विदेशी सामान होइन, प्रविधि भित्र्याऔं : बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी सामान नभई प्रविधि भित्र्याउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहीबार सुरु भएको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले प्रविधि भित्र्याउँदा स्वदेशमै आवश्यक वस्तु तथा सामान उत्पादन गर्नसकिने स्पष्ट पारेका हुन्।
सामान आयात गर्दा स्वदेशी पैसा विदेशिने भन्दै उनले प्रविधि भित्र्याउँदा पैसा स्वदेशमै रहने जिकिर गरे।
‘विदेशबाट सामान ल्याएर व्यापार गर्न सजिलो छ तर देशको केही रहँदैन’, उनले भने, ‘तर प्रविधि भित्र्यायो भने सामान यहीं उत्पादन गर्न सकिन्छ। उल्टै देशलाई फाइदा पनि हुन्छ।’
अध्यक्ष बिजुक्छेले दक्ष प्राविधिक नहुँदा भएका सामान बिग्रेर थन्किने गरेको उल्लेख गरे।
‘सामान धेरै आएका छन् तर त्यसको मर्मत गर्ने दक्ष प्राविधिकहरु छैनन्’, उनले भने, ‘त्यसैले व्यवसायी संघले सामान मर्मत गर्नेसम्बन्धी तालिम पनि दिनुपर्छ।’
उनले भक्तपुर नगरपालिकासँग समन्वय र सहकार्य गरी सल्लाघारीस्थित ९९ रोपनीमा के गर्ने हो काम गर्न सुझावसमेत दिए।
उक्त एक्स्पो सल्लाघारीस्थित ९९ रोपनीमा आयोजना गरिएको हो। एक्स्पो उद्घाटन समारोहमा बोल्ने उद्योगी व्यवसायीहरुले भक्तपुरमा सुविधासम्पन्न र व्यवस्थित प्रदर्शनीस्थल नहुँदा मेला तथा प्रदर्शनी गर्न नसकिएको गुनासो गरेका थिए।
त्यसैले सल्लाघारीको ९९ रोपनीमै व्यवस्थित प्रदर्शनीस्थल बनाउन उनीहरुले माग गरेका थिए।
व्यवसायीहरुको उक्त मागलाई उद्धृत गर्दै अध्यक्ष बिजुक्छेले सरकारको मुख नताकी भक्तपुर नगरपालिकासँग समन्वय र सहकार्य गरी आफै प्रदर्शनी स्थल निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिएका हुन्।
‘सरकारबाट केही हुँदैन। उसको मुख ताक्नुमात्रै हुन्छ’, उनले भने, ‘नगरपालिकासँग समन्वय र सहकार्य गर्नुहोस्। के गर्ने रु कसो गर्ने रु छलफल गर्नुहोस्। आवश्यक परे सहयोग गरौंला।’
त्यस्तै भक्तपुर क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पनि प्रदर्शनीस्थल निर्माणको लागि नगरपालिकासँग कुरा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे।
प्रदर्शनी सधैं भइनरहने भएकाले बहुउद्देश्यीय भवन बनाएर उद्योगी व्यवसायीहरुको आवश्यकता पूर्ति गर्न सकिने उनको भनाइ थियो।
सांसद सुवालले सल्लाघारीको ९९ रोपनी जग्गा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि भक्तपुर नगरपालिकाले सरकार र नेपाल ट्रस्टसँग माग गर्दा पनि पाउन नसकिएको जानकारी दिए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र मोबाइल फोन इम्पोर्टरस् एसोसियसनका अध्यक्ष दीपक मल्होत्राले विद्युतीय सामग्री तथा मोबाइल फोनको लागि काठमाडौं पुग्ने यहाँका उपभोक्तालाई भक्तपुरमै रोक्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
काठमाडौं पुग्ने उपभोक्तालाई भक्तपुरमै आकर्षित गर्न सकिए भक्तपुर इलेक्ट्रोनिक्स हब बन्ने निश्चित भएको उनीहरुको भनाइ थियो।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष पुण्यराम खाताखो, उपाध्यक्ष एवं मेला संयोजक माधवप्रसाद प्रजापति, महासचिव रुकेश रञ्जितलगायतले भक्तपुरलाई इलेक्ट्रोनिक्स हब बनाउने उद्देश्यले संघले प्रत्येक चार वर्षमा इलेक्ट्रोनिक्स एक्स्पो गर्दै आएको बताए।
भक्तपुरमा व्यवस्थित प्रदर्शनीस्थल रहे वर्सेनि एक्स्पो गर्न संघ तथा व्यवसायीहरु तयार रहेको उनीहरुले सुनाए।
५५ प्रतिशतसम्म छुट
बिहीबारदेखि पाँचदिनसम्म चल्ने एक्स्पो अवधिभर विद्युतीय सामग्रीमा १५ देखि ५५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ। संघका अध्यक्ष खाताखोले एक्स्पोमा एकसय ७० वटा स्टल व्यवस्था गरिएको जानकारी दिए।
जसमा एकसय वटा विद्युतीय सामग्रीका मात्रै स्टल छन्। जहाँ विभिन्न ब्राण्डका मोबाइल, एलईडी टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, कुकिङ रेञ्ज, कम्प्युटर, ल्यापटप, माइक्रो ओभनलगायत तीनसय थरीका विद्युतीय सामग्री प्रदर्शनी तथा बिक्रीको लागि राखिएका छन्।
बाँकी ७० वटामा नूनदेखि सुनसम्मका स्टल छन्। ती स्टलमा भक्तपुरको मौलिक हस्तकला, काष्ठकला, धातुकलाका उत्पादन एवं सामग्री, खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका उत्पादन तथा वस्तुको प्रदर्शन एवं बिक्री व्यवस्था गरिएको छ।
त्यस्तै अटोमोबाइल र फर्निचरका सामग्रीसमेतको प्रदर्शनी र बिक्री स्टल रहेको छ। एक्स्पोमा विद्युतीय सामग्री प्रयोग गर्ने विधि सिकाउने कक्षसमेत व्यवस्था गरिएको प्रचारप्रसार संयोजक रुकेश रञ्जितले जानकारी दिए।
एक्स्पो अवधिभर खानाको स्टलको व्यवस्थासँगै मनोरञ्जनको लागि डीजे, भक्तपुरको मौलिक एवं परम्परागत सांस्कृतिक तथा आधुनिक गीत र नृत्य प्रस्तुत गरिने भएको छ।