ईश्वर–हिटलर सवालजवाफ
के ईश्वरसँगको सवालजवाफमा हिटलरको प्रस्तुति उनको व्यक्तित्व र चिन्तनअनुरूपको थियो? हिटलरलाई शास्त्रार्थमा उभ्याउनुअघि विश्वेश्वरले उनको मनस्थितिलाई कति राम्रोसँग पर्गेलेका थिए?
मन पर्ने किताबको सन्दर्भ आउँदा मेरो अन्तरहृदयमा बन्ने सूचीमा एउटा किताब अक्सर दोहोरिइरहन्छ— विश्वेश्वरप्रसाद कोइरालाको यात्रा–उपन्यास ‘हिटलर र यहुदी’। मन पर्ने किताब अंशचाहिँ एउटै छ— ‘हिटलर र यहुदी’मा रहेको ईश्वर–हिटलर सवालजवाफ (२०६६, पृ. १०९–११५)। ‘हिटलर र यहुदी’ र यसभित्रको ईश्वर–हिटलर सवालजवाफ दुवैलाई मैले ढिलो गरी मन पराएको हुँ। आखिरमा मानिसको अभिरुचि र उसको पाठकीय क्षमता समयसँगै परिस्कार हुँदै जाने न रहेछ !
पठन र पुनर्पठन
मैले किताब पढ्न थालेको क्याम्पस पढ्न सुरु गरेदेखि हो। त्यसअघि पनि भेटेसम्म पढ्थेँ। तर, किताब हत्तपत्ती नपाउने परिवेशमा हुर्किएकाले सानैदेखि किताबसँग बाक्लो संगत गर्ने मौका जुरेन। एसएलसी उत्तीर्ण गरेर क्याम्पस जान थालेपछि त्यहाँ मैले त्यति बेलासम्म नदेखेको चिज देखेँ— लाइब्रेरी। लाइब्रेरीमा कोर्सका किताबको चाङभित्र कोर्स बाहिरका एकाध किताब पनि थिए। तीमध्ये बढीचाहिँ विश्वेश्वरप्रसाद कोइराला र प्रकाश कोविदका उपन्यास थिए। अन्य केही नेपाली लेखकका उपन्यास, कथा, कविता, खण्डकाव्य, महाकाव्य, समालोचना पनि थिए।
कोर्स बाहिरका ती किताब मैले जम्मै पढेँ। त्यही मेसोमा विश्वेश्वर र कोविदका किताब एकएक गरी सिध्याएँ। पछि थाहा भयो— विश्वेश्वरका ‘फिक्सन’मध्ये ‘श्वेत भैरवी’लाई छोडेर बाँकी जम्मै पढिएछ। कोविदका पनि ‘नोयो’, ‘देउता’लगायत अधिकांश उपन्यास छिचोलिएछ।
त्यति बेला मलाई कोविदले बढ्ता आकर्षित गरे। विश्वेश्वरका ‘नरेन्द्र दाइ’ र ‘सुम्निमा’ले पनि अभिरुचि जगाए। तर, तिनमा कोविदको लेखाइमा पाइने चुम्बकीय तत्त्वको सर्वथा अभाव थियो। अहिले बुझ्दा त्यस बखत मलाई घटनाको वर्णनप्रति भन्दा घटनाको विवरणप्रति बढ्ता अभिरुचि रहेछ। कोविदका उपन्यासमा घटना फटाफट अघि बढ्छन्। विश्वेश्वरका किताबमा चाहिँ केही पृष्ठ छिचोलिसक्दा पनि घटना दुई पाइला मात्र अघि बढेको हुन्छ। फेरि विश्वेश्वरको लेखाइ क्लिष्ट पनि हुन्छ, भाषामा पकड भएकाले मात्र परख गर्न सक्ने।
उमेरसँगै मेरो पाठकीय क्षमता परिस्कृत हुँदै जाँदा कोविद मेरो स्मृतिबाट ओझेल पर्दै गए। विश्वेश्वरले भने झन्झन् कुत्कुत्याउन थाले। त्यसपछि मैले ‘श्वेतभैरवी’ पनि खोजेर पढेँ। विश्वेश्वरको ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’, उनका भाषण र अन्तर्वार्ता पाएसम्म पढेँ। लालित्यमय परिस्कृत भाषामा अभिव्यक्त भएकाले ‘आज पनि पिसाब पहेँलो आयो’ जस्ता नितान्त निजी गन्थनले भरिएका उनका डायरी पनि रुचाएँ। डायरीमा उनले नयाँ किताबलाई ‘सुम्सुम्याएर, ओल्टाइपल्टाई गरेर, सुँघेर मात्रै प्रवेश गर्नुपर्ने षोड्सी’सँग तुलना गरेको, जेलको झ्यालबाट देखिने भँगेरा–भँगेरीको दैनन्दिन्यको अभिलेख राखेको पढेपछि जीवनजगत्लाई हेर्ने उनको मिहिन चक्षुप्रति अझ आकर्षित भएँ।
