बाजुरामा पहिलो पटक हिमपात, किसान हर्षित
बाजुरा : बाजुरामा पहिलो पटक हिमपात भएपछि किसान हर्षित भएका छन्। सोमबार रातिबाट एक्कासी बदली भई हिमपात परेपछि किसानलाई राहत पुगेको भन्दै गौमुल गाउँपालिका- ६ टाँडाकोटका किसान मिलन रोकायाले खुसी व्यक्त गरे।
उनले भने,' वर्षा नहुँदा हिउँदे बालीनाली सबै सुकेर नष्ट भएका थिए, अब हिउँ पर्यो, हामीजस्तै धेरै किसानलाई राहत पुगेको छ। आइतबार रातिदेखि सोमबार बिहानसम्म परेको हिउँदे वर्षाका कारण विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो पनि अत्याधिक बढेको छ। चिसोका कारण स्थानीयको जनजीवन समेत कष्टकर बन्दै गएको छ।
नौंवटा स्थानीय तह रहेको यस जिल्लाको गौमुल गाउँपालिका,बडिमालिका नगरपालिका,खप्तड छेडेदह गाउँपालिका,बुढीन्नदा नगरपालिका,हिमाली गाउँपालिका,स्वामिकार्तिक गाउँपालिका र जगनाथ गाउँपालिकामा हिमपात भएको छ भने अन्य २ वटा स्थानीय तहमा वर्षा भएको छ।
यता बडिमालिका, जेठीबौरानीलगायत अग्ला डाँडामा भने बाक्लो हिमपात भएको छ। उता हिमाली गाउँपालिकामा भने चिसो बढेको स्थानीयले बताए। हिमपात सोमबार बिहानसम्म कायम रहँदा जिल्लाको पूर्वी उत्तरी कोल्टी जाने यातायातका साधन भने जिल्लामै रोकिएका छन्। स्थानीयले हिमपातका कारण गहुँ, जौ र आलुलगायत हिउँदे बाली सप्रिने बताएका छन् ।