तीर्थको ह्याट्रिकले पुलिसको जित
धनगढी : नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले सफलता हात पारेको छ । पुलिस क्लबले मोरङ फुटबल क्लबलाई ३–० गोलले हरायो ।
जितसँगै पुलिस क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पुलिस क्लबको जितमा तीर्थ रानाले ह्याट्रिक गरे । खेलको सुरुदेखि नै विपक्षीमाथि दबाब बनाएको पुलिस क्लबले तीर्थको गोलमा अग्रता बनाएको थियो ।
तीर्थले खेलको सातौं मिनेटमा डीबक्स भित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योञ्जनले बचाउन सकेनन् । खेलको ३५औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले नै पुलिसको अग्रता दोब्बर बनाएका थिए । अभिषेकले विंगबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै दिएको पासमा तीर्थले हेडर गोल गरे । ४३औं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा पनि पुलिस क्लबले आक्रामक रणनीतिलाई कायम राख्दै पोस्टमा एकपछि अर्को आक्रमण गरिरह्यो । ५७औं मिनेटमा सन्तोष हेमरुनको क्रसमा नीरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । त्यसलगत्तै निीरकुमारले नै छोटो कर्नरमा सीधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । ७५औं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिस क्लबले अग्रता फराकिलो बनाउन सकेन ।
दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले मैदान केही नयाँ भएकाले खेलाडीलाई सेट हुन समय लागे पनि जित हात पार्दा खुसी रहेको प्रतिक्रिया दिए । पराजित टोलीका प्रशिक्षक सञ्जीव बुढाथोकीले बलियो पुलिस क्लबविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए ।
पुलिस क्लबले अब पुस २९ गते हुने क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । बिहीबार भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच खेल हुनेछ ।