निर्वाचन निर्विवाद बनाउन कार्यविधि ल्याइँदै
काठमाडौं : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन निर्वाचन आयोगले विशेष कार्यविधि ल्याउने तयारी गरेको छ। निर्वाचनलाई निर्विवाद बनाउन आयोगले कार्यविधिको मस्यौदा बनाई रायसल्लाह लिने भएको छ।
गत वर्ष सम्पन्न तीन तहकै निर्वाचनमा मतदान अघि, मतदानको दिन र परिणाम घोषणा नहुँदासम्म विभिन्न विवाद उत्पन्न भएका थिए। तर ती विवाद समाधान गर्ने एउटै संयन्त्र थिएन। विवाद सुन्ने र निरूपण गर्ने त्यस्तो विश्वसनीय संयन्त्रको अभाव खड्किएपछि आयोगले ‘निर्वाचन विवाद निरूपण कार्यविधि’ बनाउन लागेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले मस्यौदा निर्माण गरेको आयुक्त ईश्वरी पौडेलले जानकारी दिए। कार्यविधिको प्रारम्भिक मस्यौदामाथि आयोगले राजनीतिक दल तथा पूर्वनिर्वाचन आयुक्तहरूसँग पनि छलफल गरिसकेको छ। उनीहरूले सबै खालका निर्वाचनमा विवाद सुन्ने र निरूपण गर्ने संयन्त्र एउटै हुनुपर्ने राय आयोगलाई दिएका छन्। सबैले विश्वास गर्ने खालको संयन्त्र भए मात्रै निर्वाचनको विश्वसनीयता कायम हुन सक्ने विज्ञहरूको भनाइ थियो। आयोगमा रहने त्यस्तो संयन्त्रमा आयुक्तहरूको सट्टा कर्मचारीले नै नेतृत्व गर्नुपर्ने सुझावसमेत आएको आयुक्त पौड्यालले जानकारी दिए।
आयोगका अनुसार तीनै तहका निर्वाचनमा उत्पन्न विवादमध्ये २६ वटा मात्र आयोगसम्म आएका थिए। जिल्ला अदालतमा एक सय ४६ र सर्वाेच्च अदालतमा एक सय ११ वटा विवाद पुगेका थिए। कार्यविधिमा निर्वाचन कसुर तथा विवाद निरूपणमा मतदान अधिकृत, निर्वाचन अधिकृतदेखि आयोगमा गठन हुने विवाद निरूपण समितिले केकस्ता विषय सुनुवाइ गर्नेसम्मका व्यवस्था समेटिने आयोगका प्रवक्ता शंकरप्रसाद अर्यालले जानकारी दिए।
कार्यविधिको मस्यौदा तयार भइसकेको उनले जानकारी दिए। ‘अहिले सरोकारवालासँग अझै धेरै रायसुझाव लिएर परिपक्व बनाउने काम भइरहेको छ’, उनले भने।