संसद्मा कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि कांग्रेस सांसदले बैठकमा अवरोध गरेका छन्।
प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गर्दै उठेका प्रमुख विपक्षी दल कांग्रेसका सांसदलाई सभामुख कृष्णबहादुर महराले प्रश्न उत्तरको समय होइन भन्दै समय नदिएपछि बैठक अवरुद्ध भएको हो।
कांग्रेसले चर्को विरोध गरेपछि सभामुखले सीमित व्यक्तिलाई बोल्ने समय दिन्छु भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोलाए। तर, कांग्रेस सांसदले सीमित सदस्यलाई मात्र समय दिएर नहुने भन्दै बैठकमा अवरोध गरेका हुन्।
सभामुखले समय नदिएपछि कांग्रेसका सबै सांसदले रोष्टम घेराउ गरेर नाराबाजीसमेत गरे। नाराबाजीबीच पनि संसद्को अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तिभरण पोस्ट विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरे। प्रतिवेदन पेश गर्दा पनि कांग्रेसको अवरोध जारी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगीत गरेका हुन्।