्रयोजनमा ल्याउनुपर्ने बताए। उनले उक्त जग्गा भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरी मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिन माग गरे। भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपाल ट्रस्टसँग स्वीकृति लिएरै ९९ रोपनी जग्गाको संरक्षण गर्न पर्खाल लगाउन लागिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.