बम्जनको आश्रमबाट हत्याको प्रमाण भेटिएको प्रहरी दाबी

बम्जनको आश्रमबाट हत्याको प्रमाण भेटिएको प्रहरी दाबी

काठमाडौं : ‘तपस्वी’रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्यासम्बन्धी प्रमाण फेला परेको प्रहरीले दाबी गरको छ। गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो।

फरेन्सिक विज्ञसहित काठमाडौंबाट पुगेको सीआइबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायीको हत्यासम्बन्धी केही प्रमाण फेला पारेको हो।

आश्रममै रहेका प्रत्यक्षदर्शीले नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्यापछि नुन हालेर खाडलमा पुरेको जानकारी दिएका थिए। ती अनुयायीको जानकारीपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएका थिए। सञ्चलाल पछिल्लो पटक २०७१ चैत १५ परिवारको सम्पर्कमा थिएका थिए।

ती अनुयायीले दिएको जानकारीअनुसार सीआईबीसहितको टोलीले सञ्चलालको हत्या भएको भनिएको आश्रमको सम्भावित स्थान उत्खनन गरेको हो। अनुयायीका अनुसार खाडल उत्खनन क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ। तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न सकेन। ‘शव निकालेर जलाइएको हुन सक्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘शवको अवशेष नभेटिए पनि प्रत्यक्षदर्शीले दिएको बयानका आधारमा यस घटनाका प्रारम्भिक सबुत मिलेका छन्।’

तर अनुसन्धान प्रभावित हुने भन्दै संकलित प्रमाणबारे प्रहरीले मुख खोल्न मानेको छैन। ‘हामी अनुसन्धानमै छौं’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनीले भने, ‘घटनासँग सम्बन्धित केही सबुत बरामद भएका छन्। यसलाई टुंगोमा नपुर्‍याएसम्म बोल्नु हतार हुन्छ।’

सीआईबीबाट गएको फरेन्सिक विशेषज्ञसहितको टोलीले आश्रमभित्र बरामद कोइला, ‘सञ्चलालको शव गाडिएको’ सम्भावित खाडलको माटो र नुनको पोकाको खोल अनुसन्धानका लागि काठमाडौं ल्याएको छ। प्रहरीले आश्रमका १४ जनासँग सोधपुछ गरेको थियो। तीमध्ये सात जना सञ्चलालको हत्याका बेला आश्रमभित्रै रहेको अनुसन्धानबाट खुलेको छ।

एसपी मरासिनीले आश्रम परिसरमा दुई दिन अनुसन्धान गरेर सीआईबी टोली फर्किए पनि छानबिन जारी रहेको बताए। ‘आश्रमकेन्द्रित अनुसन्धान जारी छ, सीआईबीसहित र टोलीले अनुसन्धानलाई फरक कोणबाट अघि बढाएको छ’, मरासिनीले भने।

अहिलेसम्म संकलित विवरण सार्वजनिक गर्न नमानेको प्रहरीले बाँडेगाउँको आश्रम आसपास निगरानीलाई निरन्तरता दिएको छ। चारै जना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ। सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन्। २०७० कात्तिक र फागुनमा बाँडेगाउँ आश्रममा देखिएका फूलमाया र चिनीमायाँ बम्जनसँगै उभिएर खिचाएको फोटो पनि प्रहरीले भेट्टाएको छ।

स्रोतका अनुसार यी चारै जनाको खोजीमा प्रहरीले बम्जन आश्रमबारे जानकारी राख्दै आएका ‘सुराकी’ प्रयोग गरेको छ। आश्रमकै सुराकका आधारमा उत्खनन गरिएको स्थानबाट नुनका पोका बरामद भएपछि प्रहरीले अनुसन्धानको कोण सही बाटोमा अघि बढेको दाबी गरेको छ।

‘बम्जनसँग असन्तुष्ट र घटनाबारे जानकारी भएका बम्जनका पूर्वअनुयायीले अनुसन्धानमा सघाइरहेका छन्’, स्रोतले भन्यो, ‘आश्रमको एक सय रोपनीभन्दा बढी क्षेत्रमध्ये प्राप्त लोकेसनको सुराकअनुसार उत्खनन गर्दा नुनको प्याकेटका खोल सजिलै भेटिनुले प्रहरी घटनाको नजिक पुगेको बुझ्न सकिन्छ।’

बम्जनले श्रीमतीका नाममा २८ रोपनी जग्गा किनेर आश्रम बनाएका थिए। तर उनले उक्त क्षेत्रको एक सय रोपनी जग्गा उपयोग गर्दै आएका थिए। बम्जन २०७० असोज पहिलो सातादेखि २०७२ वैशाख दोस्रो सातासम्म बसेका थिए।

बम्जनका अनुयायीमध्ये नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएका थिए। प्रत्यक्षदर्शी आनीहरूले उनको हत्यापछि त्यहीँ गाडिएको बताएका थिए। प्रहरीका अनुसार बम्जनका अर्का अनुयायी सुरेश आले पनि यहीँबाट हराएका थिए। आनीद्वय डोल्मो र चुन्मा पनि यहीँबाट बेपत्ता भएको उजुरी उनीहरूका आफन्तले दिएका छन्। बम्जनले अनुयायीलाई यातना दिन लगाउँदा वाइबाको ज्यान गएको बताइएको छ।

बारा रतनपुरी–५ का बम्जन तेह्र वर्षअघि १४ वर्षको उमेरमा बेपत्ता भएका थिए। त्यसयता तपस्वीका रूपमा आफूलाई चिनाउन सिन्धुपाल्चोक, मकवानपुर, बारा र सिन्धुलीमा आश्रम बनाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.