किन नहुने भयाे दीपक मनाङेको शपथ ?
पोखरा : मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेश सभा सदस्यको शपथ लिन नपाउने भएका छन्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन्।
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वाच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए। उनले प्रदेश सभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए।
प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु हुनुअघि आइतबार सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिए। राजीवले शपथ लिन पाऊँ भनी गरेको निवेदनमाथि निर्णय लिन सभामुखले कानुनी सल्लाह माग्दै उक्त बैठकमा मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलाई समेत सामेल गरेका थिए।
सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका प्रतिनिधि सांसदको सहभागितामा भएको समितिको बैठकमा सबै दलले राजीवको शपथ गराउन नमिल्ने सुझाव सभामुखलाई दिएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए। ‘अहिले उहाँको जुन अवस्था छ, त्यस अनुसार शपथ गराउन मिल्दैन भन्ने सुझाव कार्यव्यवस्था परामर्श समितिमा हामी सबैले सभामुखलाई दियौं’, उनले भने।
सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार राजीवलाई शपथ गराउन नमिल्ने सुनाए। उनले उक्त ऐनको दफा १६ हेरेर शपथ नगराउने निर्णय लिएको जानकारी पनि दिए। ‘सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ’, उक्त धाराको उपदफा १ मा भनिएको छ। दफा १३ को उपदफा गमा निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवारीका लागि अयोग्य हुने उल्लेख छ।
उपदफा घले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको पनि उम्मेदवारको अयोग्यता भनेको छ। सभामुख अधिकारीले भने, ‘उम्मेदवारी दिँदै कसैले उजुर गरेको भए त्यतिबेलै उहाँको उम्मेदवारी खारेज हुनेथियो।’ सांसद कुमार खड्काले शपथ नगराउने निर्णयलाई राजीवबाट चुनौती आए त्यसको कानुनी उपचार खोजिने पनि बताए।
मनाङ खबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार मनाङेले तत्कालीन एमालेको समर्थनमा कांग्रेस उम्मेदवार कर्म गुरुङलाई पराजित गरेका थिए। ज्यान मार्ने सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा रहेका मनाङे सर्वाेच्च अदालको आदेशमा पुस ६ गते छुटेका थिए। ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल सजाय भनी पुनरावेदन अदालत पाटनले गरेको ठहरलाई सर्वोच्चले सदर गरेपछि मनाङे जेलमा थिए।
२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेर बायाँ हात छिनालेको आरोपमा मनाङेमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको हो। काठमाडौं जिल्ला अदालतले उनलाई २ वर्ष जेल सजाय तोकेको थियो। पुनरावेदन अदालत पाटनले २०६९ सालमा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यही सजायलाई सर्वाेच्च अदालतले गएको माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर वैशाख ७ गते उनलाई प्रहरीले पक्रियो। सर्वाेच्चमा मनाङले पुनरावेदन निवेदन दिएका थिए। नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे पुस ६ गते छुटेका हुन्।
कैलाली १ बाट निर्वाचित रेशम चौधरी कारागारमा हुँदाहुँदै बाहिर ल्याएर संघीय सांसदको शपथ दिलाइएपछि गण्डकीमा पनि राजीवको शपथ हुने अनुमान धेरैको थियो। तर राजीवमाथि अदालतको फैसला भइसकेको र रेशमको मुद्दा चलिरहेको हुँदा २ जनाको केस फरकफरक भएको तर्क यहाँका सांसदले गरेका छन्।
प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुने दिन सोमबार दलका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरेको छ। सभामा सहकारी र वरपीपल सम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची छ।