लमजुङमा प्याराग्लाइडिङ
बेसीसहर : ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङ प्याराग्लाइडिङको पनि गन्तव्यस्थल बन्ने भएको छ। पर्यटन प्रवर्द्धन गर्न व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान गरिने भएको छ । राइनासकोट, बागलुङपानीको पुमागाउँ र हिलेटक्सार डाँडाबाट सफल परीक्षण भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
लमजुङको पुमाडाँडा र राइनासकोट डाँडाबाट गरिएका प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको पर्यटन व्यवसायी ब्रदर्श अन्नपूर्ण ट्राभल एन्ड टुर लमजुङका सञ्चालक अमीर गुरुङले जानकारी दिए। उडानलाई नियमित बनाइने उनको भनाइ छ।
बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ कालिका मन्दिरबाट भने उडान भर्न कठिन देखिएको प्याराग्लाइडिङ पाइलटले बताएका छन्। ‘प्याराग्लाइडिङका लागि बागलुङपानीको पुमाडाँडा, चण्डिस्थानको पार्कस्थलबाट धेरै राम्रो देखियो। राइनासबाट त झनै राम्रो सम्भावना छ’, पाइलट सुनिल थापाले भने, ‘यी ठाउँबाट अन्तरजिल्ला पनि भ्रमण गर्न सकिन्छ।’
स्काइबर्ड प्याराग्लाइडिङ पोखराको संयोजनमा ब्रदर्स अन्नपूर्ण ट्राभल एन्ड टुरले यी ठाउँमा प्याराग्लाइडिङको परीक्षण उडान गरेको थियो। स्काइबर्डका प्याराग्लाइडिङ पाइलट सुनिल थापा, कुमार श्रेष्ठ, भुवन गाहा, राजेश गिरी र सुनिल रावलले प्याराग्लाइड उडाएका थिए । प्याराग्लाइडिङ पाइलट सुनिल रावलका अनुसार सरकारले अनुमति दिएमा बेसीसहर–६ पुमाडाँडाबाट उडान उपयुक्त देखिएको छ । पाइलट लाक्पा शेर्पाले राइनासबाट गरिने प्याराग्लाइडिङबाट लमजुङका माथिल्लो भाग, गोरखा, तनहुँ घुम्न सकिने बताए।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट प्याराग्लाइडिङ विस्थापन हुने भन्ने हल्लासँगै व्यवसायी नयाँ सम्भाव्यस्थलको खोजीमा छन्। बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले व्यावसायिक उडाउनका लागि बजेट विनियोजन गरिएको बताए। ‘कुन ठाउँबाट कसरी उठान गर्न सकिन्छ भनेर विज्ञसँगको छलफल गरेर काम गर्ने तयारीमा छौं’, अर्यालले भने । राइनास नगरपालिकाका प्रमुख सिंहबहाहदुर थापाले पनि पर्यटन प्रवर्द्धनका लागि राइनासमा व्यवसायिक प्याराग्लाइडिङ गर्ने गरी काम गरिने बताए।
पर्यटन व्यवसायी सन्तोष थापाले आफू लमजुङमा नियमित प्याराग्लाइडिङ र ¥याफ्टिङ सञ्चालन गर्न लागि परेको बताए। उनले भने, ‘महोत्सवको बेला मात्र प्याराग्लाइडिङ र ¥याफ्टिङ हुने गरेको छ। अब यसलाई व्यावसायिक बनाएर अघि बढ्ने योजना बनाएका छौं।’