गवारी नगर्दा कुटिए कालिकोटका डिल्ली कामी

गवारी नगर्दा कुटिए कालिकोटका डिल्ली कामी

कालिकोट :  कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका-१ गणेशपुर निवासी डिल्ली कामी गवारी नगर्दा कुटिएका छन् । स्थानीय चने बिष्ट र नेरेन्द्र बिष्टको निर्माणाधिन घरको दार बोक्नका लागि गवारी नगर्दा  डिल्ली कामीलाई चने बिष्ट र नरेन्द्र बिष्टले कुटपीट गरेका हुन्। 

जिल्लाका ग्रामीण भेगमा गाउँमा कसैको घर निर्माण भइरहेको छ भने गाउँका सबै स्थानीयले एक दिन निशुल्क रुपमा गवारी गर्ने प्रचलन रहेको छ। कसैले घरका लागि टाढाबाट दार बोकेर ल्याइदिने, कसैले एक दिन काममा सघाइदिने त कसैले बजारबाट ल्याउनुपर्ने सामान भाडा नलिएर ल्याइदिने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ। गाउँमा यो प्रचलन अहिले पनि कायम छ। घर निर्माण गर्दा मात्र नभई गाउँमा हुने शुभ  होस अशुभा  काममा गाउँलेले सहयोग गर्ने प्रचलन छ। 

हाल रहरीनाथ गाउँपालिका-१ गणेशपुरका चने बिष्टको घर निर्माण भइरहेको छ। चने बिष्टका भाइबाट कुटिएका ५७ वर्षीय डिल्ली कामी पनि मिस्त्री काम गर्छन्। उनी गाउँमा आफ्नै भतिजा पर्ने गंग विकको घर निर्माण गरिरहेका छन्। उनी चने बिष्टको घर निर्माणमा गवारी नगरेको भन्दै कुटिएका छन्।

चने बिष्ट र उनका भाई नरेन्द्र बिष्टले कुट्दा डिल्ली कामीको एक दाँत नै झरेको छ। तीन दाँत हल्लिएका छन्। टाउको र शरीरका केही भागमा चोट पनि लागेको छ। पीडित कामीले आफूलाई कुटपीट गर्ने दुवैजना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। 

न्यायका लागि जिल्ला सदरमुकाम आएका डिल्ली कामीले भने, 'मलाई गवारी नगरेकै कारण दलित भनेर हेपेर कुटपीट गरियो।उनले भने, 'यही पुस १७ गते भतिजाको घर निर्माणको कामबाट बिदा भएर बेलुका करिब ४ बजे घर फर्किँदै थिए । बीच बाटोमा पर्ने कालीबहादुर बिष्टको घरको पछाडी चने बिष्टका भाइहरुसँग भेट भयो।

सुरुमा चने बिष्टले आफूलाई अपमानजनक शब्द बोलेर मेरो घरमा काम गर्न किन आइनस् भन्यो। मैले तिमीले बोलाएपछि पो काम गर्न आउने हो भने। उसले मेरो घरमा काम गर्न नआउने भन्दै मलाई कुट्यो। मुखमा मुक्का हानेपछि माथि तिरको एक दाँत नै गयो। तलतिरका तीन दाँत हल्लिएका छन्। पछि उसको भाइ नरेन्द्र बिष्टसहितले बाटोमा ढालेर हात र खुट्टाले हाने। गाली पनि गरे। 

उनले भने, 'उसँग मेरो कुनै दुस्मनी थिएन्। कुनै लेनदेन पनि थिएन। उसको घरमा चाईने ढुंगाका पत्थर स्थानीय भाषामा पाट निकाल्न आफूलाई पेस्की २५ हजार पैसा दिएको थियो। मैले एकजना साथीको सहयोगमा पत्थर पनि निकाले। तर आफूले निकालेका पत्थर सानो साइजको भयो भनेर उसले लिन मानेन।मैले मलाई दिएको २५ हजार रुपैयाँ पनि फिर्ता गरिदिए। पत्थर अरुलाई नै बिक्री गरे। त्यस बाहेक अरु कुनै लिनदेन थिएन्,' उनले भने, अपमानजनक शब्द प्रयोग गरी गाली पनि गरे। कुटपीट पनि गरे। दलित भएकै कारण मैले उसको घरमा गवारी नगर्दा कुटाई खानु पर्‍यो।'

गाउँमा गवारी भनेको सहयोग हो। गरे पनि हुने नगरे पनि हुने। कालिकोटका दलित अधिकारीकर्मी तथा साझा आवाज परियोजनाका संयोजक वीर तिरुवाले विगतदेखि नै जिल्लामा दलित समुदायले विभिन्न खालका हिंसा खेप्दै आउनु परेको बताए। उनले अहिले पनि डिल्ली कामीले गवारी नगरेकै कारण गाली बेइजतिका साथै कुटाई खानु परेको बताए। उनले पीडकलाई कानुन बमोजिम कारबाही गरी पीडितलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी बिनोद शर्माले पीडित डिल्ली कामीले दिएको जाहेरीको आधारमा आइतबार नै मुद्धा दर्ता भएको जानकारी दिए। उनका अनुसार मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १० को १६६ दफा अनुसार जातीय भेदभाव तथा छुवाछुत र कुटपीट अन्तरगत मुद्धा दर्ता भएको छ। डीएसपी शमौले भने,' पीडक पक्राउका लागि प्रहरी परिचालन गरिएको छ।दलित भनेर अपमानसहित दाँत नै झार्ने गरी कुटपीट भएकाले घटनालाई गम्भीर रुपमा लिएको डीएसपी शर्माले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.