वाइडबडी प्रकरण : मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने भएका छन्।
वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन्।
मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्। पत्रकार सम्मेलनमा सचिवसहित सम्बद्ध अधिकारी सभागी हुने मन्त्रालयले जनाएको छ।
कांग्रेस सांसद राजन केसी नेतृत्वको उपसमितितले नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उक्त भ्रष्टाचारमा पूर्व पर्यटनमन्त्रीसँगै बहालवाला मन्त्रीको संलग्नता रहेको दाबी गरिएको छ।