राहत सामग्री बेच्छन् राउटे

राहत सामग्री बेच्छन् राउटे

सुर्खेत : उत्थानका लागि विभिन्न निकायबाट प्रदान गरिएको राहत सामग्री राउटेले दुरुपयोग गर्ने गरेको पाइएको छ। सरकारले राहतबापत दिएको चामलबाहेक सबै वस्तु पुरुष राउटेहरूले मदिराका लागि स्थानीयलाई बेच्ने गरेको पाइएको छ। सुर्खेत लेकबेंशी नगरपालिका–१ थोत्रीखोलामा छाप्रा बनाएर बसिरहेका राउटेलाई प्रदेश सरकारले राहत वितरण गरेको थियो। पुरानै लुगामा रमाउने राउटेलाई सामाजिकीकरणको नाममा प्रदेश सरकारले चिल्ला कोट दिएको थियो।

कोट वितरण कार्यक्रम गरी मन्त्रालयका कर्मचारी फर्किए। सञ्चारमाध्यमभरि राउटेलाई आधुनिक समाजमा घुलमिल गराउने उद्देश्यले पोसाक वितरण गरिएको भनी मन्त्री तथा कर्मचारीले आआफ्नो कोणबाट अन्तरर्वार्ता पनि दिए। तर, जंगलका फिरन्ते राउटेलाई के दिँदा उनीहरूले सदुपयोग गर्छन् भन्ने मन्त्रालयका कर्मचारीले नबुझ्दा राउटेका लागि कोट रक्सी खाने माध्यम बनेको छ। पाएको चारदिनभित्रै कोट बेचेर राउटेहरूले रक्सी खान थालेका थिए। ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने राउटेलाई आधुनिक बनाउने नाउँमा सरकारी तथा गैरसरकारी संस्थाहरूले उनीहरूमाथि निकै लगानी गरिसकेको छ।

सामाजिक सञ्जालमा समेत भाइरल भएको उक्त कोटबाला तस्बिरमाथि धेरैले प्रतिक्रिया जनाएका छन्। कतिपयले त राउटेको संस्कारमाथि सरकारी निकायबाटै हमला भएको पनि टिप्पणी गरेका छन्। मन्त्रालयबाट कोटलगायत न्यानो कपडा वितरण गर्न आठ लाख रुपैयाँ खर्च गरेको छ। प्रदेश सरकारले वितरण गरेका ती कपडा राउटेले स्थानीयलाई बेचेका हुन्। राउटेहरूले आफूहरूले पाएका अधिकांश राहत सामग्री बिक्री गरेका छन्। बस्तीमा पुग्ने जोकोहीसँग पनि फोटो खिचाउन एक सय रुपैयाँ माग्ने र त्यसैले मदिरा किनेर खाने गरेको पाइएको छ।

केही समयअघि नेपाल प्रहरी श्रीमती संघले कपडा र खाद्यान्न दिएको थियो। तर, राउटेले त्यो पनि बेचेर र रक्सी खाएका लेकबेंसी नगरप्रमुख गगनसिंह सुनारले बताए। उनले भने, ‘पटक–पटक राउटे बस्तीमा धेरै राहत गयो। तर, उनीहरूले सबै सामान बेचिसके।’ राहत सामान दुरुपयोग नगर्न बारम्बार सम्झाए पनि राउटेहरूले अवज्ञा गरेका उनी बताउँछन्। राउटे बस्तीमा केहीको पनि अभाव नरहेको पनि उनले दाबी गरे। नगरपालिकाले स्थानीयवासीलाई राउटेले दिएका सामान्न नकिन्न पनि अनुरोध गर्दै आएको छ। चामलबाहेकका बस्तु बेचेर रक्सी खाएको नगर कार्यपालिका सदस्य धनसरा सुनारले बताइन्।

‘सबैले बिक्री गरेका भने छैनन्, मैले सोध्दा केहीले बिक्री गरेको पाइएको छ’ उनले भनिन्, ‘म आफैं खरिददार बनेर पनि गए, ब्ल्यांकेट र कोट बेच्छौ भनी सोध्दा हो भने। अनि यसो नगर्नू भनी सम्झाएर फर्किएँ।’ स्थानीय ठाउँमा बिक्री गरे थाहा पाइहाल्ने भन्दै राउटेहरूले भेरीपारि गाउँमा पुगेर बेच्ने गरेको पाइएको छ।

सरकारले दिएको सोलार प्यानलसमेत उनीहरूले बिगारिसकेका छन्। राति उज्यालो भए बुद्धि बिग्रने भन्दै राउटेहरूले सोलार तोडफोड गरेका कार्यपालिका सदस्य सुनारले बताइन्। अपवादमा केहीले बिक्री गरे पनि हल्ला चलेजस्तो सबैले नगरेको समाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुुर विकले बताए। राउटेलाई आधुनिकिकरणमा ल्याउन नचाहनेहरूले सानो विषयलाई पनि ठूलो बनाइरहेको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.