चार दमकल, दुई चालक

चार दमकल, दुई चालक

काठमाडौं : जुद्ध बारुण यन्त्रमा ४ वटा दमकल छन् तर चालक भने २ जना मात्र। माघ १ गते ती दुवै चालकले पनि अवकाश पाउँदै छन्। चालक नियुक्तीका लागि बारुण यन्त्रका कर्मचारीले अनेकौं पटक तालुक निकाय काठमाडौं महानगरपालिकालाई गुहारिसके। महानगरले चालक नियुक्त गर्न अझै बेवास्ता गरिरहेको छ।

चालक गोपीलाल श्रेष्ठ उमेरहदका कारण अवकाश पाउँदैछन् भने दिलबहादुर मानन्धरले राजीनामा दिएका हुन्। दुवैको अवकाशसँगै बारुण यन्त्रसँग एक जना पनि दमकल चालक हुने छैनन्। ०६४ सालदेखि दरबन्दी ६ जना रहे पनि ४ जना मात्र चालक कार्यरत थिए। ‘करारमा नियुक्ती गर्दा सूचना प्रकाशित गरेर परीक्षा लिएर नियुक्ती गर्दा कम्तीमा दुई साता लाग्छ तर कसैले चासो देखाउँदैनन्’, बारुण यन्त्र महाशाखाका एक अधिकृतले भने, ‘ठूलो आगलागी भए ठूलो घटना निम्तिन सक्छ।’

बारुण यन्त्रका अनुसार राजधानीमा दैनिक ३/४ वटा आगलागी हुने गरेको छ। पालो दिने नहुँदा दमकल चालक २४ सै घण्टा तम्तयार (स्ट्यान्डबाई) बस्नुपर्ने स्थिति छ। बारुण यन्त्रको यो समस्या मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलगायत सबै जना जानकार छन्। जिम्मेवार अधिकारीले चासो नदेखाएकाले चालक नियुक्तीको विषय मेयरकहाँ नै पुगेको छ।

दुवै चालकको अवकाशसँगै माघ १ गतेदेखि बारुण यन्त्रसँग एक जना पनि दमकल चालक हुने छैनन्।

बारुण यन्त्र महाशाखा प्रमुख यादव घिमिरेले महानगरकै विपद् व्यवस्थापन विभागमार्फत पत्र पठाएर जानकारी गराइसकेको बताए। उनले भने, ‘आगलागी जस्तो संवेदनशील घटनामा दमकल नभई हुँदैन तर चालक नियुक्तीमा किन अत्तो थापिएको हो बुझ्न सकिएन।’ उनले राजधानीमा दैनिक ३ देखि ४ वटा आगलागीका घटना हुने बताए। उनले भने, ‘आगो लागेका ठाउँमा दमकल नपुग्दा ठूलै घटना हुनसक्नेमा हामी गम्भीर छौं तर चालक पनि त चाहियो।’

सरकारले कर्मचारी समायोजन अध्यादेश पारित भएपछि समायोजन नटुंगिएसम्म कुनै पनि कर्मचारी नियुक्ती नगर्न निर्णय गरी निर्देशन दिएको छ। यसबाट दमकल चालक तत्काल नियुक्त गर्न नसकेको महानगरको भनाइ छ। स्रोतका अनुसार सशस्त्र प्रहरी बलले दमकल चालक उपलब्ध गराउँदै आएको थियो। महानगरपालिकाको प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले दमकलको चालक नियुक्तिबारे छलफल भइरहेको बताए। उनले भने, ‘चालक नियुक्तीमा महानगर गम्भीर छ। केही दिनभित्रै प्रक्रिया अगाडि बढ्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.