घरमै नागरिकता र शिक्षाको व्यवस्था

घरमै नागरिकता र शिक्षाको व्यवस्था

बैतडी : दशरथचन्द नगरपालिका वडा नं २ देहिमाडौंका पूर्णबहादुर बोहराकी छोरीलाई घरमै पुगेर जिल्ला अधिकारीले नेपाली नागरिकता दिएका छन्। बोहराकी जेठी छोरी हिरा बोहरालाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्न प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे घरमै पुगेका थिए। 

‘केही दिनअघि हिराका बुवा हाम्रो कार्यालयमा पुग्नुभएको थियो। आफ्ना तीन सन्तान अपांगता भएका बारेमा जानकारी गराउनुभयो’, जिल्ला अधिकारी गैरेले भने, ‘नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर पुगेकी छोरी हिँडडुल गर्न सक्ने अवस्थामा नरहेको थाहा पाएपछि मैले घरमै पुगेर नागरिकता वितरण गरेको हुँ।’

जन्मेको दुई वर्षदेखि हिँडडुल गर्न नसक्ने हीरा नेपाली नागरिकता पाएपछि निकै खुसी भएकी छिन्। उनले भनिन् ‘मेरो समस्या बुँझेर सिडिओ साप घरमै आएर नागरिकता दिनुभयो। सरकार रहेछ भन्ने अनुभूती गरेँ। मैले गर्न सक्ने काममा सरकारले आगामी दिनमा पनि सहयोग गर्ला भन्ने आशा पलाएको छ।’

छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको हीराका बुवा पूर्ण बोहराले बताए। उनले भने ‘मेरा चार सन्तानमध्ये दुई छोरी र एक छोरामा अपांगताको समस्या देखिएको छ। नागरिकता पाउने उमेर पुगेकी छोरीले घरमै नागरिकता पाउँदा मलाई पनि खुसी लाग्यो। घरमै प्रमुख जिल्ला अधिकारी आउँदा सहयोगको पनि आश मिलेको छ।’

बोहराका दुई छोरी हिरा र करिश्मा तथा छोरा जयन्तको जन्मेको दुईतीन वर्षपछि हात खुट्टा नचल्ने समस्या देखिएको छ। उमेर बढ्दै जाँदा त्यो समस्या झन् बल्झिएको उनले बताए। उनले भने ‘तीन जना अपांगता भएका सन्तानलाई हुर्काउन निकै समस्या भएको छ। यसमा सबैको सहयोगको आशा पनि गरेको छु।’

बोहराका छोरीलाई पढाउन घरमै शिक्षक 

हातखुट्टा चल्न नसकेपछि विद्यालय जान नसकेका पूर्ण बोहराकी छोरी हिरा र करिश्माका लागि दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ बैतडी र निङ्गलाशैनी माविको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको छ। 

दैनिक दुई घण्टा पढाउनका लागि शिक्षकको व्यवस्था गरिएको वडा नम्बर २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए। उनले भने ‘हामीले करिश्मालाई कक्षा १० र हिरालाई कक्षा ५ को पाठ्यक्रम घरमै गएर पढाउनका लागि शिक्षकको व्यवस्था गरेका छौं।’

करिश्मालाई पिठ्युमै बोकेर स्कुल पुर्याउन नसक्दा कक्षा ९ मा विद्यालय छोडेकी थिइन् भने हिराले कक्षा ४ मै विद्यालय छोडेकी थिइन्। आफूहरुले घरमै पढ्न पाउँदा खुसी लागेको हिराले बताइन्। 
उनले भनिन् ‘विद्यालय पढ्ने ठूलो धोको थियो। जे होस् आज घरमै शिक्षा आर्जन गर्न पाउँदा हामी पनि जीवनमा केही गर्न सक्छौँ भन्ने आँट आएको छ।’

कक्षा ९ मै विद्यालय छोड्न बाध्य करिश्मा पनि घरमै शिक्षकले पढाउन थालेपछि खुसी भएकी छिन्। उनले भनिन्, ‘मैले अपांगता भएकै कारण विद्यालय पढ्न पाएकी थिइन्। जसले जहाँबाट समन्वय गरेर हामीलाई शिक्षकको व्यवस्था गरेको छ। हामीलाई ठूलो गुन लगाउनुभएको छ। यसले हामीलाई धेरै खुसी लागेको छ।’

हरेक नागरिकले शिक्षा ग्रहण गर्न पाउने संविधानमै व्यवस्था भएकाले अपांगता भएकै कारण शिक्षाबाट कोही पनि वञ्चित नहोऊन् भनेर वडा कार्यालय र विद्यालयसँग समन्वय गरी शिक्षकको व्यवस्था गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। उनले भने, ‘यो कामलाई निरन्तरता दिनका लागि सबैको सहयोग चाहिन्छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.