गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी
काठमाडौँ : सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।
सरकारले रेग्मीलाई बर्खास्त गरेपछि नयाँ प्रमुखमा वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त प्रमुख अधिकारीले सोमबार साँझै बरफबागस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । बर्खास्त भएका रेग्मीको कार्यकाल अझै ५ महिना बाँकी थियो । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारीलाई गुप्तचर प्रमुख बनाउन खोजेका थिए ।
तर २०४४ सालमा सेवा प्रवेश गरेका वरिष्ठ एआईजी देवराज भट्टलाई पछि पार्दै २०४६ का ‘बेसिक’ रेग्मी प्रमुखमा बढुवा भएका थिए ।
यता नयाँ प्रमुख बनेका अधिकारीले एआईजीबाट अवकाश पाउन एक महिना मात्रै बाँकी थियो । सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको छ ।