त्यसपछि मैले उनका उपन्यासहरूको पुनर्पठन सुरु गरेँ। अनि मलाई बोध भयो— मैले उनको विराट् लेखकीय क्षमताको झल्को पाएकै रहेनछु ! उनको बौद्धिकता र लेखकीय क्षमता ‘हिटलर र यहुदी’मा बढ्ता मुखरित भएको रहेछ ! मैले त्यसअघि रुचाएको ‘सुम्निमा’मा बालक सोमदत्तको जीवनजगत्सम्बन्धी बुझाइ एकजना सुपठित प्रौण व्यक्तिको जस्तो रहेछ। त्यसैले त्यो कृत्रिम रहेछ। ‘नरेन्द्र दाइ’मा स्त्री–पुरुष मनोविज्ञानको रौंचिरा विश्लेषण गर्ने प्रयत्न गरिएको भए पनि बौद्धिकताको कसीमा चाहिँ कमजोर नै रहेछ।
ईश्वर र हिटलरबीचको सवालजवाफ पढ्दा मैले हिंसा कुन बेला वैधानिक अथवा अवैधानिक हुन्छ; मानव मात्रको एकै खालको कृत्य कति बेला नैतिक र अनैतिक बन्छ भन्ने विषयमा कैयौंपटक चिन्तन गर्ने मौका पाएको छु।
त्यसअघि मैले ‘हिटलर र यहुदी’ पढ्दा रेवा र इल्जेसम्बन्धी प्रसंगलाई बढ्ता ध्यान दिएको रहेछु। तर, विचारको घनले हानेर पाठकको माथिंगल रिंग्यााउने क्षमता किताबमा वर्णित ईश्वर र हिटलरबीचको सवालजवाफमा पो रहेछ ! त्यसयताका दिनमा मैले ईश्वर–हिटलर संवाद कैयौंचोटि पढेको छु। हरेकपटक पढ्दा विश्वेश्वरको चेतनाको विस्तिर्णताबाट विस्मयपूर्ण आह्लाद महसुस गरेको छु। यसै कारण साझा प्रकाशनले छापेको विश्वेश्वरको चित्र लेमिनेसन गरेर घरको बैठक कोठामा झुण्ड्याएको छु।
‘नन फिक्सन’को सीमा समाप्त भएपछि ‘फिक्सन’ले यात्रा सुरु गर्छ भन्ने मलाई ‘हिटलर र यहुदी’को पुनर्पठन गर्दा बोध भयो। ‘हिटलर र यहुदी’ शीर्षकमा विश्वेश्वरले ‘नन फिक्सन’ लेखेका भए त्यहाँ उनको बौद्धिकता छरपस्ट हुने थियो। हिटलरप्रतिको रोष र यहुदी जातिप्रतिको सद्भाव प्रखर रूपमा मुखरित हुने थियो। तर, युरोपमा एकजना खोरण्डोसँग नाजी ‘ग्यास च्याम्बर’ घुमेपछि लेखकको सपनामा आएर ईश्वर र हिटलरले गरेको सवालजवाफको अभिलेख राख्न सम्भव हुने थिएन।
संवादको सार
स्वर्गको ढोकाबाहिर उभिएको हिटलर र ढोकापछाडि रहेका ईश्वरबीचको सवालजवाफ पढ्दै गर्दा मैले धेरै कुराको झल्को एकसाथ पाउने गरेको छु। यसबाट गीतामा वर्णित स्थितप्रज्ञ र निस्पृय भावसहितको कर्मबारे अत्यन्तै सरल भाषामा बुझेको छु। हिन्दू धर्मको आधारप्रति हिटलरको अभिरुचि रहेको झल्को पाएको छु। हिटलरको व्यक्तित्व, चिन्तन र जीवनशैलीको पुनर्मूल्यांकन गरेको छु।
सवालजवाफमा ईश्वरले हिटलरलाई अपराधी साबित गर्न खोज्छन्। हिटलरले चाहिँ पूर्ण आत्मविश्वासका साथ ईश्वरका एकएक प्रश्नको जवाफ दिँदै मत्र्यलोकमा आफूले गरेका कर्महरू धर्मसम्मत भएकाले आफूले स्वर्ग जान पाउनुपर्ने जिकिर गर्छन्। गीताको तुलामा राखेर जोख्दा कृष्णले वर्णन गरेको कर्मयोगीका यावत् गुण आफूमा विद्यमान रहेको बताउँछ। यहाँनेर भगवत गीताप्रति विश्वेश्वरको दृष्टिकोणबारे उल्लेख गर्नु वाञ्छनीय हुन्छ। कुरुक्षेत्रमा द्विविधाग्रस्त उभिएका अर्जुनलाई हतियार उठाउन कृष्णले दिएको उपदेशलाई विश्वेश्वर अनुपयुक्त ठान्छन्। कृष्णको उपदेशप्रतिको आफ्नो असहमतिलाई उनले लघुउपन्यास ‘मोदिआइन’मा व्यक्त गरेका छन्। ईश्वर र हिटलरबीचको सवालजवाफमा पनि उनले कृष्ण र हिटलरलाई एउटै डालोमा राखेर घुमाउरो पारामा एकसाथ दुवैको आलोचना गरेका छन्।
