कोटेश्वरको जाम हटाउन वैकल्पिक सडक

कोटेश्वरको जाम हटाउन वैकल्पिक सडक

काठमाडौं : काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारीसाधनका लागि वैकल्पिक सडक निर्माण गरिने भएको छ। कोटेश्वर चोकमा ट्राफिक जाम घटाउन यो विकल्प तयार गरिएको हो। कोटेश्वरमा सवारीसाधनको अधिक चापका कारण जाम हुने भएकाले त्यहाँ प्रवेश गर्ने सवारीको संख्या कटौती गरेर जाम घटाउने योजना छ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलाको करिडोरमा सवारीसाधन सञ्चालन गरेर कोटेश्वरको जाम न्यूनीकरण गर्न लागेको बताए। उनले भने, ‘सवारीसाधनको अधिक चाप भएर कोटेश्वर चोकमा जाम बढेको हो। कोटेश्वर भएर गुड्ने सवारीको संख्या कटौती गरिए जाम हट्नेछ।’

काठमाडौं महानगरपालिकका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुवँरको संयोजकत्वमा गठन गरिएको समितिले कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरिरहेको छ। समितिमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग, महानरगर प्रहरीलगायत प्रतिनिधि छन्। यही समितिको अध्ययन प्रतिवेदनका आधारमा रत्नपार्कमा पिक एन्ड ड्रप (चढाउने र ओराल्ने) लागू गरिएको थियो।

पिक एन्ड ड्रपले रत्नपार्कमा सवारी जाम हटाउन सहयोगी भूमिका निर्वाह गरिरहेको संयोजक कुवँरको दाबी छ। ‘कोटेश्वर चोकको जाम हटाउन हामीले प्रारम्भिक अध्ययन गरिरहेका छौं’, कुवँरले भने, ‘मनोहरा करिडोरको प्रयोग र कोटेश्वर चोकको अव्यवस्थित बस पार्कलाई अन्यत्र सार्नुपर्ने देखिएको छ।’ संयोजक कुवँरका अनुसार भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको करिडोर हुँदै बालकुमार पुलबाट चक्रपथमा प्रवेश गराइनेछ। ‘त्यसका लागि अहिले सडक विभागले जडीबुटी पुलभन्दा करिब तीन सय मिटर दक्षिणतर्फ पुल निर्माण गर्न टेन्डर आह्वान गरेको छ।

मेलम्चनी खानेपानीले करिडोमा पाइप बिछ्याउने काम गरिरहेको छ’, कुवँरले भने, ‘पाइप बिछ्याउने कार्य सकिएसँगै सडक पिच गरिनेछ।’ पेप्सीकोलाबाट आउने सवारी पास गर्दा पनि जडीबुटी चोकमा जाम हुने गरेको छ। पेप्सीकोला र पुरानो ठिमीबीचमा रहेको पुल हुँदै मनहरा किनार हुँदै जडीबुटी पुलमुनिबाट बालकुमारीसम्म ल्याउने उनले बताए। यसरी सवारी ल्याउँदा जडीबुटीको चोकमा सवारीको चाप कम हुन्छ। भक्तपुरबाट काठमाडौं आउने सवारी बिना रोकावट कोटेश्वरतर्फ जान पाउँछन्। कोटेश्वरबाट पेप्सीकोला जाने सवारी बायाँ सडकबाट गुड्ने भएकाले जडीबुटीमा गाडी रोकिँदैन।

सूर्यविनायक हुँदै सातदोबाटो, बानेश्वर, रत्नपार्क, कलंकी जाने सवारी पनि बालकुमारी पुलको बाटो हुँदै चक्रपथमा प्रवेश गर्नेछ। बालकुमार, नरेफाँट र टीकाथलीका सवारीसाधन पनि यही रुट भएर गुड्छन्। यसले पनि कोटेश्वर चोकमा हुने सवारी चाप नियन्त्रण गर्ने उनको विश्वास छ। बीपी राजमार्ग, अरिनिको राजमार्ग र चक्रपथ चल्ने गाडीले कोटेश्वर चोकलाई अस्थायी बस पार्कका रूपमा प्रयोग गरिरहेको छ। यस्ता गाडीले गर्दा पनि कोटेश्वर चोकमा जाम धेरै बढेको छ। ती गाडी व्यवस्थित गर्न लागि छुट्टै बसपार्कको आवश्यकता छ। ‘भक्तपरका स्थानीयतहसँगको सहकार्यमा बस पार्कका लागि उपयुक्त स्थान खोजिभइरहेको छ’, कुवँरले भने, ‘ती सवारी नयाँ बन्ने बस पार्कबाट सञ्चालन गरिनेछ।’

भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको करिडोर हुँदै बालकुमार पुलबाट चक्रपथमा प्रवेश गराइनेछ।

कोटेश्वर चोकमा पार गर्ने पैदल लागि आकेश पुल पनि निर्माण गरिने उनी बताउँछन्। हाल कोटेश्वर चोकभन्दा करिब तीन सय मिटर पर आकाशे पुल छ। सार्वजनिक यातायातमा यात्रा गर्ने कोटेश्वर चोकमै ओर्लिने भएकाले त्यो पुल प्रयोग गर्न सकिरहेका छैनन्। कोटेश्वर–कलंकी सडक विस्तार गर्ने क्रममा चीनले उक्त आकाशे पुल निर्माण गरेको थियो। कोटेश्वर चोकमै उक्त पुल निर्माण गरिएको भए पुन ठूलो धनराशी खर्च नयाँ पुल बनाउनु पर्दैन थियो। उपयुक्त स्थानमा पुल नभएकाले पैदलयात्री सवारी आगमनमा बाधा पुग्ने गरी सडक काट्न बाध्य छन्। अब कोटेश्वर चोकममै आकाशे पुल निर्माण गरेर सवारी आगवनलाई बाधा नपुर्‍याइ पैदल यात्रीका लागि सडक काट्ने व्यवस्था गरिने उनको भनाइ छ।

दुई लेनको कोटेश्वर–सूर्यविनायक सडकखण्ड साँघुरो भएको भन्दै २०६८ सालमा ६ लेनमा विस्तार गरिएको थियो। साँघुरो सडक फराकिलो भएसँगै सवारीको जाम घट्ने धेरैको अपेक्षा थियो। तर, यातायात इन्जिनियर आशीष गजुरेल सडक फराकिलो बनाएसर मात्र ट्राफिक जाम दीर्घकालीन रूपमा अन्त्य गर्न नसकिने बताउँछन्। ‘सडक ठूलो बनाएर केही समय ट्राफिक जाम हटाउन सकिन्छ। यो अल्पकालीनका मात्र हुन्छ’, गजुरेल भन्छन्, ‘सडकसँगै सार्वजनिक यातायातलाई व्यवस्थित गरेर अघि बढ्नुपर्छ।’ सार्वजनिक यातायात व्यवस्थित गरेर निजी सवारी प्रयोगकर्ता घटाउन सकिए मात्र दीर्घकालीन रूपमा ट्राफिक जामको समस्या हट्ने उनको तर्क छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.