चिसोमा किन मर्छन् मानिस ?

चिसोमा किन मर्छन् मानिस ?

ठण्डी मौसम तराईमा शीतलहर बनेर आउँछ । उच्च पहाडी भेगमा जस्तो तापक्रम शून्यको आसपास नपुगे पनि तराईको चिसो भयानक हुन्छ मृत्युसम्म निम्त्याउने गरी । केही दिन र हप्तासम्मै चल्ने शीतलहरमा घामका मसिना धर्सा पनि भेट्न गाह्रो हुन्छ । आँखाबाट तप्प-तप्प चुहिने गरी शीत चुहिने चिसोमा ग्रामीण जीवन झनै कठिन हुन्छ । त्यसैले चिसो मौसममा घुर ताप्नु तराईको संस्कृति नै बनेको छ ।

 तर यो घुर नै तराईका कति महिलाका निम्ति मृत्युको कारक बन्ने गरेको छ । त्यसो त तराईमा चिसोका कारण मृत्यु हुने समाचार नयाँ होइन । हरेक वर्षजस्तो चिसोमा तराईबाट मृत्युको खबर आउने गर्छ । ‘चिसोका कारण’ भनिए पनि यी मृत्यु चिसोकै कारण हुने भने होइन । चिसोले नै मानिस मर्ने भए ध्रुवीय क्षेत्रमा मानिसको बसोवास नै हुँदैनथ्यो ।

त्यस्तै हाम्रै हिमाली भेगमा शून्यभन्दा निकै कम तापक्रम भएका स्थानमा पनि मानिसको बसोवास हुने गरेको छ । शून्यसम्म नझर्ने तराईको चिसोमा मानिसको मृत्यु हुनुको कारण चिसो नभई त्यहाँको आर्थिक र सामाजिक पाटोसँग जोडिन्छ । आगोमा महिलाहरू जलेका समाचार पनि तिनै पाटोसँग जोडिन्छ ।

तराईका लागि चिसो मौसम निकै कम समयका लागि हुने गर्छ । मंसिरको मध्यपछि र फागुनको पहिलो सातासम्म चिसो रहने गरे पनि पुसका अन्तिम दिनहरू तराईमा बेसी चिसो हुने गर्छ । त्यसैले तराईमा चिसोका कपडा कमैमात्र किन्ने गरिन्छ । यसको अर्को कारण त्यहाँको गरिबी पनि हो । तथ्यांकले नै तराई क्षेत्रमा गरिबी उच्च रहेको देखाउँछ । उदाहरणका लागि तराईका जिल्ला मात्र सम्मिलित प्रदेश २ मा मानव गरिबी सूचकांक उच्च छ ।

त्यहाँ मानव गरिबी सूचकांक ४१.९ प्रतिशत छ । यो एउटा तथ्यांकले पनि तराईमा गरिबीको दर अन्य भेगमा भन्दा उच्च देखाउँछ । गरिबीका परिणाम अनेक आयाममा देखिन्छन् । त्यसमध्ये लुगाफाटो र आवास हो । गरिबीका कारण तराईका अधिकांश घर न्यूनतम मापदण्डभन्दा पनि तल्लो स्तरका छन् । त्यसैले ती घरलाई शीतलहरले बढी असर गर्नेगर्छ ।

गरिबीकै कारण मानिसहरू लुगाफाटो धेरै किन्न सक्दैनन् । गरिबीकै कारण उनीहरू आगोका लागि परालजस्ता छिटो बल्ने सामग्रीमा भर पर्नुपर्छ । कोइला वा हिटर उनीहरूको क्षमतामा पर्दैन । प्रयोग गरिसकेको पराल, धानको भुस आदिको सम्मि श्रण नै घुर हो । घुरले आगो कम र तातो बढी दिन्छ । त्यस्तै घुरबाहेक चिसो भगाउन प्रयोग गरिने अर्को सामग्री गुइँठा हो । गोबर र भुस मिलाएर बनाइने गुइँठाले पनि ताप बढी र राप कम दिन्छ ।

चिसोबाट जोगिन तराईका प्रायः गरिब जनता कोठाभित्र गुइँठा बालेर सुत्ने गर्छन् । चिसो नछिरोस् भनेर झ्यालढोका थुनेर गुइँठा बाल्दा मृत्युको कारक बन्ने गर्छ । गुइँठा भनेको मूलतः कार्बन नै हो । गु्इँठा बल्दा कार्बनले अक्सिजनसँग प्रतिक्रिया गरेर कार्बनजन्य ग्याँस निस्कने गर्छ । गुइँठा बल्दा कार्बनडाइअक्साइडसँगै कार्बनमोनोअक्साइड पनि उत्सर्जन हुन्छ ।

झ्यालढोका थुनिएकाले अक्सिजन कम हुन्छ । अक्सिजनको ठाउँ उस्तै आकारको कार्बनमोनोअक्साइडले लिन्छ । र विस्तारै शरीरको श्वासप्रश्वास प्रक्रियामार्पmत कार्बनमोनोअक्साइड शरीरभरि छरिन्छ, जसले मृत्यु निम्त्याउँछ ।

आगोले महिला जल्नुको कारण पनि गरिबीसँगै जोडिन्छ । गरिबीकै कारण तराईका गरिब महिलाले निकै सस्तो सारी किन्ने गर्छन् । त्यस्ता सारी प्रायजसो पोलिस्टरका हुने गर्छन् । पोलिस्टरका कपडा आगोले छिटै भेट्ने र जलेपछि खरानी बन्नेभन्दा पनि शरीरमै प्लास्टिकजस्तै चप्किने खालका हुन्छन् ।

त्यसैले आगोको सानो रापले भेट्दा पनि ती कपडा छिटै जल्छन् र शरीरमा चप्किन थाल्छन्, जसले पोलाइको पीडा बढाउँछ । चिसोले मानिस मर्छन् भन्ने संकथन नै आफैंमा गलत छ । यो संकथनले चिसोका कारण हुने मृत्युको खास कारण गरिबीलाई उपेक्षा गर्छ । चिसो बढ्दो छ । चिसोसँगै तराईमा आगोले पोलिने महिलाको संख्या पनि बढ्दो छ । हामीले चिसोले मर्छन् भन्ने संकथन परिवर्तन गर्न ढिलाइ भइसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.