अमेरिकी चासो इन्डो प्यासिफिकमै

अमेरिकी चासो इन्डो प्यासिफिकमै

काठमाडौं : अमेरिकी इन्डो–प्यासिफिक कमान्ड प्रमुख एड्मिरल फिलिप एस डेभिड्सनले पछिल्लो समय इन्डो प्यासिफिक क्षेत्रको शान्ति र सुरक्षा अमेरिकाको चासोको विषय बनेको बताएका छन्। शुक्रबार स्वदेश फर्कनुअघि रक्षा मन्त्रालयमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग उनले शिष्टाचार भेटमा उनले यस्तो धारणा राखे।

अमेरिकी सेनाको १० वटा कमान्डमध्ये यस क्षेत्रका ३६ मुलुक हेर्ने कमान्ड नै ‘इन्डो प्यासिफिक’ हो। यसअन्तर्गत चार लाखभन्दा बढी सेना छन्। यसलाई पहिले प्यासिफिक कमान्ड भनिन्थ्यो। २०१८ को मे महिनामा यसको नाम परिवर्तन गरियो। हिन्द–महासागरलाई हेरेर ‘इन्डो–प्यासिफिक’ नामाकरण गरिएको हो। विश्वको आधा जनसंख्या यही ३६ मुलुकमा बस्छन्। शान्ति र सुरक्षासम्बन्धी मामिला पनि यही कमान्डले हेर्ने गर्छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणलगत्तै डेभिड्सन नेपाल आएका हुन्।

ज्ञवालीको भ्रमणमा यस क्षेत्रको सुरक्षा चासो र उत्तर कोरियाको विषयमा समेत छलफल गरेको अमेरिकाले तत्काल निकै व्यस्त मानिने प्यासिफिक कमान्डका प्रमुख नेपाल पठाएको छ। इन्डो–प्यासिफिक नाम राखिएपछि कमान्ड सम्हालेका उनी पहिलो अधिकारी हुन्। आफ्नै चार्टर उडानमा बिहीबार नेपाल आएलगत्तै उनले भारत भ्रमणमा निस्कन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय भेटवार्ता गरेका थिए। भेटमा नेपाल र अमेरिकाबीचको सहकार्यको साथै सेनालाई गर्न सक्ने सहयोगको बारेमा छलफल भएको छ। उनले प्रधानसेनापति थापालाई अमेरिका भ्रमणको निम्ता समेत गरे।

शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरे। नेपाली राजनीतिक र कूटनीतिक वृत्तले ज्ञवालीको अमेरिका भ्रमण र जापानी विदेशमन्त्री तारो कोनोको नेपाल भ्रमणसँगै डेभिड्सनको आगमनलाई पनि जोडेर हेरेको छ।

पछिल्लो समय अमेरिकाले उपलब्ध गराउने चार वटा स्काइ ट्रक अझै नआएको विषयमा लगातार छलफल भइरहेको छ। शुक्रबार प्रधानमन्त्रीसँगको भेटमा यसबारे पनि छलफल भएको छ र अमेरिकाले सन् २००२ मै स्काइ ट्रक दिन्छु भनेको थियो। पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा अमेरिकाले सन् २०१८ को अन्त्यसम्म उक्त ट्रक उपलब्ध गराउने बताएको थियो।

नेपालले अमेरिकासँग शान्ति सेनाका लागि पाँच हजार थान एम १६ राइफल खरिद गर्न लागेको छ। यसमा भइरहेको ढिलाइबारे पनि छलफल भएको थियो। नेपालको खरिद प्रक्रिया यसमा बाधक देखिएको थियो। सबै पक्षबीच छलफल भएर यसको प्रक्रिया अघि बढेको छ।