सवालजवाफको सार यस्तो छ—
स्वर्गको ढोकाअगाडि उभिएको हिटलरको ‘बडी ल्याङ्वेज’मा आत्मविश्वास झल्किएको हुन्छ। मैले ६० लाख निरपराध यहुदीहरूको कत्लेआम गरेँ भन्ने कुराको क्लेस अनुहारमा रत्तिभर पोतिएको हुँदैन। ढोकाअगाडि उभिनुपर्दा किञ्चित अपमानित महसुस गर्दै रोदनमि िश्रत आदेशात्मक स्वरमा ईश्वरसँग हिटलर भन्छन्, ‘धेरै भो, म यहाँ उभिएको।’ त्यसपछि सुरु हुन्छ, उनीहरूको सवालजवाफ।
ढोकाभित्रबाट आवाज आउँछ, ‘को? हिटलर, चरम निष्ठुरताको अपरिमेय दृष्टान्त? ’
हिटलर भन्छन्, ‘म निष्ठुरतालाई घृणा गर्छु। म आफ्नो साथ कवचजस्तो सदासर्वदा कृष्णको गीतालाई लिएर हिँड्छु... यसले मानव मनको संशय र द्विविधालाई निर्मूल पार्छ। संशय घातक तत्त्व हो...।’
हिटलरले आफ्नो अमानवीय निष्ठुरताको प्रतिवाद गर्न नसकेको दैवी वाणी ढोकाभित्रबाट आएपछि हिटलर भन्छन्, ‘निष्ठुरता एउटा भावावेग हो, उत्तेजनात्मक क्रिया, जसबाट म मुक्त भन्ठान्छु आफूलाई... ईश्वर भनेको उत्तेजनारहित मानव हो... मानव त्यस्तो ईश्वर हो जो आशक्तियुक्त छ...।’ हिटलर थप भन्छन्, ‘कसैले प्रेमले या घृणाले या निष्ठुरताले नै कसैलाई मार्छ भने त्यो नरहत्या हो, पाप... तर त्यही हत्या आशक्तिरहित छ भने... अवैयक्तिक छ भने... त्यो धर्मसम्मत, पुण्यवान् कार्य हुन जान्छ।’ गीतामा कृष्णले अर्जुनलाई भनेका कुरा हिटलरको मुखबाट दोहोर्याउँछन्, विश्वेश्वर।
ढोकाभित्रबाट फेरि आवाज आउँछ, ‘के... शक्ति र अझ बढी शक्तिको अनुसन्धान आशक्ति होइन? ’
‘जहिले पनि एउटा अन्तिम परमावस्था हुन्छ, आशक्तिको अन्तिम अवशेष, वासनाको अविभाज्य परमाणु... सन्तहरूमा मोक्षको काममा त्यही वाञ्छाको आशक्ति भने पनि अभिभाज्य अवशिष्टांश हो। तर, यस्तो क्षीणतम आशक्तिले उनीहरूको जीवेन्द्रियको निष्काम ध्याउन्नको गुणलाई न्यूनीकरण गर्दैन... शक्ति, ध्यान रहोस् महाप्रभु, निजको आशक्तिको लिप्सा इन्द्रिय भोगको पूर्तिका लागि होइन। क्षेत्रीय राजनीतिको प्राणी हो, उसको कर्तव्य हुन्छ अधिक से अधिक शक्ति सञ्चय गर्नु, अधिक से अधिक राजनीतिक कर्तव्य पूरा गर्नका खातिर...।’
ढोकाभित्रबाट फेरि आवाज आउँछ, ‘राजनीतिज्ञको कर्तव्य के हो? ’
‘राजनीतिज्ञहरूको कर्तव्य शक्ति सञ्चयको, र शक्ति आफ्नो कर्तव्य सम्पादनका लागि संग्रह गर्नुपर्ने तत्त्व हो... शक्ति र कर्तव्य दुवै, आफ्नो–आफ्नो सत्तामा प्रतिज्ञा पनि हुन् र निष्पत्ति पनि।’
‘त्यो भए तिम्रो नीति–नैतिकता, यसको कुनै माप पनि छ विश्वसनीय? ’, ईश्वरबाट अर्को प्रश्न सोधिन्छ।
‘आफूलाई उत्तरोत्तर शुद्धीकरणद्वारा शोधित पार्दै लैजान, आशक्ति र लिप्साको मयल क्रमशः पखाल्दै, तबसम्म जबसम्म आफू बल्दो विशुद्ध इस्पातको एउटा त्यस्तो तीक्ष्णतम् धार होइँदैन, त्यस्तो धार जसले शक्ति प्राप्तिमा आइपर्ने सारा बिघ्न–बाधा... संहार गर्छ। त्योभन्दा अर्को नैतिकता अरू केही छैन। अर्थात्, महाप्रभु, सर्वसामथ्र्यवान् हतियार बन्नु।’
