तीन नेताबीच सहमति
काठमाडौं : सत्ता र प्रतिपक्षका प्रमुख तीन नेताबीच छलफल भएको छ । प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनमा प्रश्न गर्न नपाएको विरोधमा संसद् बैठक अवरुद्ध गरेको भोलिपल्टै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
सोमबार साँझ प्रमुख नेताबीच छलफल भएको नेकपा अध्यक्ष दाहालले चितवन पुगेर पुष्टि गरेका छन् । उनले मंगलबार चितवनमा ‘निजी आवास पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी’ लाई सम्बोधन गर्दै प्रमुख नेताबीच राष्ट्रिय मुद्दामा सहमति गरेर जाने समझदारी बनेको बताएका थिए ।
‘राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने विषयमा सोमबार साँझ मात्रै प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, मलगायत वरिष्ठ नेताबीच महŒवपूर्ण छलफल भएको छ’, उनले भने, ‘छलफलमा राष्ट्रिय मुद्दामा समझदारीका साथ अगाडि बढ्ने कुरा भएको छ ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल हुने कुरालाई अन्यथा लिन नहुने भन्दै भेटको पुष्टि गरे । ‘उहाँहरूबीच अनौपचारिक छलफल भएको हो’, उनले भने, ‘राष्ट्रिय सहमति बनाउनै पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका बीचमा विमति छैन ।’ उनले लोकतन्त्रमा सहमति रहेको तर लोकतान्त्रिक संस्कृतिमा सत्तापक्ष प्रतिपक्षबीच विमति भएको, संविधान बनाउने विषयमा सहमति बनेको तर त्यसको जिम्मेवारीपूर्वक कार्यान्वयनमा विमति रहेको बताए ।
‘जे–जे विषयमा विमति देखिएका छन् त्यसमा पनि उहाँहरू (सत्तापक्ष) रूपान्तरण भएर आएमा सहमति भएर जान्छ’, शर्माले भने । सरकारलाई फागुन २१ भित्रै संघीयता अनुकूल नभएका सबै कानुन संशोधन गर्नैपर्ने बाध्यता छ । गत असोज ३ मा मौलिक हकसम्बन्धी कानुन निर्माण गर्ने पहिलो संवैधानिक सीमा कार्यान्वयन गरेको सरकारका लागि फागुन २१ को दोस्रो संवैधानिक सीमा छ । त्यसका लागि यही अधिवेशनबाट १ सय ६५ कानुन अद्यावधिक गर्नुपर्नेछ ।
त्यसमा कुनै कानुनी अड्चन आउन नदिन प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई समेत बोलाइ अनौपचारिक छलफल थालेका हुन् । ‘प्रधानमन्त्रीले समृद्धिका लागि सबै पक्षलाई राष्ट्रिय सहमतिमा आउन आग्रह गरिरहनु भएको छ, त्यसमा प्रतिपक्षी कांग्रेसलाई पनि कसरी सहभागी हुन चाहन्छ, सरकार सोहीअनुरूपको सहकार्य गर्न तयार रहेको सन्देश दिइरहनु भएको छ’, प्रधानमन्त्रीको निजी सचिवालयले बतायो ।