जीवनको ‘आगोको वर्णमाला’
काठमाडौं : जीवन खत्री आफ्नो पहिलो कविता संग्रह ‘आगोको वर्णमाला’ लिएर पाठकमाझ आएका छन्। सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, कवि मोमिला, पत्रकार विमल आचार्य, निबन्धकार दीपक सापकोटा तथा कविका पितामाताले संग्रह संयुक्त रूपमा संग्रह विमोचन गरेका हुन्।
कार्यक्रममा कवि तुलसी दिवसले ‘आगोेको वर्णमाला’ पहाडी बिम्बहरू टिपेर लेखिएका सुन्दर कविताहरूको सँगालो रहेको बताए। यस्तै पुस्तकमाथिको अन्तरसंवाद कार्यक्रममा पत्रकार एवं निबन्धकार दीपक सापकोटाले जीवनका कविताहरू कोमल भएको र तिनमा आमाका बिम्बहरू कलात्मक एवं गहिरो अर्थका साथ घुलेको बताए।
समालोचक विमल आचार्यले नेपाली कविता क्षेत्रमा जीवनका कवितामा सबै किसिमका स्वरूप पाउन सकिने बताए। कवि मोमिलाले जीवनका कविताहरू सुन्दर र सरल रहेका भए पनि आगोजस्तै रापिलोसमेत भएको धारणा राखिन्।
लोकार्पण कार्यक्रममा कवि जीवन खत्रीले संग्रहभित्रबाट ‘आमाहरूको गन्थन’ र ‘नानीबाबुहरू, पात र प्रेम’ गरी दुई कविता वाचन गरे। कवि खत्री विगत एक दशकदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा क्रियाशील छन्। ४९ थान कविता रहेको कविता संग्रहलाई ‘युरेका पब्लिकेसन’ले प्रकाशन गरेको हो।