‘हतियार केका लागि? माध्यम कुन लक्ष्य प्राप्तिका लागि ए जर्मनजातीय मानव? ’
‘जो राजनीतिज्ञ शक्तिको व्यापारी हुन्छ, त्यो क्षत्रीय हो। उसले आफूलाई शक्ति सञ्चयका खातिर, सर्वशक्तिवान् हतियार बनाउनुपर्छ... कर्तव्य आफ्नो जन्मगत पेसाका प्रति बफादार हुनु। नैतिकता, आफ्नो पेसाले निर्धारण गरेको कर्तव्यलाई सम्पादन गर्ने हेतुले आफूलाई सर्वशक्तिसम्पन्न साधन बनाउनु।’
‘के हिटलर, तिमीमा अन्तस्करण तत्त्व छैन? ’
‘छैन। त्यो त यहुदी चलाकीपूर्ण आविष्कार हो।’
एकछिन थामिएर हिटलर फेरि बोल्न थाल्छन्, ‘मलाई कुनै मानवपुत्रले लाञ्छनाले औंल्याउन सक्दैन... आफ्ना लागि मैले केही गरिनँ। धन, सम्मान, इन्द्रिय–सुख, पत्नी–प्रेम सबैलाई तुच्छ पारँे। म निस्पृत सन्न्यासी थिएँ जीवनभरि। म केवल एक लक्ष्यले जर्मन राष्ट्रको उत्थानका लागि एकनिष्ठासँग संलग्न रहेँ। एक पैसा बैंकमा जोरिनँ, घर बनाइनँ, प्राणजस्ती प्यारी एभाको प्रणय निमन्त्रणा अस्वीकार गरिरहेँ, अन्तिम क्षणसम्म, त्यस अन्तिम क्षणसम्म जब मुर्नभन्दा केही घडीअघि शत्रुको पल्टन मेरो बंकरसम्म पुगिसकेको थियो... प्रमाण अरू के चाहियो मेरो देव लोकाधिकारको (अर्थात् स्वर्ग जान पाउने मेरो अधिकारको)? ’
‘तिम्रा शब्दहरू दम्भले ओतप्रोत छन्’, ढोकाभित्रबाट आवाज आउँछ।
‘गुण आरोपित गर्नु घमण्ड होइन, आत्मश्लाघा पनि होइन... अज्ञान दम्भको र घमण्डको जनक हो... मैले आत्मज्ञानको अभ्यास गरेको छु... जसलाई तिमी दम्भ या अहंकार भन्छौ, त्यो त मेरो व्यवहारलाई ज्ञानको स्वाधिकार हो, जस्तो कि शक्तिलाई स्वाधिकार निरंकुशताको हुन्छ।’
‘तिमी निरंकुश शासक थियौं, के यसलाई अस्वीकार गर्न सक्छौ? ’
‘महाप्रभु, निरंकुशतालाई... न्यायानुमोदनको आवश्यकता पर्दैन... निरंकुशता चक्रवर्ती शक्तिको सन्तान भएकाले तर्क या न्यायको प्रयोजनीयताबाट स्वच्छन्द छ, अवाधित छ।’
‘हिटलर, मानवको चरित्रलाई सुहाउँदो एउटा गुण विनय पनि हो। थाहा छ? ’, अर्को प्रश्न सोधिन्छ।
‘नम्रता (विनय)... केवल संशयको एउटा सदाचार गुण हो... हामीलाई यसको आवश्यकता पर्दैन... अन्तमा सुन कान खोलेर, आज म स्पष्ट कुरा भन्छु... तिम्रो जीवन अन्तहीन छ, र त्यसैले तिम्रो शक्ति र तिम्रो निरंकुशता पनि त्यस्तै अन्तहीन छ... जुन घडीसम्म मेरो उत्पीडन–निरंकुशता कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ। कविहरूले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरूले मलाई संगमरमरमा कुँदे, रंगमा चित्रित भएँ चित्रकारद्वारा। नारीहरूले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरूले मेरो पाउमा शिर निहुराए। विद्वान्, प्राध्यापकहरूले मलाई विश्वविद्यालयहरूमा पढाए... म ईश्वर थिएँ। हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर... मलाई पृथ्वीलोकमा मानिसहरू यदि घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन। हे महाप्रभु, राजराजेश्वर, यदि तिम्रो पनि निरंकुशताको तख्ता उल्ट्यो भने र तिमी मर्यौ भने याद राख, जुन घृणा म आज मानिसबाट पाउँदै छु, तिम्रो स्तुतिगान पनि त्यही तुल्य हुनेछ— घृणा, आक्रोश, द्वेष, प्रतिहिंसामय श्राप, फोहोर थुक... यी सबको वर्षा तिम्राउपर हुनेछ, असंख्य पीडाका सिकार भएका मानिसहरू–लोग्नेमानिस, स्वास्नीमानिस, बूढा, तरुणा, बालबालिकाहरूबाट।’
ईश्वर र हिटलरबीचको सवालजवाफ पढ्दा मैले हिंसा कुन बेला वैधानिक अथवा अवैधानिक हुन्छ; मानव मात्रको एकै खालको कृत्य कति बेला नैतिक र अनैतिक बन्छ भन्ने विषयमा कैयौंपटक चिन्तन गर्ने मौका पाएको छु। म्याक्स वेबरले ‘राज्य वैधानिक हिंसामाथि एकाधिकार जमाएको निकाय हो’ र चाल्र्स टिलीले ‘राज्यका सूक्ष्म रूप हुन्, टोलेगुण्डा’ भनेको सन्दर्भ बुझ्न÷बुझाउन मैले ईश्वर–हिटलर सवालजवाफको सहारा लिने गरेको छु। आफूले सही ठहर्याएका कृत्य र मान्यतालाई दर्शनको कसीमा घोट्दा यसले आफ्नो ‘पोजिसन’लाई इस्पातसरह धारिलो र कठोर कसरी बनाउँदो रहेछ भन्ने बुझाउन पनि मलाई यही सवाल–जवाफले मद्दत गरेको छ।
वस्तुनिष्ठ कि अतिरञ्जित?
के ईश्वरसँगको सवालजवाफमा हिटलरको प्रस्तुति उनको व्यक्तित्व र चिन्तनअनुरूपको थियो? हिटलरलाई शास्त्रार्थमा उभ्याउनुअघि विश्वेश्वरले उनको मनस्थितिलाई कति राम्रोसँग पर्गेलेका थिए? सवालजवाफ पढेपछि मेरो मनमा पनि यस्ता तर्कना उठ्ने गर्छन्। यस्तो कौतूहल मेट्न मैले हिटलरको वैचारिक जग बुझाउने सन्दर्भसामग्री उपलब्ध भएसम्म पढ्ने गरेको छु। यस विषयमा मैले जति पढेको छु, त्यतिका आधारमा भन्नुपर्दा सवालजवाफमा हिटलरको प्रस्तुतिलाई विश्वेश्वरले यथार्थको धेरै नजिक लगेका छन्।
हिटलर मूलतः नश्लवादी तानाशाह हुन्। नश्लसम्बन्धी उनको धारणा हिन्दू धर्मग्रन्थमा उल्लेख भएका धारणासँग केही हदसम्म मिल्दाजुल्दा छन्। हिटलर जर्मनलाई आर्य जातिका मानिस भन्थे। संसारकै योग्यतम् जाति भनेको आर्य हो, सारा संसारलाई विज्ञान, संस्कार र सभ्यता सिकाउने उन्नत जाति भएको नाताले संसारमाथि राज गर्नु उसको प्राधिकार हो भन्ने उनको ठहर थियो। युरोपतिर उत्पत्ति भएको आर्य जातिले बसाइँसराइ र विजय अभियानमार्फत विभिन्न ठाउँका मानिसलाई सभ्य बनाए, तर प्रकारान्तरमा उनीहरूले त्यस ठाउँका हीन मानिससँग रक्तसम्बन्ध कायम गरेर आफ्नो नश्लीय शुद्धता समाप्त गरे भन्ने उनको विश्वास थियो
(एडोल्फ हिटलर, सन् १९४१, माइन काम्फ, पृ. ४०५–०६)। अब नोर्डिक मूलका आर्य (जर्मन) हरूको रगत मात्र शुद्ध छ भन्ने उनी ठान्थे।
हिन्दूहरूको प्राचीनतम् शास्त्रहरूमा दिइएको आर्यको परिभाषा हिटलरले दिएको परिभाषासँग मिल्दोजुल्दो छ। ऋग्वेदमा श्रेष्ठहरूलाई आर्य र दुष्टहरूलाई दस्यु भनिएको छ (१।५१।८)। तर, आर्यसम्बन्धी वेद र हिटलरको बुझाइमा भिन्नता पनि ठूलै छ। वेदले आर्य शब्दलाई श्रेष्ठ व्यक्तिका रूपमा बुझ्छ, हिटलरले जस्तै नश्ल÷जातिका रूपमा होइन। आर्य शब्दको वैयक्तिक अर्थलाई जाति÷नश्लसँग सम्बन्धित अर्थले विस्थापन गर्ने काम दक्षिण एसियामा युरोपियनहरूको आवागमनसँगै सुरु भएको हो।
