गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट

बनेपा : स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् ।
खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको स्थानीय शेखर लामाको भनाइ छ । ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नेकपा जिल्ला सदस्य लामाले भने, ‘बनेपामा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि सचिव र अध्यक्ष खोज्दै सहर धाउनुपर्ने बाध्यता छ ।’
यो ठाउँमा सूचना, सञ्चार, यातायात, विद्युत् र सरकारी सेवाको सहज पहुँच छैन । निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको भनाइ छ । ‘पहिला कर्मचारी हुँदा र अहिले जनप्रतिधि आउँदा सेवा–सुविधामा केही फरक महसुस भएको छैन’, खानीखोला गाउँपालिकाका सन्त तामाङले भने, ‘दुई दशकपछि नयाँ जनप्रतिनिधि आए पनि वडाध्यक्ष, वडासचिव गाउँ नबस्दा स्थानीयलाई सास्ती बढेको छ ।’
उनका अनुसार विगतमा सिफारिस बनाउन सचिव खोज्दै सहर धाउनुपथ्र्याे । कार्यालय गाउँमा होइन, झोलामा छ । अध्यक्ष र कर्मचारी दुवै खोज्दै सहर धाउनुपर्छ । ‘फोन लगाउन आउँदैन’, उनले भने, ‘बनेपा सहरमा सोध्दै–खोज्दै कर्मचारी र जनप्रतिनिधिलाई भेटेर काम गर्नुपर्छ ।’
सन्त त प्रतिनिधि पात्र मात्र हुन्, खानीखोलाका सयौं स्थानीय दैनिक वडाध्यक्ष र कर्मचारी खोज्दै काम गर्नुपर्ने बाध्यतामा छन् । बनेपा आउजाउ गर्दा १० हजार रुपैयाँ खर्च हुने गरेको स्थानीय बताउँछन् ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने गाउँपालिका र वडा कार्यालयबाटै सेवा प्रदान गरिरहेको बताए । ‘हामीले खानीखोला गाउँपालिका कार्यालय तालढुंगासहित सातै वडाबाट सेवा दिइरहेका छौं’, अध्यक्ष खुलालले भने, ‘गाउँमा इन्टरनेट, बैंकिङ सुविधा नभएकाले केही समय हामीले बनेपाबाट सेवा दिएका थियौं । अहिले गाउँबाटै नियमित सेवा दिइरहेका छौं।’
अधिकांश वडाध्यक्ष र सचिवले भने बनेपाको गोदाम चोकस्थित च्याम्राङबेंसी होटलको माथिलो तला भाडामा लिएर काम गर्दै आएका छन् । उनीहरू कहिलेकाहीं मात्र वडा कार्यालयबाट सेवा दिन आउने गरेको स्थानीयको गुनासो छ । गाउँपालिकाको बजेट होटलबाटै फस्र्योट गरेको समाचार आएपछि केही कर्मचारी र वडाध्यक्ष गाउँ गएर सेवा दिएका थिए।
काठमाडौंबाट सय किलोमिटर दूरीमा रहेको खानीखोलाका केही वडामा अझै मोटरबाटो पुगेको छैन । सहज सडक सञ्जाल नभएकै कारण स्थानीयवासी मकवानपुर, सिन्धुली, भक्तपुर, ललितपुर भएर सदरमुकाम जानुपर्ने बाध्यता छ । भौगोलिक विकटता र सरकारको उपस्थिति कमजोर हुँदा डाँडापारिवासीले जन्मदर्ता, विवाहदर्ता, नागरिकता र अन्य कागजपत्र समयमा बनाउने गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस !
