आँधीले १२६ को मृत्यु
मनिला : क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।आँधीपछि आएको वर्षा र वर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको अधिकारीले जानकारी दिएका छन् ।
आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । मनिलादेखि दक्षिणपूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै एक सयजको मृत्यु भएको अधिकारीले जनाएका छन् । क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीय वासिन्दाको शब्दमा ‘उस्मान’ भनिने यस आँधी निकै खराब खालको भएको बताइएको छ । घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरूको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीका लागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रूपमा रहेको छ ।
यो आँधी र पहिरोका कारण झण्डै १ लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । अहिलेसम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ ।
राष्ट्रपति रोद्रिगो दुतेर्तेले शुक्रबार घटनास्थलको निरीक्षण गरेका थिए । उनले प्रभावितलाई तत्काल उपयुक्त ठाउँमा बसोवासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका थिए । प्रभावितलाई विभिन्न विद्यालयमा अस्थायी शिविर बनाएर राखिएको छ ।
आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भौतिक संरचना पनि भत्किएका छन् । फिलिपिन्समा वार्षिक औसत २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण वार्षिक सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई घरवारविहीन हुने गरेका छन् ।
सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट ७ हजार ३६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एएफपी