ईश्वर–हिटलर सवालजवाफमा विश्वेश्वरले हिटलरलाई कृष्णभक्तका रूपमा उभ्याएका छन्। तर, हिटलर कृष्ण अथवा गीताका अनुयायी थिएनन्। न उनी धार्मिक थिए। उनले जर्मनीका बहुसंख्यक मानिसले मान्ने इसाई धर्मलाई राजनीतिक उद्देश्य पूर्तिका लागि उपयोग गरे। प्रागइतिहासमा आधारित आर्य नश्लसम्बन्धी उनको चिन्तनलाई फगत दुई हजार वर्षअघि अस्तित्वमा आएको इसाई धर्मले थेग्ने अवस्था थिएन। त्यसैले इसाई धर्मप्रति उनी सद्भाव राख्दैन थिए। इसाई धर्मभित्र जर्मन जातिले आफ्नो स्वत्व खोज्न सक्छ भन्ने विश्वास उनलाई रत्तिभर थिएन। बरु उनले संस्कृत भाषामा प्रचलित शब्द ‘आर्य’लाई टिपे। हिन्दू सभ्यतामा भिजेको स्वस्तिक चिह्नलाई नाजीवादको पहिचान बनाए। तर, हिन्दू धर्मप्रति भावुक भएर उनले आर्य शब्द र स्वस्तिक चिह्न रोजेका थिएनन्। इतिहास र दर्शनशास्त्रमा दख्खल राख्ने उनी आर्यहरूको इतिहास केलाउने क्रममा भारतीय उपमहाद्वीपमा आर्यहरू आइपुग्नुभन्दा अगाडिको अवधिसम्म पुगेका थिए। त्यति बेला युरोपमा पेगन धर्मको बोलाबोल थियो। त्यही धर्मको छत्रछायामा विकसित संस्कारबाट जर्मनसहित संसारभरका आर्यहरूको सभ्यता निस्पत्ति भएको हो भन्ने हिटलर ठान्थे। त्यसैले पेगनहरूमाझ प्रचलित स्वस्तिक चिह्न उनले रोजेका थिए। पेगन आस्थामा हिन्दू र युरोपियनहरूको (इन्डो–युरोपियन) जरो गाडिएको देख्नेहरूले यस विषयमा थप खोजबिन गरिरहेका छन्। पेगन धर्मावलम्बी बेलायती विद्वान् निगेल पेनिकले युरोपमा मानिने पेगन धर्मलाई हिन्दु धर्मको युरोप शाखाका रूपमा स्वीकार गर्न भारतीय हिन्दुहरूलाई आग्रह गरेको प्रसंग उल्लेख गर्नु यो सन्दर्भमा रोचक हुन्छ
(कोनराड एल्स्ट, सन् २००१, डिकोलोनाइजिङ द हिन्दु माइन्ड, पृ. २८३)। पेगन धर्मलाई इसाई धर्मले युरोपमा र इस्लामले अरबमा सोत्तर बनाएपछि यो धर्म क्षीण भयो। अहिले यो युरोपका नगण्य बौद्धिकहरूमाझ जीवित छ।
हिटलरको मृत्युपछि उनका अनुयायीहरूले नाजीवादलाई हिन्दु धर्मसँग नजिक्याउने प्रयत्न जारी राखे। यस्तो प्रयत्न गर्नेमध्येमा फ्रेन्च महिला मेक्सिमियानी जुलिया पोर्तास बढी चर्चित छिन्। हिटलर जीवित छँदै उनी हिटलर र नाजीवादको अन्धभक्त थिइन्। उनले एकजना भारतीय ब्राह्मणसँग बिहे गरिन् र आफ्नो नाम सावित्रीदेवी राखिन्। छुवाछूतयुक्त वर्णव्यवस्थालाई माध्यम बनाएर भारतका आर्यहरूले आफ्नो रगत र वीर्यको शुद्धता जोगाइरहेका छन् भन्ने ठहर गरेर उनले ‘आर्य’ ब्राह्मणलाई पति वरण गरेकी थिइन्। हिटलरको नाममा ‘कल्ट’ चलाउन प्रयत्नरत नवनाजीहरूले सावित्री देवीले हिटलरलाई कलियुग नाश गरेर सत्ययुग ल्याउने विष्णुको कल्की अवतार भनेकोप्रति अभिरुचि देखाइरहेका छन् (निकोलस गुडरिक–क्लर्क, सन् १९९८, हिटलर्स प्रिस्टेस ः सावित्री देवी, द हिन्दू–आर्यन मिथ एन्ड नियो–नाजिजम्, पृ. १०९–१२५)।
