जापानी विदेशमन्त्री बुधबार आउँदै
काठमाडौं : जापानी विदेशमन्त्री तारो कोनो काठमाडौं ओर्लंदै छन्। भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी बुधबार अपराह्न काठमाडौं ओर्लिन लागेका हुन्।
मंगलबार सुरु भएको राइसेना डायलगमा समेत सहभागिता जनाएर नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आउन लागेका हुन्।
उनको यो भ्रमण प्रधानमन्त्री केपी ओलीको जापान र जापानी समकक्षी सिन्जो आवेको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ।
भ्रमणलाई प्रधानमन्त्री केपी ओलीको जापान र समकक्षी सिन्जो आवेको नेपाल आगमनको तयारीका रूपमा हेरिएको छ।
न्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे समेत भएको छलफलाई अझ उचाइ दिन भारत र जापानका रक्षामन्त्रीबीच छिट्टै वार्ता गर्ने सहमति भएको जापानी तथा भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
इन्डो प्यासिफिक क्षेत्रको विकासबारे अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया छन्। परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका र जापान भ्रमणको समयमा समेत यसमा छलफल भएको बताइएको छ।
फ्रान्सका मोन्तान पनि आउँदै
फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान पनि बुधबार नै काठमाडौं ओर्लंदै छन्। उनी पनि राइसेना डायलगमा भाग लिन दिल्ली जाने क्रममा काठमाडौं पसेका हुन्। दुवैसँग परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै वार्ता गर्दै छन्। उनीहरूले पत्रकारसँग अन्तक्र्रियासमेत गर्ने बताइएको छ।
मंगलबार नेपालका लागि चिनियाँ राजदूत हु यांकीले पनि परराष्ट्रमन्त्री ज्ञवालीसँग नेपाल चीन सम्बन्धबारे छलफल गरेकी छन्। सोमबार ओहोदाको प्रमाणपत्र बुझाएकी उनले परराष्ट्रमन्त्रीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यको क्षेत्रबारे छलफल गरेको बताइएको छ।