गुर्जामा प्रभावकारी बन्दै होमस्टे
बेनी : भ्रमणका लागि मंसिर पहिलो साता म्याग्दीको सबैभन्दा विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका बेनीका हरिप्रसाद पौडेललाई खाने बस्नेको बन्दोबस्त गर्न विगतजस्तो समस्या भएन। होटल सुविधा नभएको गुर्जामा होमस्टे (घरबास) सेवा सुरु भएपछि बासका लागि चिनेजानेकाको घर खोज्नुपर्ने बाध्यता हटेको हो।
‘विकट गाउँमा होमस्टे सञ्चालन भएकाले खान बस्न दुःख काट्नुपर्ने समस्या भएन’, पाँचौंपटक गुर्जा भ्रमणमा गएका पौडेलले भने, ‘पाहुनाको सुविधा र स्थानीयको आयआर्जनका लागि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे प्रभावकारी बनेको छ।’ अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य रहेको गुर्जाका ६ वटा घरमा गत वैशाखदेखि होमस्टे सेवा सुरु भएको हो। हिमाली आमा समूह गुर्जाकी अध्यक्ष सीता छन्त्यालले ६ घरमा पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेर ५० जना क्षमताको होमस्टे सञ्चालन गरेको जानकारी दिइन्। होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिँडो, आँटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ।
गुर्जाका साथै धवलागिरि गाउँपालिकाको मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको छ। गुड नेबर्स इन्टरनेसनलको सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघु उद्यम विकास अधिकृत धनमाया किसानले परियोजनाले होमस्टेसम्बन्धी तालिमका साथै स्थानीय कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको जानकारी दिइन्। पर्यटन विकास र आयआर्जनमा सघाउन होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले थपे। होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्दै आएका थिए।
मुनास्थित गंगा होमस्टेकी सञ्चालक गंगा पुनले होमस्टे सेवाका साथै राम्रो आम्दानीको स्रोतसमेत बनेको बताइन्। घर खर्च धानेर बचतसमेत हुने गरेको पुनको भनाइ छ। दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन्। धवलागिरि, गुर्जा हिमाल आरोहण, धौलागिरि चक्रीय, गुरिल्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने आउने पर्यटकलाई लक्ष्य गरेर होमस्टे सञ्चालन गरिएको हो।