संस्कृत भाषा र हिन्दू चालचलनमा आर्य जातिको प्राचीनतम् ज्ञान सुरक्षित छ भन्नेबारे हिटलर बेखबरचाहिँ थिएनन्। तर, हिन्दुत्वसँग उनको साइनोबारे भारतका हिन्दुवादीले बढाइचढाइ गर्ने गरेका छन्। नारायणन नाम गरेका पात्रलाई माध्यम बनाएर विश्वेश्वरले ‘हिटलर र यहुदी’मा पनि यसबारे संकेत गरेका छन्। भारतका हिन्दुवादी नेता विनायक दामोदर सावरकरले आर्य जातिको उत्थानका लागि संघर्ष गर्ने र स्वस्तिक चिह्नलाई प्रयोगमा ल्याउने हिटलरप्रति पटकपटक श्रद्धा दर्शाएका थिए, जुन भारतका हिन्दूवादी अभियन्ताहरूले अद्यापि गरिरहेका छन्।
वैचारिक स्पष्टता
दर्शनशास्त्रका लागि जर्मनी युरोपभरि कहलिएको छ, कला–साहित्यका लागि फ्रान्स र अर्थशास्त्रका लागि बेलायत कहलिएजस्तै। जर्मनीको राष्ट्रिय जीवनको सघन बौद्धिक विरासत हिटलरमा पनि आरोपित भएको थियो। यसले उनलाई ‘थर्ड राइख’ स्थापना गर्ने आफ्नो ध्येयप्रति स्पष्ट बनाएको थियो। उनको वैचारिक स्पष्टताको संकेत विश्वेश्वरले कल्पिएको ईश्वरसँगको हिटलरको संवादमा पनि भेटिन्छ।
इतिहासमा जर्मनीको स्वाभिमान उकास्ने श्रेय पाएका महान् फ्रेडरिक, बिस्मार्क र पल फन हिन्डेनबर्गलाई हिटलर आदर्श मान्थे। उनको दार्शनिक जगले पनि जर्मन दार्शनिकहरूकै टेको पाएको थियो। अदृश्य शक्तिले पठाउने नायकहरूले जर्मनीको पुनरोदय गराउनेछन् भनी हेगलले अघि सारेको अवधारणाबाट हिटलर प्रभावित थिए। हेगल राज्यलाई सर्वोपरि ठान्थे। कुनै पनि जातिमा निहित राजनीतिक गुणहरू युद्धमार्फत हासिल भएका हुन्छन्, तसर्थ मानव मात्रले गर्नसक्ने सबैभन्दा उन्नत कर्म भनेको युद्ध घोषणा हो भन्ने र हेगलले जस्तै राज्यलाई सर्वोपरि मान्ने अर्का जर्मन दार्शनिक÷इतिहासकार हेनरिक फन त्राइस्केबाट पनि हिटलर प्रभावित थिए (विलियम एल. सिरर, सन् १९९९, द राइज एन्ड फल अफ थर्ड राइख, पृ. ८८–८९)।
हिटलर बढ्तै अनुरक्त भएका जर्मन दार्शनिकमा फ्रेडरिक नित्से पर्छन्। नित्सेको मूर्तिसँग हिटलरले कैयौंपटक तस्बिर खिचाएर उनीप्रति आदर दर्शाएका थिए। आफ्नो विश्वविख्यात किताब ‘दस स्पेक जराथ्रुस्ट’मार्फत नित्सेले अघि सारेको युद्धको सर्वोपरिता, ईश्वरप्रतिको अलगाव र ‘सुपरह्युमन’प्रतिको विश्वासलाई हिटलरले आत्मसात् गरेका थिए। नित्सेले परिकल्पना गरेको ‘सुपरह्युमन’ आफू हुँ भन्ने उनको ठम्याइ थियो। ‘थुप्रै मानिस ढिलो मर्छन्, कम मानिस चाँडो मर्छन्, तर महत्त्वपूर्ण कुराचाहिँ सही समयमा मर्नु अर्थात् इच्छामृत्यु (आत्महत्या) हासिल गर्नु हो’ भनी नित्सेले लेखेको कुरालाई (फ्रेडरिक नित्से, सन् २०१२, दस स्पेक जराथ्रुस्ट, पृ. ६४–६६) स्वीकार गर्दै हिटलरले युद्धको अन्तिम घडीमा शत्रुसेनासमक्ष आत्मसमर्पण गर्ने विकल्प लत्याएर इच्छामृत्यु ग्रहण गरेका थिए।
इसाई धर्मका आलोचक नित्सेले इसाई धर्ममाथि हमला गर्न हिन्दु र बौद्ध धर्मको सहारा लिएका थिए। अर्थर सोपेनआवर, पल ड्वेइस्चेनजस्ता जर्मनका विख्यात भारतविद्मार्फत नित्सेले हिन्दू र बौद्ध शास्त्रसम्बन्धी जानकारी लिएका थिए
