मर्स्याङ्दीको दुवैतर्फ सडक
काठमाडौं : मर्स्याङ्दी नदीको दुवै किनारामा पक्की सडक निर्माण हुने भएको छ। सरकारले पोखरा–मुग्लिन सडकखण्ड चार लेनमा विस्तार गर्ने योजना अनुरूप मर्स्याङ्दीका दुवै किनारामा सडक निर्माण गर्न लागेको हो। मुग्लिनदेखि आबुखैरेनीसम्म ६.७ किलोमिटर सडक हुनेछ।
सञ्चालनमा रहेको मुग्लिन–आबुखैरनी सडकखण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् गृह छ। जलविद्युत् गृह सडक किनारामै भएकाले यस क्षेत्रमा चार लेनमा सडक विस्तार गर्न नसकिने भएकाले वैकल्पिक रूपमा मर्स्याङ्दीको दुवै किनारामा सडक बनाउन खोजिएको सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय एडीबीका उपआयोजना निर्देशक सुरेश पौडेलले बताए।
आयोजनाले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा मर्स्याङ्दीको दुवैतर्फ सडक निर्माण गर्नुपर्ने देखिएको छ। एमएमएम ग्रुप कोरियाले प्रतिवदेन तयार पारेको हो। प्रतिवेदनमा सडक विस्तारका तीन विकल्प दिइएको छ। सञ्चालनमा रहेको बाटो, त्रिशूली नदीमा पुल निर्माण गरेर मर्स्याङ्दीको दुवै किनारमा सडक त्यसमा एउटा विकल्प मर्स्याङ्दी जलविद्युत्भन्दा अघि नै पुरानो बाटोमा जोडनेछ। अर्को विकल्पमा किनारा हुँदै आबुखैरनी पुग्नेछ। ‘यीमध्ये मर्स्याङ्दीको किनारा हुँदै आबुखैरनी पुग्ने विकल्प उत्कृष्ट देखिएको छ। यो विकल्प रोज्नु भनेको नयाँ सडक बनाउनु हो’, पौडेलले भने, ‘रेखांकनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्छ। यसका लागि मन्त्रालयमा प्रतिवेदन पठाइएको छ।’
सरकारले पोखरा–मुग्लिन सडकखण्ड चार लेनमा विस्तार गर्ने योजना अनुरूप मर्स्याङ्दीका दुवै किनारामा सडक निर्माण गर्न लागेको हो।
आयोजनाले आबुखैरनी–पोखरा खण्डको भने विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार भइसकेको आयोजनाका इन्जिनियर उज्ज्वल श्रेष्ठले बताए। सडकलाई चारलेनमा विस्तार गर्ने गरी डीपीआर निर्माण भइसकेको छ। भौगोलिक र जनघनत्वलाई आधार मानेर सडकको चौडाई निर्धारण गरिएको छ। उनका अनुसार घना वस्ती भएको ठाउँमा सडकको चौडाई ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ सात मिटरको हुनेछ। एक लेन साढे तीन मिटर हुनेछ। मुख्य सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन हुनेछ। आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्जर हुनेछ।
सडकको दुवैतर्फ ६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक÷एक मिटरको फुटपाथ हुनेछ। सर्भिस लेन र मुख्य सडक छुट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ। खुला ठाउँ र पहाडी वस्ती भएको स्थानमा सडक १८ मिटर लामो हुनेछ। यहाँ सर्भिस लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ।
यो सडक एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको हो। ऋण सम्झौतापत्रमा हस्ताक्षर नभए पनि एडीबीको सैद्धान्तिक सहमतिका आधारमा आयोजनाले निर्माणको पूर्वतयारी थालेको हो। सन् २०१९ अक्टोबरसम्म सडक निर्माणका लागि आवश्यक ऋण सम्झौता हुने आयोजनाका अधिकारी बताउँछन्।
पर्यटकीय दृष्टिकोणले यो सडकखण्डलाई महत्त्वका साथ हेरिएको छ। नारायणघट–मुग्लिन खण्डको ३६ किलोमिटर सडक चारलेनमा विस्तार भइसकेको छ। पथलैया–वीरगन्ज सडकखण्ड विस्तारको क्रममा छ। यस्तै नारायणघट–पथलैया सडकखण्ड विस्तार गर्न पूर्वसम्भाव्यता अध्ययन र डीपीआर प्रस्ताव माग गरिएको छ। योसँगै मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज र पोखरा चार लेनको सडकबाट जोडिनेछन्। सडक मार्गबाट पोखरा आउने भारतीय पर्यटकले यसबाट लाभ लिन सक्ने जानकार बताउँछन्। २०२१ सम्म पोखरामा क्षेत्रीय विमानस्थल पनि निर्माण हुँदै छ।