आधुनिकतातर्फ राउटे समुदाय
सुर्खेत : सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय आधुनिकताप्रति आकर्षित बन्दै गएको छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजिकीकरणतर्फ उन्मुख हुन थालेका हुन्। यो समुदायले जंगललाई नै आफ्नो घर मान्दै आएको थियो।
दशकदेखि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका थुप्रै प्रयासका कारण राउटे समुदायले पनि आधुनिक समाजलाई स्विकार्न थालेको छ। उनीहरू विस्तारै आधुनिक समाजमै जीविकोपार्जन गर्ने बाटोतिर अग्रसर हुँदै छन्। कुनै बेला रुपैयाँ छोए पाप लाग्छ भन्ने जंगलको राजा राउटे जाति अहिले बस्तीमा पुग्ने जो–कोहीसँग पैसा माग्छन्। आफूले पाउने सामाजिक सुरक्षा भत्ता र खाद्यान्न सरकारले कहिले पठाउँछ ? भन्दै बस्तीमा पुगेका अन्य नागरिकलाई फोन गरिदिनसमेत आग्रह गर्छन्।
स्थानीय तह र प्रदेश सरकारले नै उनीहरूलाई स्थायी रूपमा बसोबास गराउन नीति तथा कार्यक्रम ल्याउन थालेका छन्। ‘जंगलमा खानेकुरा पाइँदैन, हामीले बनाएका काठका भाँडा पनि बिक्री हुन छाडेका छन्’, राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘खान र बस्न संकट भए पनि मेरा जनता अरू नागरिकसरह जीवन बिताउनतर्फ लागेका छन्, अहिले नै एकै ठाउँमा बस्दैनौं तर विस्तारै हामी पनि तपाईंहरूजस्तै लाउने र खाने हुनेछौं।’
एक सय ४५ जनसंख्या रहेको राउटे समुदाय सुर्खेतको लेकबेंसी नगरपालिका–१ रातेखोलामा बस्दै आएको छ। यसअघि उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र वितरण गरिसकेको छ। यस्तै, गाउँपालिकाले उनीहरू बसिरहेकै स्थानमा पुगेर प्रतिव्यक्ति मासिक दुई हजारका दरले सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराउँदै आएको छ।
राउटे बस्तीमा सामूहिक भोज
सामाजिक विकास मन्त्रालयले आधुनिक समाजसँग घुलमिल गराउन शनिबार राउटे बस्तीमा सामूहिक भोज गरेको छ। रातेखोलामा वीरेन्द्रनगरबाट लगिएको खाना सामूहिक भोज गराइएको हो। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र सोसेक दैलेखबाट गएको टोलीले राउटे बस्तीलाई राहत प्रदान गर्दै सामूहिक भोजसमेत खुवाएका छन्। ‘स्वच्छ, स्वस्थ खानाका साथै आधुनिक समाजसँग सम्बन्ध बढाउनका लागि भोज खुवाइएको हो’, मन्त्रालयका सचिव डा. मानबहादुर विकेले भने।
कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई स्थायी रूपमै उनीहरूको बसोबासको व्यवस्थापन गर्ने अभियान थालेको छ। एकैपटक सम्भव नभए पनि उनीहरूलाई विस्तारै आधुनिक समाजमा घुलमिल गराउँदै जंगलबाट एउटा स्थायी ठाउँमा राख्ने योजना बनाएको छ। सामाजिक, सांस्कृतिक सुरक्षासहितको स्थायी बसोवासको व्यवस्थापन मिलाउने योजना रहेको सचिव डा. मानबहादुर विकेको भनाइ छ।
बस्तीनजिकै मुहानबाट पानी ओसार्दै राउटे महिला। तस्बिर : गोविन्द देवकोटा
