रुकुम पूर्वमा हिमपातले जनजीवन प्रभावित
रुकुम पूर्व : प्रदेश- ५ को एकमात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुम पूर्वका विभिन्न स्थानमा आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म परेको हिउँदे वर्षाका कारण विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो पनि अत्याधिक बढेको छ। चिसोका कारण स्थानीयको जनजीवन समेत कष्टकर बन्दै गएको छ।
कुल तीनवटा गाउँपालिका रहेको यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका १४ वटै वडामा र खासगरी रन्मामेकोट र हुकामको उच्च पाटन क्षेत्र एवम् ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात भएका कारण त्यहाँका नागरिकको जनजीवन कष्टकर बन्दै गएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।
प्रमुख तिम्सिनाका अनुसार भुमे गाउँपालिकाको-१ काक्री, - २ को काँडा र वडा - ६ को महतका अग्ला डाँडामा पनि हिमपात भएको छ। त्यस्तै सिस्ने गाउँपालिकाको -१ सिस्ने, प्वाङका साथै - ४ को काडा र दादिङ क्षेत्रमा पनि हिमपात भएको छ। अन्य स्थानमा पनि बाक्लो तुसारो जमेका कारण साविकभन्दा चिसो बढेको स्थानीयले बताए।
हिमपात र चिसोका कारण अहिलेसम्म कुनै क्षती नभएको प्रहरीले बताएपनि स्थानियले हिमपातका कारण गहु, जौ र आलु लगाएत अन्य हिउले बालीमा भने असर बताएका छन्। हिजो हिउँसोबाट परेको झरी सोमबार बिहानसम्म कायम रहँदा स्थानीय कच्चि सडक हिलाम्य भएका छन्। बिहानदेखि पानी पर्न रोकिए पनि घाम नलागेका कारण सोलार चार्ज हुन नपाउँदा जिल्लाका पुथा-उत्तरगंगा र भुमे गाउँपालिकाका केही प्रहरी चौकी सम्पर्कबिहीन भएको प्रहरी प्रमुख तिम्सिनाले बताए ।