उत्तर कोरिया-अमेरिका वार्ता तयारी : नेता किम रेल चढेरै आए चीन
बेइजिङ : उत्तर कोरियाली नेता किम जोङ उन चार दिने भ्रमणको लागि चीन आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटवार्ताको तयारी गर्न भन्दै उनी सि जिन पिङको निमन्त्रणामा बेइजिङ आइपुगेका हुन् ।
कोरियाली समाचार एजेन्सीले बताए अनुसार उनी सोमबार आफ्नी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित आफ्नै व्यक्तिगत रेलमा चढेर चीन ओर्लिएका हुन् ।
चीनमा रहँदा उनले यहाँका राष्ट्रपति सि जिन पिङसँगै चीनस्थित कोरियाली कुटनीतिक नियोगका अधिकारीहरुसँग पनि भेट्ने बताइएको छ ।
कोरियाली नेता किमले वैकल्पिक बाटो रोज्नसक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिएको एक सातामै वार्ताको लागि तयारी गर्न भन्दै चीन आएका हुन् ।
गत वर्ष उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्नुअघि र पछि गरी तीन पटक चीन भ्रमण गरेका थिए । पहिलो वार्तामा दक्षिण कोरियाली नेताको भुमिका देखिएको थियो । यस पटकको वार्तामा किमले चिनियाँ राष्ट्रपति सि को सक्रियता चाहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् ।