कर्णालीका कैदी बन्दीलाई पुस्तक
जुम्ला : कर्णाली प्रदेश सरकारले कर्णालीका १० जिल्लामा रहेका १० वटा कारागारका कैदीबन्दीका लागि पुस्तक अभियान सञ्चालन गरेको छ ।
विभिन्न मुद्दामा वर्षौँदेखि कारागारमै रहँदैआएका बन्दीहरुलाई अध्ययनका लागि पुस्तक वितरण अभियान ल्याइएको हो । कर्णाली प्रदेश सरकारले जुम्लाबाट संचालन गरेको यस अभियानलाई देशकै नमुना कार्य दावी गरेको छ । ‘कारागारका बन्दीहरुको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ”
नाम दिइएको यस अभियान बुधबार जुम्लामा एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरियो । ‘कैदी बन्दीलाई अपराधीका रुपमा मात्र हेरिन्छ, जसले गर्दा उनीहरुलाई हिनताबोध हुन्छ,’ डिएसपी सीताराम रिजालले भने, ‘उनीहरुको मानसिक अवस्था परिवर्तनका लागि पुस्तक अध्ययन गर्न जरुरी छ ।’
कला साहित्य, जीवन संघर्ष, आमसञ्चार, मानव अधिकार, कानुन, राजनीति लगायतका पुस्तक कैदी बन्दीलाई वितरण गरिने बताइको छ । अभियान अन्तरगत कर्णाली प्रदेशका डिआईजीमार्फत कैदी बन्दीलाई पुस्तक हस्तान्तरण गरिने कार्यक्रम छ ।
पुस्तक वितरण अभियानबाट पहिलो पटक जुम्ला कारागारमा रहेका ७७ जना कैदीबन्दी लाभान्वित हुने छन् । कारागारमा पुस्तकालय व्यवस्थापनका लागि योजना समेत बनाइने जिल्ला प्रहरी कार्यालयले निर्देशन दिएको बताएको छ । कारागारमा पुस्तक अभियान सञ्चालनका लागि डिएसपीको संयोजकत्वमा सरोकारवाला समेटिने गरी ११ सदस्यीय पहल समिति पनि गठन गरिएको छ । समितिले पुस्तक हस्तान्तरणका लागि पुस्तक संकलन गरिरहेको बताएको छ ।