वर्षौंदेखि जंगलमै फिरन्ते जीवन बिताउने राउटे समुदायलाई एकै पटक स्थायी बासिन्दा बनाउन नसकिने भएकाले उनीहरूसँग नजिकिँदै सामाजिकीरण गर्ने अभियान थालिएको उनले बताए। उनले भने, ‘हामीले उनीहरूलाई एकैपटक टहरोमा ल्याउन सक्दैनौं तर त्यसभन्दा पहिले जंगलमा बस्दा हुने बेफाइदाबारे बुझाउन अति आवश्यक छ। उनीहरूलाई आधुनिक समाजसँग घुलमिल त गराउने हो तर उनीहरूको आफ्नो मौलिकता रक्षा पनि गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ।’
यस्तै, शनिबार राउटे बस्तीमा सामूहिक नाचगानसमेत आयोजना गरेको थियो। मन्त्रालयकी अधिकृत अनिता ज्ञवालीका अनुसार उनीहरूलाई आधुनिक समाजको संस्कृतिसँग परिचित गराउन र एकअर्कासँग सहज रूपमा घुलमिल गराउन सामूहिक नाचगानको व्यवस्था मिलाइएको थियो। प्रदेश सरकारका तर्फबाट उनीहरूलाई आवश्यक कपडा, खाद्यान्न, बालबालिकाका लागि खेलौना आदि वितरण गरिएको छ। ‘विस्तारै केही नकारात्मक कुरा पनि देखिन थालेका छन्, ती कुरालाई निरुत्साहित गर्दै सीप, संस्कृति संरक्षणसहितको सामाजिकीरणको अवधारणा मन्त्रालयले लिएको छ’, उनले भनिन्, ‘राउटेको मौलिकताको रक्षा पनि हुने र आधुनिक समाजमा नागरिकले पाउने अत्यावश्यक अधिकार उपभोग गर्ने गरी स्थायी बसोवासको व्यवस्था मिलाउने योजना बनाएको छ।
प्रदेश ५ को दाङ, कर्णालीका सुर्खेत, सल्यान, दैलेख र प्रदेश ७ का अछाम जिल्लाका जंगलमा यो जाति फिरन्ते जीवन बिताउने गर्छ। राउटेको रेखदेखका लागि तीन जना कर्मचारी नै राउटे बस्तीमा खटाइएको सामाजिक सेवा केन्द्र दैलेखका अध्यक्ष हीरासिंह थापाले बताए। एक जना अहेव र एकजोडी शिक्षक खटाइएको छ। अहेवले राउटेको स्वास्थ्य जाँच गर्छन् भने शिक्षकले महिला र पुरुषसँग कसरी आधुनिक समाजसँग घुलमिल हुने भन्ने विषयमा जानकारी गराउने गरिरहेका छन्। दुई वर्षभित्र राउटेलाई स्थायी बसाउने गरी काम भइरहेको थापाले बताए।
राउटे बालबालिकामा कुपोषण
शनिबार गएको टोलीले राउटेको स्वास्थ्य परीक्षणसमेत गरेको छ। प्रदेश अस्पताल सुर्खेतबाट गएको चिकित्सक टोलीले अधिकांश बालबालिकामा कुपोषण देखिएको बताएको छ। प्रदेश अस्पतालका मेडिकल अधिकृत डा. लोकेन्द्र थापाले परीक्षण क्रममा ८० प्रतिशतभन्दा बढी बालबालिकामा कुपोषणको समस्या देखिएको जानकारी दिए। ‘पोषणयुक्त खाना अभावले बालिकामा कुपोषण अत्यधिक छ भने वयस्कमा अन्य संक्रमण देखिन्छ’, उनले भने, ‘हरेक महिनामा शिविर राख्नु आवश्यक छ, उनीहरूलाई स्वास्थ्यप्रति सचेत गराउनका लागि।’
लाइनमा बसेर स्वास्थ्य परीक्षणपछि औषधि लिँदै।
डा. थापाका अनुसार वृद्धहरूमा दम तथा श्वासप्रश्वासको समस्या देखिएको छ। महिला र बालबालिका बढी प्रभावित भएकाले राउटे बस्तीमा हरेक महिना स्वास्थ्य शिविर राख्नु आवश्यक देखिएको छ। स्वस्थ खाने बानीको विकास मात्र नभई बिरामी पर्दा औषधि खाने पनि सिकाउनुपर्ने उनले बताए। राउटे बस्तीमा उज्यालो बनाउन प्रदेश सरकारले सोलारको व्यवस्थापनसमेत गरेको छ।