दाइजोको निहुमा परिवारबाटै यातनापछि हत्या गरेको आरोप
वीरगन्ज : माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुमा हत्या गरेको आरोप लगाएका छन् ।
वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका बावु, आमा र दाजुले उनको हत्या गरेको भन्दै उजुरी दिएका हुन् । माधुरीको गत वर्ष नेपालगन्जका व्यवसायी गोपीचन्द वर्णवालका छोरा मनिष वणवालसँग मागी बिहे भएको थियो । विहे भएको एक वर्ष नबित्दै गत मंगलबार नेपालगन्जस्थित आफ्नै घरको कोठामा पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर मृतक माधुरीका बुवा वेदप्रकाश वर्णवाल, आमा पुष्पा वर्णवाल र दाजु दिपेन्द्रले दाइजोको निहुँमा माधुरीको हत्या गरिएको आरोप लगाएका हुन् ।
मात्रुरीकै पति मनिष वर्णवाल, ससुरा गोपीचद्र वर्णवाल र सासू राजकुमारी देवी विरुद्ध उनीहरुले किटानी जाहेरी दिएका हुन् । माधुरीको शव पंखामा झुण्डिएको अवस्थामा फेला परे पनि मृत्युको कारण आत्महत्या नभएर हत्या नै भएको उनीहरुको जिकिर छ ।
बिहेपछि सुरुका दिनहरुमा सासू र ससुराले दाइजोको निहुमा माधुरीलाई निरन्तर यातना दिँदै आएको पनि माधुरीका बावु वेदप्रकाशको दावी छ । सोही कारण माधुरीको हत्या नै भएको उनले आरोप लगाएका हुन् । माधुरीका दाजु दिपेन्द्र भन्छन्, ‘माधुरीका पति मनिषको अर्कै महिलासँग अवैध सम्बन्ध रहेको पनि खुलेको छ । अर्कै महिलासँगको सम्बन्ध खुल्ने म्यासेज माधुरीले नै देखेकी थिइन् । त्यसपछि पनि मनिषले माधुरीलाई यातना दिँदैआएका थिए ।’
माधुरीलाई ससुरालका मान्छेहरुले महिनवारी भएर बिरामी अवस्थामा कुटपिट गरेर हत्या गरेको पत्रकार सम्मेलनकै क्रममा उनका परिवारका सदस्यहरुले दावी गरेका छन् ।
दिपेन्द्रका अनुसार हैसियत अनुसार दाइजो नदिएको भन्दै केही महिना यता माधुरीलाई मनिषको परिवारका सदस्यले दुव्र्यवहार र यातना दिँदैआएका थिए । मनिषले आफ्नो अवैध सम्बन्धको प्रमाण मेटाउन माधुरीको ल्यापटप र मोबाइल पनि फुटाइएको आरोप उनीहरुको छ ।
घटनाको अघिल्लो दिन सोमबार माधुरी स्वयंले आफूलाई टेलिफोन गरेर ढोका थुनेर कोठामा राखेको र खाना समेत नदिएको भन्दै रोएको माधुरीकी आमा पुष्पाले पत्रकार सम्मेलनमा बताइन् ।
प्रहरीमा जाहेरी
नेपालगन्जको प्रहरीले जाहेरी लिन नमानेपछि निकै प्रयास गरेर जिल्ल प्रहरी कार्यालय बाँकेमा दिपेन्द्रले जाहेरी दिएको बताएका छन् । उनले माधुरीका पति मनिष, ससुरा गोपीचन्द र सासू राजकुमारी विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका छन् ।
उजुरीपछि प्रहरीले पोष्टमार्टम गरेको थियो । माधुरीका माइती पक्ष भने ससुराल पक्षले रिपोर्टमा पनि प्रभाव पार्नसक्ने भन्दै गुनासो गरेका छन् । भेरी अस्पताल नजिकै औषधि पसले समेत रहेका माधुरीका ससुराल पक्षले त्यहाँका चिकित्सकलाई मिलाएको भन्दै दिपेन्द्रले गुनासो गरेका छन् । बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले भने पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र अदालतबाट म्याद लिएपछि आरोपितहरुलाई पक्राउ गरिने बताएका छन् ।