साउदीका महिलालाई अब ‘डिभोर्स म्यासेज’को सुविधा
साउदी : साउदी अरबका महिलाहरुले आफ्नो डिभोर्स हुनुअघि अब अदालतबाट म्यासेज प्राप्त गर्ने छन् । यहाँको नयाँ कानून अनुसार यही आइतबारदेखि गोप्य डिभोर्सको अन्त्य गर्दै महिलालाई डिभोर्सको पूर्वसूचना दिने भएको हो ।
जुन सूचनाका आधारमा महिलाले डिभोर्सका क्रममा आफ्नो क्षतिपुर्ति दावी गर्न सक्ने छन् । राजकुमार मोहम्मद बीन सलमानको पहलमा महिलालाई यस्तो सुविधा दिने भएको बताइएको छ ।
यस्तो व्यवस्था सार्वजनिक गर्दै साउदीको कानून मन्त्रालयले ‘साउदी अदालतले अब डिभोर्स म्यासेज पठाउन थालिसकेका छन् । जुन महिलाको अधिकार सुनिश्चित गर्ने एउटा फड्को हो ।’ भन्दै आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
साथै महिलाले अब मन्त्रालयको वेबसाइटमा आफ्नो वैवाहिक अवस्था बुझ्न र सम्बन्धित अदालतबाट डिभोर्स कपी पनि प्राप्त गर्नसक्छन् ।
अधिकांश अरब देशहरुमा पुरुषले मात्रै डिभोर्स गर्न सक्छन् । साउदीमा भने महिलालाई आफ्नो डिभोर्स हुँदै छ वा छैन भन्ने सूचनाको हक दिइएको हो । साउदीमा केही वर्षयता महिला अधिकारका सवालबारे बहस भइरहँदा ल्याइएको नयाँ कानूनलाई सानै भए पनि एक उपलब्धि ठानिएको छ ।