(डेभिड स्मिथ, सन् २००४, नित्सेज् हिन्दुज्म, नित्सेज् इन्डिया ः एनोदर लुक, जर्नल अफ नित्से स्टिडिज २८, पृ. ३७–५६)। नित्सेलाई आदर्श मान्ने पढैया स्वभावका हिटलर आर्य विरासतप्रति गौरव गर्ने आर्यहरूको एउटा भँगालो भारतमा छ भन्नेबारे बेखर हुने कुरै थिएन। यहाँ स्मरण गर्नुपर्ने सन्दर्भ के छ भने हिटलरले भन्दा पहिले आर्य भएकामा गौरव गर्ने अभियान दयानन्द सरस्वतीले भारतमा सञ्चालन गरेको थियो, ‘आर्य समाज’का नाममा।
विश्वेश्वरले हिटलरलाई आफ्नो विचार र गन्तव्यप्रति स्पष्ट भएको अटल पात्रका रूपमा किताबमा चित्रण गरेका छन्। हिटलर भन्ने गर्थे, ‘तिमी विजयी भयौ भने तिमीले जवाफदेही बन्नै पर्दैन, पराजित भयौ भने जवाफ दिनका लागि तिमी रहनु हुँदैन।’ यही भनाइबाट प्रेरित भएर विश्वेश्वरले ईश्वरसँगको सवालजवाफमा ‘निरंकुशतालाई न्यायानुमोदनको आवश्यकता पर्दैन’ भनी हिटलरको मुखबाट बकाएका छन्।
जीवनको अन्त्यतिर हिटलरले लेखाएको इच्छापत्र र उनले गरेका कृत्यमा पनि उनको वैचारिक स्पष्टता गोचर हुन्छ। बर्लिन घेराबन्दीमा परेपछि र घेरा साँघुरो हुँदै गएपछि सहयोगीहरूले हिटलरलाई बर्लिनबाहिर गएर भावी रणनीति तय गर्न सुझाएका थिए। तर, हिटलरले स्वीकार गरेनन्। अन्तिम इच्छापत्रमा उनले लेखेका छन्, ‘यो देशको राजधानीसमेत रहेको ठाउँलाई मैले अलपत्र छोड्न सकिनँ... म आफ्नो नियति यही सहरमा बसिरहेका दसौं लाख नागरिकसँग बाँड्न चाहन्छु।’ उद्वेलित भीडको ध्यान मोड्ने वस्तुको खोजीमा रहेका शत्रुहरूले आफूलाई जथाभावी उपयोग नगुरून् भनेर उनले दुश्मनहरूको हात नपर्ने निश्चय गरे (विलियम एल. सिरर, सन् १९९९, द राइज एन्ड फल अफ थर्ड राइख, पृ. १००९ )। बर्लिनमै रहेर इच्छामृत्युको विकल्प रोजे। युद्धपछि आफ्ना कृत्यलाई ‘न्यायोचित’ ठहर्याउने झ्याउलोमा फँस्न उनले मञ्जुर गरेनन्। जीवनभर लिँदै आएको अडानकै निरन्तरता थियो, उनको त्यो अन्तिम निर्णय।
हिटलरको राजनीतिक दर्शन नश्लवादमा आधारित आततायी प्रकृतिको थियो। अल्पसंख्यक र इतर नश्ल÷जातिप्रति यो हदैसम्म असहिष्णु थियो। उनी स्वयंचाहिँ आफ्नो बुझाइ सही छ भन्नेमा विश्वस्त थिए। यस्तो बुझाइमा आधारित आफ्ना सबै निर्णयप्रति उनी अन्तिम समयसम्मै अविचलित रहे। हिटलरको त्यस्तो मनस्थिति ईश्वरसँगको उनको सवालजवाफमा विश्वेश्वरले कुशलतापूर्वक उतारेका छन्।
अन्त्यमा
गन्थनले भरिएका परम्परागत ढाँचाका ‘फिक्सन’ पढ्न त्यति रुचि नभएका मजस्ता पाठकका लागि अहिलेको नेपाली पुस्तक बजार ऐँठनसरह छ। बजारमा ‘फिक्सन’ र ‘मेमोयर’ भटाभट आइरहेका छन्। तर, अधिकांश ‘फिक्सन’ सस्ता र ‘मेमोयर’ विवरणात्मक छन्, जुन पढ्दा केही घण्टा आयु सिध्दिएको महसुस हुन्छ। प्रकाशन उद्योग र समग्र वाङ्मयमा तिनको महत्त्व नभएको चाहिँ होइन। नेपाली भाषामा नयाँनयाँ ‘फिक्सन’ र ‘मेमोयर’को आनन्द लिइरहने मौका पुस्तक बजारले नदिनु मेरा लागि चाहिँ राम्रै भएको छ। यसबाट ‘हिटलर र यहुदी’ पल्टाउने र ईश्वर–हिटलर सवालजवाफ पुनर्पठन गरिरहने अवसर जो मिलेको छ !