बौद्धस्तूप प्वाँल पार्ने चिनियाँ लामालाई कारवाहीकाे माग
काठमाडौं : बौद्धस्तूपमा प्वाँल पारेको भन्दै बौद्ध घ्याङ गुठीका अध्यक्ष भूपति बज्र लामालाई स्थानीयले कारवाहीको माग गरेका छन्। आइतबार बौद्ध तामाङ कल्याण गुठीका सदस्यसहित ५० भन्दा धेरै स्थानीयले कारवाहीको माग सहित हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाएका हुन्।
बौद्धनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागको स्वीकृति विना भूपति बज्र लामाले बौद्ध महास्तुपामा विद्युत सामाग्री प्रयोग गरी क्षति पुर्याएका थिए। विश्व सम्पदाको सूचीमा सूचीकृत बौद्धस्तुमा समितिको स्वीकृति र निर्णय विना काम गरेको भन्दै स्थानीय बासीले कारवाहीको माग गरेको बौद्ध तामाङ कल्याण गुठी अध्यक्ष खड्गजित लामाले बताए।
विश्व सम्पदामा सूचीकृत भएपछि सरकारले गुठीलाई व्यवस्थापन गर्न समिति गठन गरी काम अघि बढाएको छ। जानकारी नै नदिइ स्थानीयबासी र सम्बन्धित राज्यका निकायलाई बेवास्ता गरी महास्तुपाको चारैतिर ड्रिल गरेर प्राचिन स्मारक क्षेत्रमा ठुलो क्षति पुर्याएको समितिका अध्यक्ष राजकुमार लामाले बताए। दोषीलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संसोधन सहित) अनुसार हदै सम्मको कारबाहीको माग गरिएकाे छ।
करोडौ बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र रहेको बौद्धस्तुपामा क्षति पुर्याउनु गल्ती भएको भन्दै यस्तो काम नगर्न धर्मालम्बी गुरुहरुले भूपति लामालाई आग्रह गरेका छन्। राज्यले व्यवस्थापनको जिम्मा लिएकाले गुठीले स्तुपाको संरक्षण नगरेको समितिले स्पष्ट पारेको छ। सरकारले २०५३ सालदेखि समिति गठन गरी बौद्ध स्तुपाको व्यवस्थापन गर्दै आएको छ।