यस क्षेत्रको सम्बन्धलाई कूटनीतिक तवरबाट मात्र नभएर अमेरिकाले सुरक्षा रणनीतिको रुपमा समेत व्याख्या गरिरहेको छ। पछिल्लो समय अमेरिकाले यस क्षेत्रको शान्ति र विकासको लागि भारत, जापान र अस्ट्रेलियासँग सहकार्य बढाएको छ। यही सहकार्यमा नेपाललाई सामेल हुन र भूमिका खेल्न अमेरिकाले आग्रह गर्दै आएको छ। ‘नेपाली सेनाको क्षमता विकास, वीरेन्द्र शान्ति तालिम केन्द्रको स्तरोन्नति, आधुनिक विपद् व्यवस्थापन सामग्रीको सहयोगका क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षाप्रति सकारात्मक रहेको पाएँ,’ रक्षा प्रवक्ता बाबुराम गौतमले अन्नपूर्णसँग भने, ‘इन्डो प्यासिफिक क्षेत्रको शान्तिमा अमेरिकाको चासो रहेको पनि प्यासिफिक कमान्ड प्रमुखले बताए।’

चार्टर विमानमा बिहीबार नेपाल आएका अमेरिकी एड्मिरलले भेटवार्ताहरुमा इन्डो प्यासिफिक क्षेत्रको शान्ति सुरक्षामा जोड दिएका छन्।

नेपाली र अमेरिकी सेनाबीच हुँदै आएको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउन पर्नेमा जोड रहेको धारणा अमेरिकी तर्फबाट आएको प्रवक्ताले बताए। नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा योगदान पुर्‍याउँदा यसको छवि उच्च रहेको बताएको पनि रक्षा मन्त्रालयले जनाएको छ। ‘इन्डो प्यासिफिक क्षेत्रको शान्ति अमेरिकाको चासो हो। यसमा सबैको सहकार्य र साथ खोज्नेकाम हुन्छ,’ डेभिड्सनलाई उद्धृत गर्दै अधिकारीले बताए।

पछिल्लो समय कम्युनिष्ट नेतृत्वको सरकार र उसको गतिविधिमा चासो राख्दै अमेरिकाले नेपालमा आफ्नो सक्रियता बढाएको बुझाइ सरकारको छ। ‘अमेरिकाले किन यो प्रकारको चासो राखेको छ भन्ने विषय हामीले बुझेका छाँै,’ एक मन्त्रीले भने, ‘अमेरिका नेपालको पुरानो मित्र मुलुक हो। प्यासिफिक कमान्ड सुरु हुँदा ताका (सन १९४७) नै नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको हो।’ नेपाललाई आगामी दिनमा सहयोग बढाउने विषयमा अमेरिकाले छलफल गरिरहेको पनि उनले बताए। यसअघि द्विपक्षीय रुपमा भएका वार्ताअनुसार सहयोगलाई नेपाल सरकारसँग समन्वय गरी छिट्टै कार्यान्वयन तहमा लैजाने धारणा उनले राखेको रक्षामन्त्रालयले जनाएको छ।

रक्षामन्त्री पोखरेलले अमेरिका नेपालले कूटनीतिक सम्बन्ध राखेको दोस्रो मुलुक भएको उल्लेख गर्दै दुईपक्षीय मैत्रीपूर्ण सहकार्यको आवश्यकता रहेको स्पष्ट पारे। ‘नेपालको सबैसँग आआफ्नै प्रकारको सम्बन्ध छ। त्यसैले यो वा त्योभन्दा पनि दुईपक्षीय सम्बन्धमा नै बढी जोड रहनेछ,’ पोखरेललाई उद्धृत गर्दे एक अधिकारीले भने, ‘अमेरिकी चासोप्रति हाम्रो पनि ध्यान जानेछ। तर, अन्य सम्बन्धलाई पनि नेपालले उत्तिकै महत्व दिनेछ।’

नेपालको विकास र नेपाली सेनालाई अमेरिकी सरकारले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै दुई सेनाहरुबीच संयुक्त अभ्यास र तालिम आदानप्रदान भइरहेको विषय प्रशंसनीय रहेको पोखरेलले बताए। नेपालले संविधान बनाएर राजनीतिक समस्या समाधान गरेको, कानूनी र प्रशासनिक सुधार गर्दै देशलाई विकासको अग्रगतिमा लैजान चाहेको भन्दै द्विपक्षीय सम्बन्ध सम्मानका साथ अझ सुदृढ हुँदै जाने पनि बताए। नेपाली सेनाले विश्व शान्तिमा नै योगदान गरेको हुनाले यस क्षेत्रको शान्तिमा नेपाल सरकार सधैं अग्रसर रहने उनको भनाइ थिया। छलफलमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.